शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश

सभामुख हटाउन खोजे सशक्त प्रतिवाद गर्ने विपक्षी दलबिच सहमति

बुधबार, ०४ भदौ २०८२, २१ : ०५
बुधबार, ०४ भदौ २०८२

सारांश

  • कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई हटाउने सत्तारुढ दलहरूको तयारीको विपक्षी दलहरूले प्रतिवाद गर्ने सहमति गरेका छन्।
  • विपक्षी दलहरूले सभामुखलाई हटाउनुको ठोस कारण नभएको र यस कदमको सशक्त प्रतिवाद गर्ने बताएका छन्।
  • सभामुख हटाउने तयारीबारे माओवादी केन्द्रका नेताले असन्तुष्टि जनाउँदै, यस्तो कार्य बन्द कोठामा भइरहेको आरोप लगाए।

विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई बिनाकारण सत्तारुढ दलहरू एमाले र कांग्रेसले हटाउने तयारी गरेको भन्दै विपक्षी दलले सशक्त प्रतिवादको तयारी गरेका छन् । 

सभामुख विष्टलाई हटाउने विषयमा गोप्य छलफल सुरु भएको भन्दै विपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)ले एकताबद्ध भएर प्रतिवाद गर्ने सहमति गरेका हुन् ।

कोशी प्रदेशसभास्थित माओवादी संसदीय दलको कार्यालयमा बुधबार दिउँसो बसेको तीन दलका नेताहरू इन्द्रबहादुर आङ्बो, भक्तिप्रसाद सिटौला र राजेन्द्रकुमार राईबिचको बैठकले यस्तो सहमति गरेका हुन् ।
‘कोशी प्रदेशमा सत्तारुढ दलहरूले राप्रपाका सभामुखलाई हटाएर उक्त पद नेपाली कांग्रेसलाई दिने तयारी गरिरहेको बुझिएको छ,’ माओवादी दलका नेता आङ्बोले भने, ‘यस विषयमा विपक्षी दलहरूको बैठक बसेर हटाउन नदिने सहमति गरेका छौं ।’ 

सभामुख हटाउन महाभियोग लगाउनुपर्ने तर त्यसका लागि कुनै ठोस र वैध कारण हुनुपर्ने विपक्षीको तर्क छ । ‘उहाँले अमर्यादित वा असंवैधानिक काम गर्नुभएको छैन,’ आङ्बोले भने, ‘गणतन्त्रविरोधी वा राजावादी भएको भन्ने हो भने त्यो राप्रपाको घोषित नीति हो । उहाँलाई सभामुख बनाउनु भन्दा अगाडि पनि उहाँहरूको त्यही हो । त्यतिबेला किन बनाएको त ?’

सभामुखको दल (राप्रपा) राजावादी र संघीयता विरोधी भएको कुरा सबैलाई थाहा हुँदाहुँदै तत्कालीन गठबन्धनले सहमतिमा चुनेकोले अहिले त्यसैलाई कारण बनाउन नमिल्ने विपक्षीको जिकिर छ । ‘हामी सत्ता पक्षको यो कदमको सशक्त प्रतिवाद गर्ने र सत्तारुढ दलको योजना सफल हुन नदिने पक्षमा सहमत छौं,’ आङ्बोले भने । 

उनका अनुसार यसबाहेक अन्य एजेण्डामा पनि सरकारको विपक्षमा उभिने सहमति तीन नेताबिच भएको छ । ‘संसद् सञ्चालन नियमावलीको कुरा छ । भाषासम्बन्धी विधेयकको कुरा छ । यस्तै अन्य विषयमा पनि विपक्षीको एक मत बनाएर जाने भन्ने सहमति छ,’ आङ्बोले भने । 

संघीय संसदको उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेको सत्तारुढ गठबन्धन दल नेकपा एमाले र नेपाली कांग्रेसले कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टलाई पनि हटाउने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहेका छन् । कोशी प्रदेशसभाको बुधबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै माओवादी केन्द्रका सांसद गणेश उप्रेती सुशीलले कोशीका सभामुख विष्टलाई पनि हटाउन ‘बन्द कोठा’मा तयारी भइरहेको दाबी गरेका थिए । 

पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले विराटनगरमै आयोजित एक कार्यक्रममा सभामुख हटाउने विषय अगाडि ल्याउन खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए । ‘व्यवस्था मानेर आइसकेको कुनै एउटा पार्टीबाट निर्वाचित सभामुखलाई बिनाकारण हटाउने कुरा हुँदैन, हामी दिँदैनौँ,’ कार्कीले भने । उता, नेकपा एमालेका प्रमुख सचेतक विदुर लिङ्थेपले सभामुख हटाउने कुरा बाहिर हल्लामात्रै भएको बताएका छन् । 

कोशी प्रदेशसभाले २०८० पुस २४ गते विष्टलाई सर्वसम्मत ढंगले सभामुख चयन गरेको थियो । त्यसअघि प्रदेशसभाको दोस्रो कार्यकालको सभामुखमा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बनेका थिए । उनले राजीनामा दिएपछि विष्ट सभामुखमा निर्वाचित भएका हुन् ।

तत्कालीन सत्ता गठबन्धन कांग्रेस–माओवादी लगायतले आफ्नो सरकार टिकाउन र बहुमत जोगाउन सभामुख पद राप्रपालाई दिने निर्णय गरेको थियो भने  तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी नदिएपछि विष्ट निर्विरोध निर्वाचित भएका थिए । 

अहिले सत्तारुढ दल कांग्रेस र एमालेबिच पुनः भागबन्डा मिलाउन सभामुख विष्टलाई हटाउने भित्री सहमति गरिसकेको बताइएको छ । त्यस्तो अवस्थामा कोशीको सभामुख कांग्रेसले पाउने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप