भारतीय क्रिकेटर चेतेश्वर पुजाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए संन्यास
नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका अनुभवी ब्याट्सम्यान चेतेश्वर पुजाराले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो १५ बर्से लामो अन्तर्राष्ट्रिय करियरलाई बिट मारेको जानकारी दिएका हुन् ।
'टेस्ट विशेषज्ञ'का रूपमा चिनिने पुजाराले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०२३ को जुनमा टेस्ट म्याचको रूपमा खेलेका थिए ।
संन्यासको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेखेका छन्, 'हरेक राम्रो कुराको अन्त्य हुन्छ । भारतीय जर्सी लगाउनु, राष्ट्रगान गाउनु र मैदानमा हरेक पटक आफ्नो उत्कृष्ट प्रदर्शन गर्नु एउटा यस्तो अनुभव थियो, जसलाई शब्दमा बयान गर्न सकिँदैन । म हृदयदेखि आभारी छु र क्रिकेटको सबै स्वरूपबाट बिदा लिने निर्णय गरेको छु।'
पुजाराले सन् २०१० मा अस्ट्रेलियाविरुद्ध बेङ्गलुरुमा भएको टेस्ट म्याचबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले भारतका लागि १०३ टेस्ट म्याच खेल्दै ४३.६० को औसतमा ७ हजार १ सय ९५ रन बनाए । यस क्रममा उनले १९ शतक र ३५ अर्धशतक प्रहार गरे । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट स्कोर अविजित २०६ रन हो ।
टेस्ट क्रिकेटमा सफल भए पनि पुजाराको सीमित ओभरको करिअर भने चल्न सकेन । उनले भारतका लागि ५ एकदिवसीय खेलमा जम्मा ५१ रन बनाए, जहाँ उनको उत्कृष्ट स्कोर २७ रन मात्र थियो । उनले कुनै पनि अन्तर्राष्ट्रिय टी-२० खेल्ने अवसर पाएनन् ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण