आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य प्रभु साह पछिल्ला दिनमा संसदभित्र र बाहिर दुवै ठाउँमा कठोर अभिव्यक्ति दिइरहन्छन् । प्रधानमन्त्रीदेखि सत्तारुढ दलसम्मका नीतिगत निर्णयप्रति उनले निरन्तर प्रहार गर्दै आएका छन् । आलोचनालाई व्यक्तिगत प्रतिशोध ठान्नेहरूलाई उनी स्पष्ट जबाफ दिन्छन्– मसँग सत्ता छैन तर सत्य छु ।
साहका अनुसार यो व्यवस्थाले साना दल र स्वतन्त्र सांसदलाई निषेध र विभेदमात्र गरेको छैन, लोकतन्त्रकै मूल्य–मान्यतालाई ध्वस्त बनाएको छ । त्यसैले यो सिन्डिकेट प्रणाली र अपवित्र सत्ता गठबन्धन फालेर नयाँ जनआन्दोलनमार्फत मुलुकलाई सही बाटोमा ल्याउनुपर्ने उनको अडान छ । संसदभित्र प्रश्न उठाउँदा पनि जबाफ पाउने वातावरण नभएको गुनासो गर्दै उनले आगामी दिनमा आफ्नो लडाइँ देश बदल्ने लक्ष्यसँगै ‘तेस्रो जनआन्दोलन’ तर्फ केन्द्रित हुने बताएका छन् । उनै साहसँग रातोपाटीका रोहित दाहालले समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश–
पहिलो कुरा, यो संसदीय कार्यकालमा हामीजस्ता साना दल र स्वतन्त्र सांसदहरूलाई निषेध गरिएको छ । सबै समितिमा बस्न पाएका छैनौँ, हरेक समय बोल्न पनि पाउँदैनौँ । ठुला पार्टीका सांसदहरू घण्टौँ बोल्छन्, तर हामीलाई तीन मिनेटभन्दा बढी समय दिइएको छैन । संवैधानिक समितिहरूसम्म हामीलाई प्रवेश दिइएको छैन । कार्यव्यवस्था समिति, जसले संसद सञ्चालन गर्छ, त्यहाँसम्म पनि हामीलाई निषेध गरिएको छ । यो ठुला पार्टीहरूको सिन्डिकेट र विभेदको परिणाम हो । त्यसैले भ्रम पाल्न आवश्यक छैन ।
दोस्रो, देश अहिले बर्बादीको दिशामा गइरहेको छ । न लोकतन्त्रको स्थिति राम्रो छ, न अर्थतन्त्र मजबुत छ, न राष्ट्रियता सुरक्षित छ । यस्तो अवस्थामा जनप्रतिनिधिले मौन बस्न मिल्दैन । सरकारको गलत कार्यप्रणाली देख्दा आलोचना गर्नु सांसदको दायित्व हो । रातो भने रातो भन्नुपर्छ, हरियो भन्न मिल्दैन । त्यसैले प्रधानमन्त्रीको आलोचना गर्नु मेरो व्यक्तिगत पूर्वाग्रह होइन, राष्ट्र र जनताको चिन्ताले प्रेरित अभिव्यक्ति हो ।
म कहिल्यै तर्कहीन वा पूर्वाग्रही हुन्न । म नेगेटिभ सोच्ने मानिस पनि होइन ।
त्यो गलत बुझाइ हो । म केपी ओलीप्रति व्यक्तिगत रूपमा नेगेटिभ छैन । उहाँसँग भएको प्रतिस्पर्धा राजनीतिशास्त्रमा सामान्य कुरा हो । इमानदार राजनीतिज्ञले पूर्वाग्रह बोक्न हुँदैन ।
संसदीय मर्यादा भङ्ग गर्ने त म होइन, प्रधानमन्त्री आफैँ हुन् । सांसदले उठाएको प्रश्न जनताको प्रश्न हो, त्यसको जबाफ दिनु प्रधानमन्त्रीको कर्तव्य हो । मैले प्रश्न सोध्दा उहाँले जबाफ दिन्नँ भन्नुभयो । त्यसले संसद र जनतालाई अपमानित गर्यो । त्यसैले अबदेखि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने औचित्य नै सकिएको छ ।
त्यो भ्रममात्र हो । मैले प्रचण्डलाई सोध्दा पनि प्रश्न गम्भीर र कठोर नै थियो । मेरो शैली एउटै छ– जनताको प्रश्न सोध्ने । मलाई संसदीय मूल्य–मान्यता थाहा छैन भन्ने आरोप लगाउनेहरू अहंकारी हुन् । म २०६३ सालदेखि संसदमा सक्रिय छु, समितिको अध्यक्षदेखि कार्यव्यवस्था समितिसम्म नेतृत्व गरिसकेको छु ।
लोकतन्त्र भनेको जनादेशअनुसार शासन हो । अहिलेको कांग्रेस–एमाले गठबन्धन जनादेशविपरीत बनेको हो । यसलाई लोकतान्त्रिक, नैतिक वा प्राकृतिक भन्न सकिँदैन । स्थायित्व भनेर गलत अभ्यासलाई जायज ठहर्याउन सकिँदैन ।
माओवादी–कांग्रेस गठबन्धन सङ्कटको घडीमा बनेको थियो, तर अहिले कांग्रेस र एमाले विपरीत विचारधाराका दलहरू व्यक्तिगत स्वार्थका लागि एक भएका हुन् । यसको नतिजा राष्ट्र कमजोर हुनु, विदेश नीति असन्तुलित हुनु, अर्थतन्त्र खस्किनु र विकासका काम ठप्प हुनु हो । ठुला ठेक्कादेखि साना पूर्वाधारसम्म प्रगति भएको देखिँदैन । बरु भ्रष्टाचार, ठगी र लुटमात्र बढेको छ ।

सरकारले निष्पक्षतापूर्वक कारबाही गरेको भए राम्रो हुन्थ्यो, तर वास्तविकतामा त आफ्नालाई जोगाउने र विपक्षीलाई मात्र टार्गेट गर्ने प्रवृत्ति छ । यसैले आलोचना गर्न बाध्य हुनुपरेको हो ।
मैले सांसदसहित नयाँ पार्टी जन्माएको छ, जुन नेपालकै पहिलो उदाहरण हो । गठबन्धनको टिकट छोडेर स्वतन्त्र लडेँ र जितेँ । अरू नेताले आफ्नो पार्टीको टिकट छोडेर जित्न सक्छन् ? जनताको बल नै ठुलो हो ।
हामी नेतासँग होइन, जनतासँग एकीकरण गर्दैछौँ । यो दलतन्त्रको विरुद्ध, जनताको अधिकारका लागि, व्यवस्थालाई बदल्नका लागि हो ।
जनता दलहरूको स्वार्थका कारण शोषित र निरीह बनेका छन् । नेपालीलाई संसारमा दोस्रो दर्जाको नागरिकजस्तै व्यवहार गरिन्छ, तर नेपालमा प्राकृतिक स्रोत–साधन पर्याप्त छन् । समस्या नेताको भ्रष्ट प्रवृत्ति र असक्षम प्रणाली हो । दलतन्त्रको विरुद्ध तेस्रो जनआन्दोलन आवश्यक छ । प्रभु साहले उदघोष गरिसकेको छ, देशमा यो नेताहरूको विरुद्ध र अहिलेको दलतन्त्रको व्यवस्था फाल्न तेस्रो जनआन्दोलन आवश्यक छ ।
सत्ता मसँग छैन तर सत्य मसँग छ । इतिहासमा सत्यले सधैँ जितेको छ । पाण्डव पाँचै जनामात्र थिए तर जिते । सत्यको पक्षमा रहेकाले अन्ततः विजयी हुन्छ । म हिरो बन्ने होइन, सत्यको बाटोमा हिँड्ने हो ।
मैले चुनावलाई मेजर बनाएको छैन । मेरो प्राथमिकता देश बदल्नु हो । यो प्रणालीले दुई तिहाइ बहुमत ल्याउने सम्भावना छैन । त्यसैले संविधान संशोधन चुनावी प्रक्रियाबाट सम्भव छैन । परिवर्तन जनआन्दोलनबाट हुन्छ ।
जनताको जागरणमा भर पर्छ । जतिसक्दो चाँडो फाल्नैपर्छ । नफाले देशको भविष्य नै हुँदैन ।
प्रतिक्रिया