बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संघीयता सुदृढीकरण गर्न नवप्रवर्तनका याेजनालाई सरकारको प्राथमिकता: मुख्यमन्त्री आचार्य

बिहीबार, ०५ भदौ २०८२, १२ : ५१
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले संघीयता सुदृढीकरण र नवप्रवर्तन कार्यक्रमको कार्यान्वयनमा जोड दिए।
  • मुख्यमन्त्री आचार्यले कार्यक्रमको प्रभावकारी अनुगमन गर्न र तीन तहका सरकारबीच समन्वय हुनुपर्ने बताए।
  • बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम अनुमोदन गरियो, र विभिन्न विषयमा छलफल भयो।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सुदृढीकरणसँगै नवप्रवर्तन कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत प्रादेशिक निर्देशक समितिको बिहीबार बसेको बैठकलाई राप्ती उपत्यका(देउखुरी)मा सम्बोधन गर्दै उनले ती कार्यक्रममार्फत प्रदेशको समृद्धि र विकासलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताए ।

मुख्यमन्त्री आचार्यले लागू भएका कार्यक्रमको प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघको भूमिका महत्वपूर्ण रहने बताए ।

लुम्बिनी प्रदेशमा हाल सात स्थानीय तहमा नवप्रवर्तन कार्यक्रम कार्यान्वयनमा छन् । बर्दियाको ठाकुरबाबा नगरपालिकामा दिगो विकास तथा हरित अर्थतन्त्र : कृषिको रूपान्तरणमा हामी सबैको साझेदारी, पाल्पाको तानसेन नगरपालिकामा तानसेन उद्यमशीलता तथा पर्यटन विकास कार्यक्रम, रुपन्देहीको मायादेवी गाउँपालिकामा स्मार्ट मायादेवी, प्युठानको सरुमारानी गाउँपालिकामा डिजिटल विद्यालय कार्यक्रम, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकामा पर्यटन होमस्टे प्रवर्द्धनसँगै उद्यमशीलता कार्यक्रम, गुल्मीको छत्रकोट गाउँपालिकामा सूचना प्रविधिमैत्री शिक्षा, र रुपन्देहीकै शुद्धोधन गाउँपालिकामा विद्युतीय सुशासनका लागि ई–सिफारिस सेवा केन्द्र सञ्चालनमा छन् ।

बैठकमा प्रमुख सचिव बावुराम अधिकारीले प्रदेश तथा स्थानीय तहको कानुन निर्माणदेखि कार्यान्वयन तहसम्म क्षमतावृद्धिका लागि गुणस्तरीय तालिम आवश्यक रहेको धारणा राखे। जिल्ला समन्वय समिति महासंघ लुम्बिनीका अध्यक्ष द्रोणबहादुर खत्री, नगरपालिका महासंघ लुम्बिनीका अध्यक्ष खिलध्वज पन्थी, गाउँपालिका महासंघ लुम्बिनीका अध्यक्ष विष्णुकुमार गिरी, मालारानी गाउँपालिकाकी उपाध्यक्ष दिपा पोख्रेललगायतले तीन तहका सरकारले सहकार्य, समन्वय र सहअस्तित्वको मर्मअनुसार नवप्रवर्तन कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

बैठकले आर्थिक बर्ष २०८२/८३ का लागि प्रादेशिक सहयोग इकाई  र प्रदेश सुशासन केन्द्र का वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । साथै, प्रादेशिक प्राविधिक सहायता समिति  गठनबारे पनि छलफल भएको थियो ।

बैठकमा प्रदेश सचिव कविन्द्र नेपालले विषयवस्तु प्रस्तुत गर्नुभयो भने कार्यक्रम समन्वय विश्लेषक विष्णु नेपाली र प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक उजिर न्यौपानेले कार्यपत्र प्रस्तुत गरे ।
बैठकमा नवप्रवर्तन साझेदारी कोषमार्फत सञ्चालन भएका योजनालाई व्यवस्थित गर्नुपर्ने, संघीयता सुदृढीकरणलाई आधार मानेर बजेट तथा कार्यक्रम निर्माण गर्ने, सेवा प्रवाह र सुशासन प्रवर्द्धन हुनेगरी योजना अघि बढाउने, लैंगिक समानता र सामाजिक समावेशीकरणमा जोड दिने लगायतका विषयमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप