नेवार समुदायले चथा पर्व मनाउँदै
सारांश
- भक्तपुरमा नेवार समुदायले आज चथा पर्व मनाउँदैछन्, गणेश र चन्द्रमाको पूजा गर्दै।
- चथा पर्वमा गणेश र चन्द्रमाको पूजा गर्नाले चोर दोष लाग्दैन भन्ने जनविश्वास छ, र विशेष परिकार चढाइन्छ।
- इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंसम्म लिंगो लैजाने र दशैँको सुरुवातको रूपमा यो पर्व मनाइन्छ।
भक्तपुर । नेवार समुदायले आज चथा पर्व मनाउँदै छ । भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथा पर्व भक्तपुर नगरमा आजै मनाउन लागिएको हो । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भोलि भाद्र ११ गते भाद्र शुक्ल चतुर्थी भए पनि १० गते साँझ नै चतुर्थी पर्न आएका कारण चथा पर्व आजै मनाउन लागिएको हो ।
नेवाः संस्कृतिमा तिथि र मिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भएकाले चथा पर्व आजै मनाउन लागेको तलेजुका पुजारी नरेन्द्र जोशीले बताए । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्यहरू बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस् भन्ने कामनासहित पूजा गर्दछन् । भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ । यस दिन गणेश र चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास छ ।
चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते (कमलको पात) वा जेला लप्ते (हल्दीको पातजस्तो)मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीउ, नासपाती, केरा, स्याउ, अनार, अम्बा, हाडेओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला, बदामलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ । यसरी विधिवत रूपमा पूजा सकेपछि परिवारका सबै सदस्यले प्रसादका रूपमा गणेश र चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी खाने चलन छ । आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुबो, लड्डु र मुला चढाउँदा गणेश खुसी भई जीवनमा चिताएको मनोकामना पूरा हुने जनविश्वास छ ।
चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने दुई परम्परा छ । एकथरि समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन । अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घर भित्र पस्ने चलन छ ।
यस दिन राती चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थाई र गौण हुने तथा उसको राम्रो पक्ष काम हो भन्ने सन्देशसमेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउछन्। पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीको टाउको मुख भएको भन्दै अपमान गरेपछि गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जोकोहीलाई चोर दोष लागोस भनेर श्राप दिएछन् । गणेशको सोही श्रापको प्रभावले त्यसदिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो । त्यसपछि देवीदेवताहरू समेतले चन्द्रमाको मुख हेर्न छाडिदियो । यसले चन्द्रमाको बेइज्जत भयो । चन्द्रमा बाहिर आउन, हिँडडुल गर्न समेत नसक्ने अवस्थामा पुगे। त्यसपछि चन्द्रमा महादेवको शरणमा गएर भक्तिभाव गरी महादेवको सहयोगले चन्द्रमाले गणेशलाई दुबो, लड्डु र मुला चढाई क्षमायाचना गर्न लगाए। चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए ।
साथै गणेशले चतुर्थीको राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोर दोष नलाग्ने वरदानसमेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन पाइन्छ । गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दसैँ भित्र्याउने चाडको रूपमा समेत लिने गरेका छन् । दसैँको प्रारम्भ पर्वका रूपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरी घरघरमा मासु भित्र्याउने चलन छ । नेवार समुदायमा चथाः पर्व राम्रोसँग मनाए दसैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ । बेलुका घरपरिवारका सबै सदस्य लाइन बसेर भोज खाने चलन छ । आजकै दिन भक्तपुरका किसानले आआफ्ना अदुवाखेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन छ ।
आजकै दिन इन्द्रजात्राको लागि भक्तपुरबाट काठमाडौंको बसन्तपुरसम्म लिंगो लैजाने परम्परा छ । इन्द्रजात्राको अवसरमा वसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ । लिङ्गेवनमा विधिपूर्वक पूजा गरेपछि बलि दिने बोकालाई छाड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण