कार्यालय खारेज गर्ने गण्डकी सरकारको निर्णय कर्मचारीले नस्वीकार्ने
सारांश
- गण्डकी प्रदेश सरकारले गरेको कार्यालय खारेजी र दरबन्दी कटौतीको निर्णयप्रति कर्मचारी सङ्घ सङ्गठनले आपत्ति जनाएका छन्।
- कर्मचारी ट्रेड युनियनहरूले सरकारको निर्णय सङ्घीयताको मर्म विपरीत भएको र वृत्ति विकासमा प्रहार गरेको आरोप लगाएका छन्।
- कर्मचारीहरूले निर्णय नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् र १४ बुँदे मागपत्र पेश गरेका छन्।
पोखरा । गण्डकी प्रदेश सरकारले गरेको कार्यालय खारेजी तथा दरबन्दी कटौतीको निर्णयप्रति यहाँका कर्मचारी सङ्घ सङ्गठनहरूले आपत्ति जनाएका छन् ।
उनीहरुले सरकारको निर्णय सङ्घीयताको मर्म विपरीत र कर्मचारीको वृत्ति विकासमा प्रहार गरेको आरोप लगाएका छन् । निर्णय नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी कर्मचारीहरूको छ । कर्मचारी ट्रेड युनियनहरूले १४ बुँदे संयुक्त मागपत्र प्रमुख सचिव खगेन्द्र सुवेदीलाई बुझाएका छन् ।
साउन २६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्रदेशका सबै निर्देशनालय खारेज भएका छन् । ३२ वटा जिल्ला स्थित कार्यालयहरू मर्ज गरेर १७ वटामा झारिएको छ ।
यसबाट १ सय ८५ कर्मचारीको दरबन्दी कटौती भएको छ । सरकारले लिएको निर्णयबाट वार्षिक ५० करोड भन्दा बढी प्रशासनिक खर्च घट्ने प्रक्षेपण गरेको छ । तर कर्मचारी युनियनहरूले यो तथ्याङ्क सत्य नभएको दाबी गरेका छन् ।
‘कटौती भनिएका अधिकांश दरबन्दीहरू पहिलेदेखि नै रिक्त थिए, कार्यरत कर्मचारीलाई कटौती गरेर त्यति ठुलो रकम बचत हुँदैन । यो केवल तथ्याङ्कमा खेल्ने प्रयास हो,’ ज्ञापनपत्रमा भनिएको छ ।
कर्मचारीहरूले सरकारको निर्णयबाट वार्षिक १७ करोड २ लाख मात्रै बचत हुने तथ्याङ्क निकालेका छन् । उनीहरूका अनुसार, चाडपर्व र वार्षिक तलबमा १२ करोड २ लाख र कार्यालयको प्रशासनिक खर्च ५ करोड हुने तथ्याङ्क छ । सरकारले ठोस अध्ययन, वैज्ञानिक आधार र सरोकारवालासँगको छलफलविना नै हचुवाको भरमा निर्णय गरेको आरोप कर्मचारीहरूको छ ।
‘यो निर्णय एउटा सतही र कोठामा बसेर तयार पारिएको प्रतिवेदनमा आधारित छ, जसले सङ्घीयताको मर्मअनुसार जनताको घरदैलोमा सेवा पुर्याउनुको सट्टा झन् टाढा लैजाँदै छ,’ कर्मचारी सङ्गठन गण्डकीका अध्यक्ष डोलराज पराजुलीले भने ।
सङ्गठनहरूले सरकारको निर्णयले प्रदेशमा समायोजन भएर आएका कर्मचारीहरूको मनोबल गिराएको र उनीहरूको भविष्य अनिश्चित बनाएको बताएका छन् ।
‘एकातिर प्रदेश लोक सेवा आयोगबाट नयाँ विज्ञापन रोकिएको छैन, अर्कोतिर वर्षौँदेखि कार्यरत कर्मचारीको दरबन्दी नै खारेज गरिँदै छ,’ अघि भने, ‘यसले गम्भीर वृत्ति विकासको सङ्कट निम्त्याएको छ ।’ उनीहरुले कार्यालय खारेजी र दरबन्दी कटौतीको निर्णय तत्काल फिर्ता लिनुपर्ने, सबै पक्षको सहभागितामा नयाँ र वैज्ञानिक सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरिनुपर्ने र कर्मचारीको वृत्ति विकासको सुनिश्चितता को माग गरेका छन् ।
यस्तै सङ्घबाट काजमा आएका कर्मचारीलाई फिर्ता गरी प्रदेशकै कर्मचारीलाई नेतृत्वदायी भूमिका दिनुपर्ने कर्मचारीको माग छ । सरकारले आफूहरूको सुझाव सुनवाइ नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी कर्मचारीहरूले दिएका छन् ।
‘आगामी दिनमा कर्मचारीहरूसँग सम्बन्धित नीति कानुन निर्णय पूर्व कार्यहरूमा प्रदेशका कर्मचारीहरू र ट्रेड युनियनहरूसँग सल्लाह तथा सुझाव लिइयोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारको नीति कार्यान्वयनमा लाग्नु पर्ने आम कर्मचारीहरूलाई आफ्नो हक अधिकारका लागि आन्दोलनका थप कार्यक्रमहरू गर्न बाध्य नबनाउन समेत अनुरोध गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण