नेपाल सरकार र कोरिया सरकारबिच १ अर्ब २५ करोड बराबरको अनुदान सम्झौता
सारांश
- कोरियाले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरेको छ।
- यो परियोजना गण्डकी प्रदेशमा 'गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजी' को पूर्वाधार विकासका लागि हो, जसले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।
- सम्झौताअनुसार, परियोजना सन् २०३० डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले शिक्षक र विद्यार्थीको सीप विकासमा सहयोग पुर्याउनेछ।
काठमाडौँ । नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रको विकासका लागि गणतन्त्र कोरियाले करिब १ अर्ब २५ करोड रुपैयाँ (९ मिलियन अमेरिकी डलर) अनुदान सहयोग उपलब्ध गराउने भएको छ । बुधवार गण्डकी प्रदेशमा ‘गण्डकी इन्स्टिच्युट अफ टेक्नोलोजी’ को पूर्वाधार विकास गर्न उक्त अनुदान सहयोगसम्बन्धी सम्झौतामा नेपाल सरकार र कोरिया सरकारबिच हस्ताक्षर भएको हो।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबिच नेपाल सरकारको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र कोरियाली सरकारको तर्फबाट नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो परियोजना ‘गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान’ अन्तर्गत सञ्चालन हुनेछ। सम्झौताअनुसार परियोजना सन् २०३० डिसेम्बर ३१ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
परियोजनाको मुख्य लक्ष्य २१ औँ शताब्दीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग पूरा गर्न सक्ने दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नु रहेको मन्त्रालयले जनाएको छ । यसले नेपालको १६ औँ आवधिक योजना तथा प्राविधिक र व्यावसायिक शिक्षा तालिम नीतिलाई समेत सघाउनेछ । यो पहलले गण्डकी प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र (हब) का रूपमा विकास गर्ने, शिक्षक र विद्यार्थीहरूको सीप अभिवृद्धि गर्ने र उद्योगहरूसँगको साझेदारीलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै कोरियाली राजदूत पार्कले नेपालमा गर्न लागेको उक्त लगानी भवनमा मात्र नभई भविष्यको जनशक्तिमा भएको बताए । उनले भने- ‘यो परियोजना भवन र सुविधामा मात्र गरिएको लगानी होइन, यो जनता, सीप र नेपालको भविष्यको जनशक्तिमा गरिएको लगानी हो। यसबाट हामी नेपालको उच्च–गुणस्तरीय र उद्योग–सान्दर्भिक प्राविधिक शिक्षा प्रदान गर्ने क्षमतालाई बलियो बनाउन चाहन्छौँ।’
अर्थसचिव उपाध्यायले कोरियाले नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि गर्दै आएको सहयोगको प्रशंसा गरे । उनले भने- ‘यो सम्झौताले नेपालमा प्राविधिक शिक्षाको विकासप्रतिको हाम्रो प्रतिबद्धतालाई थप बलियो बनाएको छ। म विश्वस्त छु कि यसले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति तयार गरी नेपालको सामाजिक–आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।’
परियोजना कार्यान्वयनका लागि कोरियाको तर्फबाट ‘कोइका’ र नेपालको तर्फबाट गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय तथा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले जिम्मेवारी लिनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण