बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
स्वास्थ्य/ जीवनशैली

तीजको दरमा के खाने, कति खाने ?

व्रत बस्नअघि आफ्नो शरीरले के भन्छ, त्यो सुन्नुहोस् : रन्जु खरेल, डाइटिसियन (किस्ट अस्पताल)
शनिबार, ०७ भदौ २०८२

यो वर्षको तीज नजिकिँदै गर्दा व्रत र खानपानको विषयमा जिज्ञासाहरू उठ्नु स्वाभाविकै हो। महिलाहरू भगवान् शिवको आराधना गर्नका लागि निराहार र निर्जला व्रत बस्ने गर्दछन्। 

व्रत बस्दा धार्मिक परम्परा जगेर्ना र आत्माको शान्ति हुनु त स्वाभाविकै हो, तर यसले हाम्रो शरीरमा कस्तो असर गर्छ भन्नेबारेमा हामीलाई खासै जानकारी हुँदैन। त्यसैले आजको ‘न्यूट्रिटक्स’ को यो शृङ्खलामा हामी परम्परा र खानपानको सन्तुलनबारे कुरा गर्नेछौँ।

योबारेमा हामीले किस्ट अस्पतालमा कार्यरत डाइटिसियन रन्जु खरेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ यसको सम्पादित अंश :

तीज नजिकिइसकेको छ। तीजमा महिलाहरूले व्रत बस्ने चलन छ। व्रत बस्दाखेरि हाम्रो स्वास्थ्यमा कस्तो असर पर्छ?

व्रत बस्दाखेरि सबैभन्दा पहिलो कुरा त हामी भोको पेट हुन्छौँ। त्यसले हाम्रो शरीरमा शक्ति कहाँबाट आउँछ र के हुन्छ भन्नेबाट कुरा सुरु गरौँ।

हाम्रो शरीरमा 'ग्लाइकोजेन' नामक ऊर्जा सञ्चित (energy reserve) रहेको हुन्छ। हामी भोको पेट बस्दा र केही खानेकुरा नखाएपछि हामीलाई चाहिने शक्ति त्यही ग्लाइकोजेनबाट आउँछ। बिस्तारै-बिस्तारै त्यो ग्लाइकोजेन पनि सकिँदै जान्छ, किनभने त्यो हाम्रो शरीरमा सीमित मात्रामा मात्रै सञ्चित भएको हुन्छ। त्यो सकिँदै जाँदा हाम्रो शरीरमा भएको बोसो, अर्थात् फ्याटलाई टुक्र्याएर (ब्रेकडाउन गरेर) शरीरले ऊर्जा पैदा गर्छ। यस प्रक्रियामा हाम्रो शरीरमा ‘किटोन बडिज’ (ketone bodies) बन्न थाल्छ। यही कारणले व्रत वा फास्टिङ गर्दा तौल घट्ने हुन्छ।

यसबाहेक, व्रत बस्दा शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन जान्छ। किनभने व्रतका पनि प्रकार हुन्छन्; कसैले निर्जला व्रत बस्नुहुन्छ, कसैले फलफूल खाएर व्रत बस्नुहुन्छ। यदि निर्जला व्रत बस्दै हुनुहुन्छ भने शरीरमा पानीको कमी देखिन्छ। यसरी हामीले पोषण, शारीरिक ऊर्जा र व्रतलाई जोडेर हेर्न सक्छौँ।

निर्जला व्रत बस्दाखेरि, जुन तीजमा प्रायः बसिन्छ, यसले हाम्रो शरीरमा कस्तो असर गर्छ ? यसरी व्रत बस्दा के-के कुरामा ध्यान दिन जरुरी छ?

निर्जला व्रत बस्दा, मैले अघि नै भनिसकेँ, हाम्रो शरीरमा पानीको कमी हुन्छ। त्यसैले केही सावधानी अपनाउनुपर्ने हुन्छ। हामीले अघिल्लो दिन जुन दर खान्छौँ, त्यही दिनदेखि नै भोलिपल्टको व्रतको तयारी गर्नुपर्ने हुन्छ।

अघिल्लो दिन बिहानदेखि नै राम्रोसँग पानी पिएर शरीरलाई हाइड्रेट गर्ने, अनि आफ्नो खानामा कार्बोहाइड्रेट, फ्याट, प्रोटिन सबै मिलेको सन्तुलित भोजन ग्रहण गर्नुपर्छ। यसो गर्दा भोलिपल्टको व्रतमा केही हदसम्म सजिलो हुन्छ। व्रतको दिनमा धेरै परिश्रम पर्ने कामहरू नगर्ने, धेरै बेर घाममा नहिँड्ने गर्दा अझ सहज हुन्छ। किनभने हामीले हरेक वर्ष व्रत बसेका महिलाहरू रिँगटा लागेर, बेहोस भएर ढलेका जस्ता कुराहरू सुनिरहेका हुन्छौँ। यी सामान्य लाग्ने कुराहरूमा ध्यान दिनु आवश्यक छ।

हजुरले घाममा नहिँड्नु, धेरै परिश्रम नगर्नु भन्नुभयो। तर तीजको व्रतमा एकातिर निराहार र निर्जला व्रत बसिराखिएको हुन्छ भने अर्कोतिर नाच्ने-गाउने पनि भइरहेको हुन्छ। यसले शरीरलाई के असर गर्छ होला ?
नाच्ने-गाउने गर्दा शरीरबाट धेरै पसिना आउँछ, जसले गर्दा शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन सक्छ। अब नाच्न-गाउन नै बन्द गर्नुहोस् भन्न पनि मिलेन, किनभने यो हाम्रो परम्परा हो। त्यसैले अघिल्लो दिनदेखि नै तयारी गरेर आफ्नो शरीरले सक्छ भने मात्र त्यस्ता गतिविधिमा संलग्न हुनुपर्छ। आफ्नो शरीरको कुरा सुन्नुहोस्। तपाईंलाई रिँगटा लाग्यो, टाउको दुख्यो वा के भइरहेको छ, त्यो तपाईँको शरीरले सङ्केत गरिरहेको हुन्छ। सबैको शरीर फरक हुन्छ, त्यसैले आफ्नो शरीरको अवस्था हेरेर अगाडि बढ्नु राम्रो हुन्छ।

आजभोलि त पटक-पटक व्रत बस्ने चलन एउटा ट्रेन्डजस्तै भएको छ। यसले शरीरमा कस्तो असर गर्छ? यसलाई सन्तुलनमा राख्न के गर्न सकिन्छ?

सामान्यतया हप्तामा एक पटक व्रत बस्नु राम्रो नै मानिन्छ। यसले शरीरको बोसो र तौल घटाउन मद्दत गर्छ। तर आफ्नो शरीरलाई ध्यान नराखी जथाभाबी, हप्तामा तीन-चार चोटि व्रत बस्दा भोलि त्यसको प्रतिकूल असरहरू देखिन सक्छ। त्यसैले व्रत बस्ने हो भने सन्तुलित तरिकाले हप्तामा एक पटक बस्नुपर्छ। कहिलेकाहीँ हाम्रो संस्कृति र परम्पराअनुसार एकादशी, औँसी जस्ता तिथिले गर्दा दुई पटक पनि पर्न सक्छ, तर सामान्यतया हप्तामा एक पटकभन्दा बढी व्रत नबस्नु राम्रो हो।

ranju kharel2

भोलिपल्ट व्रत बस्नु छ भने अघिल्लो रात १२ बजेसम्म दर खाने चलन छ। यसको वैज्ञानिक कारण केही छ त?

रातको १२ बजेसम्म दर खानु भनेको भोलिपल्ट २४ घण्टासम्म खाली पेट बस्नुपर्ने भएकाले शरीरका लागि ऊर्जा सञ्चय गर्नु हो। हामीले १२ बजेसम्म खाएको खानेकुराले हामीलाई भोलिपल्ट बिहानको करिब ४ घण्टासम्म शक्ति दिइरहेको हुन्छ। त्यसपछि मात्र शरीरले सञ्चित ग्लाइकोजेन र बोसोलाई ऊर्जाको रूपमा प्रयोग गर्न थाल्छ। त्यसैले यसलाई नराम्रो भन्न मिल्दैन।

दर खाँदा प्रायः चिल्लो, गुलियो, अमिलो, पिरो धेरै खाइन्छ। त्यसरी खाएर भोलिपल्ट खाली पेट बस्दा स्वास्थ्यमा कस्तो असर गर्छ?

अघिल्लो दिन धेरै गुलियो र धेरै नुनिलो खाँदा भोलिपल्टको व्रतमा शरीरमा पानीको कमी हुने सम्भावना बढ्छ। त्यस्तै, धेरै चिल्लो खाँदा पेट गडबड हुने जस्ता समस्या हुन सक्छन्। त्यसैले सकेसम्म दर खाँदा चिल्लो कम, गुलियो र नुन ठिक्क मात्रामा भएको खानेकुरा खानु राम्रो हुन्छ। सकिन्छ भने २४ घण्टाको व्रतका लागि कम्प्लेक्स कार्बोहाइड्रेट, जस्ता खानाहरू खानु राम्रो हुन्छ। गुलियो नखाने होइन, तर एकदम ठिक्क मात्रामा खानुपर्छ।

दीर्घकालीन रोग लागेका महिलाहरू, जस्तै मधुमेह, उच्च रक्तचाप भएकाहरूले व्रत बस्दा के-के कुरामा ध्यान दिनुपर्छ?

सबैभन्दा पहिलो कुरा त साना बालबालिका, किशोरी र दीर्घ रोग लागेका व्यक्तिहरूले व्रत नबस्नु नै राम्रो हो। किनभने उहाँहरूले अनेक औषधि सेवन गर्नुपर्ने हुन्छ। अझ मधुमेहका बिरामी, जो इन्सुलिन लिइरहनुभएको छ, उहाँहरूलाई त झन् धेरै गाह्रो हुन्छ। यदि तपाईंलाई आफ्नो आस्थाले गर्दा व्रत बस्नैपर्ने इच्छा छ भने फलफूल खाएर (फलाहार गरेर) व्रत बस्नु उपयुक्त हुन्छ।

हाम्रो परम्परागत तीजको व्यञ्जन नै चिल्लो-पिरो खालको छ। यसलाई स्वास्थ्यकर बनाउने केही उपाय छ त, जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर नगरोस्?

पहिलेदेखि खाइआएका परिकारहरूलाई बन्दै गर्नुहोस् भन्न मिल्दैन। तर तिनलाई कम मात्रामा खाएर साथमा अन्य स्वास्थ्यकर व्यञ्जनहरू थपेर सन्तुलन मिलाउन सकिन्छ।

गर्भवती महिला, किशोरीहरू व्रत बस्दा उहाँहरूलाई पोषणको आवश्यकता केही फरक हुन्छ?
किशोरी र गर्भवती महिलालाई सामान्य अवस्थामा पनि पोषणको आवश्यकता फरक नै हुन्छ। व्रत बस्दा त झन् फरक हुने भई नै हाल्यो। सकेसम्म त गर्भवती महिला, स्तनपान गराइरहेका आमाहरू र किशोरीहरूले व्रत नबस्नु नै राम्रो हो भनेर म भन्छु।

यदि गर्भवती महिलाहरू व्रत बस्न खोजिराख्नुभएको छ भने उहाँहरूको लागि के सल्लाह दिनुहुन्छ?

गर्भवती अवस्थामा पनि व्रत बस्छु नै भन्नुहुन्छ भने तपाईँले चोखो खानेकुराहरू खाएर व्रत बस्न सक्नुहुन्छ, तर निराहार नै चाहिँ बस्न म सुझाव दिन्नँ।

व्रत बस्नुभन्दा अगाडि कस्तो खालको खानेकुरा खानुपर्छ, जसले गर्दा भोलिपल्टको लागि पनि पोषण उपयुक्त होस्?

व्रत बस्नुभन्दा अघिल्लो दिन बिहानदेखि बेलुकासम्म राम्रोसँग पानी खाने। एकैचोटि धेरै होइन, थोरै-थोरै गरेर दिनभरि नै पिउनुपर्छ। साथै, फलफूल, सब्जी र कार्बोहाइड्रेट तथा प्रोटिन भएका खानेकुराहरू मिलाएर एउटा सन्तुलित भोजन खानुभयो भने भोलिपल्टलाई सजिलो हुन्छ। अघिल्लो दिन सकेसम्म धेरै नुन भएका खानेकुराहरू नखानु राम्रो हो।

ranju kharel3
व्रत तोड्ने बेलामा पनि पहिला पानीबाट सुरुवात गर्ने, अथवा कागती-पानी वा नरिवल पानीबाट सुरुवात गर्दा राम्रो हुन्छ। हाम्रो एकैचोटि गह्रौँ खाना खाने बानी छ, तर त्यसो गर्दा हाम्रो पाचन प्रणालीलाई पचाउन समय लाग्छ। त्यसैले सुरुमा झोलिलो पदार्थ खाएर १०-१५ मिनेटपछि अरू खानेकुरा खानुभयो भने पाचन प्रणालीलाई पनि सजिलो हुन्छ।

खाली पेटमा कागती-पानी खाँदा कतिलाई ग्यास्ट्रिकको समस्या हुन्छ। यसको विकल्पमा के-के छन्?

कागती-पानीको विकल्पमा सादा पानी र नरिवल पानी छन्। यो व्यक्तिको शरीरअनुसार फरक पर्छ। कसैलाई कागती-पानीले असर गर्छ, कसैलाई गर्दैन। व्रत तोड्ने बित्तिकै चिल्लो वा मसालेदार खानेकुरा खाँदा एसिड रिफ्लक्स हुने सम्भावना बढ्छ। त्यसैले पहिला पानी वा नरिवल पानी, जे आफ्नो शरीरलाई सुट गर्छ, त्यहीँबाट सुरु गर्नुपर्छ।

भनेपछि दिनभरि भोक लागेको हुन्छ, व्रत तोड्ने बित्तिकै धेरै खाइहाल्छु भन्नु हाम्रो शरीरको लागि राम्रो होइन?

हो, राम्रो होइन। पानी खान मन लाग्दैन भने फलफूलहरूबाट पनि व्रत तोड्न सक्नुभयो। फलफूल खाँदा शरीरमा इलेक्ट्रोलाइट्स सन्तुलनमा आउँछ र शरीर हाइड्रेट पनि हुन्छ।

व्रत बस्ने महिलाहरूलाई रमाइलोका साथै स्वास्थ्यमा पनि असर नपर्ने गरी तीज मनाउन के सल्लाह दिनुहुन्छ?

तपाईंहरूले जे-जस्ता परिकारहरू बनाउनुहुन्छ, खानुहुन्छ, सबैलाई सन्तुलन गरेर खानुहोस्। ‘मोडरेसन इज द की’, अर्थात् कुनै पनि कुरा बढी भयो भने राम्रो हुँदैन। जे पनि ठिक्क मात्रामा हुनुपर्छ। मीठो-मीठो परिकार बनाएर खानुहोस्, तर मात्रा मिलाएर खानुहोस्।

व्रत बस्दा रिँगटा लाग्ने, ढल्ने, कमजोरी महसुस हुने समस्या धेरैलाई हुन्छ। उहाँहरूलाई के सल्लाह दिनुहुन्छ?

तपाईँको शरीरले नै साथ दिँदैन भने व्रत बसेर मात्रै राम्रो हुन्छ जस्तो मलाई लाग्दैन। आफ्नो शरीरले के भन्छ, त्यो सुन्नुहोस्। तपाईंलाई रिँगटा लाग्छ, तपाईं ढल्नुहुन्छ, सक्नुहुन्न भने निर्जला व्रत बस्न उपयुक्त नहुन सक्छ। तपाईँसँग अरू विकल्पहरू छन्। जस्तै, फलफूलहरू खाने, मिस्रीको काँडा खाने गरेर पनि व्रत बस्न सकिन्छ। कतिपयले दूध-दही पनि खानुहुन्छ। तपाईँको आस्थाले दिन्छ र मनले मान्छ भने यी वैकल्पिक उपायहरू अपनाउन सक्नुहुन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया