शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

बागमती प्रदेश : एक वर्षमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार निर्माण

शनिबार, ०७ भदौ २०८२, ०६ : ४८
शनिबार, ०७ भदौ २०८२

सारांश

  • बागमती प्रदेश सरकारले एक वर्षमा पर्यटन पूर्वाधारमा १ हजारभन्दा बढी निर्माण गरेको छ।
  • प्रदेश सरकारले मन्दिर, गुम्बा, पार्क, पदमार्ग, किरियापुत्री भवन लगायतका संरचना बनाएको छ।
  • आगामी दिनमा पर्यटन प्रवर्द्धन र आर्थिक उपार्जनमा जोड दिने योजना रहेको छ।

मकवानपुर । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास गरेको छ । गत आर्थिक वर्ष प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाहरूबाट १ हजार ३१९ वटा पूर्वाधार निर्माण भएको हो ।

प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रदेशका १३ जिल्लामा ४९६ वटा मन्दिर निर्माण भएका छन् भने गुम्बा २१९ वटा बनाइएको छ । मन्त्रालयका अनुसार एक वर्षमा १५७ वटा पार्क, ५१ पदमार्ग, ३० किरियापुत्री भवन, १९ चर्च, ३ वटा मस्जिद निर्माण गरिएको छ । उक्त अवधिमा मसानघाट, पाटी–पौवा, शौचालय, सांस्कृतिक सम्पदा, सामुदायिक भवनजस्ता पूर्वाधार ३४३ वटा निर्माण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी अशेष खड्काले आगामी दिनमा अझ प्रभावकारी पर्यटकीय पूर्वाधार निर्माण गरेर उत्पादन र आर्थिक उपार्जनमा जोड्ने योजना रहेको बताए ।

गत आर्थिक वर्ष (२०८१/०८२) मा पर्यटन प्रवर्द्धन, अध्ययन–अनुसन्धान, सांस्कृतिक संरक्षण तथा पूर्वाधार विकासका क्षेत्रहरूमा उपलब्धीमूलक काम भएको खड्काको भनाइ छ । प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र उपयोगमार्फत दिगो पर्यटन विकास गर्ने उद्देश्यले प्रभावकारी योजनाका साथ मन्त्रालय अघि बढेको उनले बताए ।

मन्त्रालयका सचिव दिपेन्द्र श्रेष्ठका अनुसार प्रत्यायोजित अधिकारका आधारमा मन्त्रालयले हाल क्षेत्रीय पर्यटन, भाषा, संस्कृति र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनका काम गर्दै आएको छ । उनका अनुसार गत वर्षमा हिमाली पर्यटन विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षासहित सिन्धुपाल्चोकस्थित डोल्मा खाङ हिमालको आरोहण रुट अन्वेषण गरिएको छ । मन्त्रालयले प्रदेशको पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न १५ वर्षे पर्यटन विकास रणनीति तयार गरेको उनले प्रस्ट पारे ।

प्रदेशमा रहेका धार्मिक र सांस्कृतिक सम्भावनाहरूलाई समेट्दै बौद्ध सर्किट स्थापनाका लागि समेत अध्ययन गरेको सचिव श्रेष्ठले बताए । सांस्कृतिक विविधताको संरक्षण र अभिलेखीकरणतर्फ प्रदेश सरकारले विशेष ध्यान दिएको उनको भनाइ छ ।

सचिव श्रेष्ठका अनुसार प्रदेशमा बसोबास गर्ने दलित समुदायको संस्कृति अभिलेखीकरण र अध्ययन कार्य सम्पन्न गरिएको छ भने राजनीतिक इतिहास, फोटो दस्तावेज र सांस्कृतिक सम्पदाको संरक्षणका लागि राजनीतिक क्रान्ति संग्रहालय, कोट दरबार, नेपाल फोटो संग्रहालय तथा पर्यटन प्रवर्द्धन केन्द्र स्थापना गर्न आवश्यक योजना तथा मास्टर प्लान तयार गरिएको छ ।

पर्यटन प्रवर्द्धनका लागि प्रविधिमैत्री सेवा विस्तारमा समेत मन्त्रालयले प्राथमिकता दिएको उनले बताए । पर्यटकहरूको सहजताका लागि चितवनको सौराहा र काठमाडौँको ठमेलमा प्रविधिमैत्री पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘मन्त्रालयले प्याराडाइज बागमती एप निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । एपमा सूचना तथा जानकारी प्रविष्ट गर्ने काम भइरहेको छ । टुरिजम बागमती वेबसाइट निर्माणको काम पनि जारी छ,’ सचिव सुवेदीले भने ।

उनका अनुसार झरना तथा जलाधार क्षेत्रमा पर्यटन सम्भाव्यता अध्ययन, दलित तथा लोपोन्मुख जातजातिको संस्कृति अभिलेखीकरण, रैथाने खानाको अध्ययन, पेटेन्ट दर्ता तथा संरक्षण कार्यको काम भइरहेको छ । मन्त्रालयले नयाँ पर्यटन गन्तव्य पहिचान, ब्रान्डिङ र गुरुयोजना निर्माणमा अनुसन्धानलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

स्थानीय र रैथाने खानाको सांस्कृतिक महोत्सव, लोपोन्मुख नृत्य, बाजा, संगीतको अभिलेखीकरण तथा प्रवर्द्धन, श्रष्टा सम्मान कार्यक्रम, चलचित्र, नाटक, गायन, नृत्य र बाध्ययन्त्र कलाका कलाकारहरूको सम्मान, मूर्त तथा अमूर्त कलाको संरक्षण तथा प्रवर्द्धन, मातृभाषा तथा संस्कृत भाषाको संरक्षण तथा साहित्य प्रवर्द्धनमा मन्त्रालयले विशेष ध्यान दिएको सचिव श्रेष्ठको भनाइ छ ।

मन्त्रालयले पर्यटन प्रवर्द्धनका लागि तामाङ र नेपाल भाषामा अध्ययन गरिरहेका विद्यार्थीलाई शोध सहयोग, प्रदेश भाषा दिवस, प्रादेशिक साहित्यिक महोत्सव जस्ता कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप