मिथिलाञ्चलमा प्रसिद्ध चौरचन पर्व मनाइँदै
सिरहा । सिरहा मिथिलाञ्चलमा प्रसिद्ध चौरचन अर्थात् चौरचन पर्व आज मनाइँदै छ। हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ।मिथिलाञ्चलवासीले चौरचन धुमधाम साथ मनाइरहेका छन् ।
तराईमा छठपछिको दोस्रो ठुलो पर्वका रूपमा चौरचन पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरी उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको छ ।
खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ ।
त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।
दिनभरी निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन्।
चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।
गोलबजार –४ की चन्द्रादेवी साहले नयाँ माटोका भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको बताइन् ।
प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ ।चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने यहाँको परम्परा रहेको उनले बताइन् ।
दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आज बिहानैदेखि घर–घरमा प्रसाद तयार गर्न महिला व्यस्त छन् । पण्डित केशव झाका अनुसार ज्योतिष हेमाङ्ग ठाकुरले यो तिथिमा शुभफल प्राप्त गरेकाले उनकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुवात भएको किंवदन्ती छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण