प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
सारांश
- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको छलफलपछि नेपालका तयारी पोसाक उद्योगीहरू उत्साहित भएका छन् ।
- नेपाल तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले प्रधानमन्त्रीको निजी क्षेत्रमैत्री धारणा र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको कुराबाट उत्साहित भएको बताए ।
- प्रधानमन्त्री शाहले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी, गार्मेन्ट उद्योगको विस्तार र फाइबरबाट कपडा बनाउने सम्भावना औँल्याएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँगको छलफलपछि नेपालका तयारी पोसाक उद्योगीहरू उत्साहित भएका छन् ।
मङ्गलबार प्रधानमन्त्रीसँगको भेटघाटपछि नेपाल तयारी पोसाक उद्योग सङ्घका प्रतिनिधिहरूले सरकार निजी क्षेत्रमैत्री रहेको महसुस भएको भन्दै देशमै उत्पादन र निर्यात बढाउने वातावरण बन्नेमा आशा व्यक्त गरेका छन् ।
नेपाल तयारी पोसाक उद्योग सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालको निर्यात क्षेत्रमा गलैँचापछि तयारी पोसाक दोस्रो स्थानमा रहेको र यसले वार्षिक १० अर्ब रुपैयाँ बराबरको निर्यात गर्ने गरेको जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेट फलदायी रहेको बताउँदै उनले भने, ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान आज भएको छ । विशेष गरी देशको अर्थतन्त्र नै निजी क्षेत्र हो र अर्थतन्त्रबिना देश बन्दैन भन्ने प्रधानमन्त्रीको स्पष्ट धारणा देखियो ।’
अध्यक्ष पाण्डेका अनुसार प्रधानमन्त्री शाहले ‘मान्छे निर्यात गरेर देश बन्दैन, मान्छेले उत्पादन गरेको वस्तु निर्यात गरे मात्रै देश बन्छ’ भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएका छन् । यस धारणाबाट आफूहरू निकै उत्साहित भएको पाण्डेले बताए ।
यसैगरी, सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी गरेकोमा सङ्घले स्वागत गरेको छ ।‘यसमा निजी क्षेत्रका तर्फबाट गर्नुपर्ने सक्दो सहयोग गर्न हामी तयार छौँ,’ अध्यक्ष पाण्डेले थपे, ‘तर हेटौँडा कपडा उद्योगलाई नयाँ र आधुनिक प्रविधिबाट सञ्चालन गर्न हामीले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छौँ ।’
छलफलका क्रममा प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई समस्या मात्र नभई त्यसको समाधानको खाकासहित आउन आग्रह गरेको सङ्घका महासचिव भीमकुमार गिरीले बताए ।
‘प्रधानमन्त्रीज्यूले तपाईंहरू समस्या लिएर आउँदा उत्तर पनि लिएर आउनुस्, उत्तर र योजना भएपछि तत्काल एक्सनमा जान सकिन्छ भन्नुभयो,’ महासचिव गिरीले भने ।
प्रधानमन्त्री शाहले देशका सबै क्षेत्रमा गार्मेन्ट उद्योग स्थापना हुनुपर्ने र गाउँघरमा कुहिएर गइरहेका बोटबिरुवाका रेशा (फाइबर) बाट समेत कपडा बनाउन सकिने सम्भावना औँल्याएको गिरीले जानकारी दिए ।
प्रधानमन्त्रीले अत्यन्तै आत्मीयता दर्शाउँदै ‘नो प्रेसर, नो टेन्सन’ को वातावरण बनाएर काम गर्ने ढाडस दिएकाले अब साँच्चै देश बन्नेमा आफूहरू आशावादी रहेको महासचिव गिरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण