‘भारत र चीन ‘प्रतिद्वन्द्वी’ नभई ‘साझेदार’ बन्नुपर्छ’
सारांश
- चीनका विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि भारत पुगेका छन्, जसले दुई देशबीचको सम्बन्ध सुधारको संकेत गर्छ।
- वाङले भारत र चीनले एकअर्कालाई 'प्रतिद्वन्द्वी' नभई 'साझेदार' को रूपमा हेर्नुपर्ने बताए, सीमा विवाद समाधानबारे पनि छलफल भयो।
- भारत-चीन सम्बन्ध सुधार भइरहँदा, अमेरिका र भारतबीचको सम्बन्धमा चिसोपन आएको देखिन्छ।
काठमाडौं । भारत र चीनबिच बिग्रिएको सम्बन्ध सुधारतर्फ लागेको संकेतस्वरूप चीनका विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका लागि सोमबार दिल्ली पुगेका छन्।
भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्दै वाङले दुवै देशले एकअर्कालाई ‘प्रतिद्वन्द्वी वा खतरा’को रूपमा नभई ‘साझेदार’को रूपमा हेर्नुपर्ने बताएका छन्। यो २०२० को लद्दाखको गलवान उपत्यकामा भएको घातक भिडन्तपछि दुवै पक्षबिच भएको दोस्रो उच्चस्तरीय भेट हो। जयशंकरले भारत–चीन सम्बन्ध कठिन अवस्थाबाट अगाडि बढ्दै गएको उल्लेख गर्दै व्यापार, धार्मिक तीर्थयात्रा, नदीसम्बन्धी तथ्याङ्क आदिबारे छलफल भएको जानकारी दिए।
वाङले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग सीमा विवाद समाधानबारे जारी वार्तामा पनि छलफल गरेका छन्। ‘हाम्रो सीमामा स्थायित्व फर्किएको छ,’ वाङले डोभालसँगको बैठकमा भने, ‘गत केही वर्षमा भोगेका कठिनाइ हाम्रो साझा हितमा थिएनन्।’
गत अक्टोबरमा हिमाली सिमानामा तनाव कम गर्न दुवै देशले गस्ती व्यवस्थाबारे सहमति गरेका थिए। त्यसयता सम्बन्ध सामान्य बनाउन पहल भइरहेको छ। चीनले यस वर्ष भारतीय तीर्थयात्रीलाई तिब्बतका धार्मिक स्थल भ्रमणको अनुमति दिएको छ भने भारतले पनि चिनियाँ पर्यटकका लागि भिसा सेवा पुनः सुरु गरेको छ।
दुवै देशबिच सीमावर्ती व्यापार खोल्नेबारे वार्ता गर्न सहमति भएको छ। यसै वर्ष भारत–चीनबिच प्रत्यक्ष हवाई उडान समेत सुरु हुने सम्भावना छ।
यीका भेटवार्ताले प्रधानमन्त्री मोदीको सात वर्षपछि हुन लागेको चीन भ्रमणको तयारी गर्ने अपेक्षा गरिएको छ। मोदी यसै महिनाको अन्त्यतिर शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्भावित रूपमा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेटवार्ता गर्ने बताइए पनि दुवै पक्षले औपचारिक पुष्टि गरेका छैनन्।
भारत–चीन नजिकिँदै गर्दा भारत–अमेरिका सम्बन्ध भने चिसिँदै गएको देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिनाको सुरुमा रुसबाट तेल र हतियार किन्ने भारतमाथि थप २५% आयात शुल्क लगाएका थिए, जसले कुल शुल्क ५०% पुर्याएको छ।
ह्वाइट हाउसका व्यापार सल्लाहकार पीटर नाभारोले फाइनान्सियल टाइम्समा लेख प्रकाशित गर्दै भारतलाई ‘रुस र चीनसँग मिल्ने’ गरेको आरोप लगाएका छन्।
जयशंकरले वाङसँगको भेटपछि आफ्नो अभिव्यक्तिमा विश्वलाई ‘न्यायपूर्ण, सन्तुलित र बहुध्रुवीय’ बनाउन भारतको चाहना रहेको बताएका छन्। ‘पुनःसंरचित बहुपक्षीय प्रणाली अहिलेको आवश्यकता हो। वैश्विक अर्थतन्त्रको स्थायित्व र प्रवर्धन अहिलेको प्रमुख चुनौती हो,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण