शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

सबै पार्टीमा लडाइँ छ, मुक्कामुक्की नगरेको पार्टी नै छैन : विप्लव

बिहीबार, १२ भदौ २०८२, १५ : १३
बिहीबार, १२ भदौ २०८२

सारांश

  • विप्लवले नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएको बताएका छन्।
  • उनले जनताको विश्वास र एकताको प्रतिनिधित्व गर्ने शक्तिको आवश्यकता रहेको बताए।
  • विप्लवले नेताहरूले जनतालाई भ्रमित पारेको र राज्य रूपान्तरण हुन नसकेको बताए।

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित भएको बताएका छन् ।

सहिद बेपत्ता स्मृति प्रतिष्ठानले बिहीबार बुटवलमा गरेको ‘वर्तमान राजनीतिक संकट र निकास’ विषयक अन्तरक्रियामा बोल्दै चन्दले यस्तो बताएका हुन् । 

‘नेपालको राजनीतिक र कम्युनिस्ट आन्दोलन दिग्भ्रमित छ । रनभुल्लजस्तो भएको छ’, चन्दले भने, ‘दिग्भ्रमबाट दिग्दर्शन चाहिएको छ । कुन बाटो जसले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्छ ।’

उनले नेपाली जनताले विश्वास, एकता र जनताको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने शक्तिको आवश्यकता भएको भन्दै आफूहरूले थालेको बहस व्यक्ति विशेषको नभएको बताए ।

उनले अहिले कुनै पनि पार्टी विवादमुक्त नभएको पनि बताए । ‘ठुलो, सानो सबै पार्टीमा लडाइँ छ । कम्तीमा पनि दुई दुई जना मान्छे भएर मुक्कामुक्की नगरेको पार्टी नै छैन’, चन्दले भने, ‘यसो हेर्दा यो समस्या पार्टीमामात्रै जस्तो लाग्छ, तर त्यसो होइन । समाजमै बहस रहेको र त्यसको प्रतिविम्ब पार्टीमा रहेको छ ।’ 

उनले कानुनहरू पुराना रहेको, नेपालको अर्थतन्त्र सिमित व्यक्तिको कब्जामा परेको, भ्रष्टाचार बढेको भन्दै यो समग्र सङ्कट आउनुमा गणतन्त्रको ढाँचाको आर्थिक व्यवस्था नभएर भएको बताए ।

उनले पूर्वसहकर्मी रामबहादुर थापा बादल रक्षामन्त्री भएका वेला गरिएको एउटा निर्णय वा उपप्रधानमन्त्री भएका वेला नारायणकाजी श्रेष्ठले न्यायलयसम्बन्धि दिएको अभिव्यक्तिबाटै धेरै कुरा बुझ्न सकिने बताए । गणतन्त्रलाई सफलता मानिएपनि त्यसपछि जनताले गणतन्त्रको विशेषता उपभोग गर्न नसक्दा असन्तुष्टि बढेको चन्दको भनाइ छ । 

‘जनताले कहाँबाट समानता र स्वतन्त्रता खोज्ने ? नेपालमा कुन वर्गको देश हो यो भन्ने फैसला नै भएको छैन’, चन्दले भने, ‘नेताहरूले जनतालाई भ्रमित पारे ।’

नेपाली जनताका अधिकार सुनिश्चित नभएको, राज्य रूपान्तरण भइनसकेको,राज्यबाट निर्धारित संस्थाहरू रूपान्तरित नभएको भन्दै उनले घर मुलीले नै अरूलाई सरापेर र प्रश्न गरेर कहीँ नपुगिने चन्दको भनाई छ । 

उनले जोसँग पैसा छ उसैको हालीमुहाली भएको भन्दै नयाँ भन्नेहरूले पनि चुनावमा कराेडौँ खर्च गर्छु भन्न थालेको बताए । उनले यही अवस्था रहेमा नेपालको राजनीति भिरबाट हाम्फाल्ने अवस्थामा पुग्ने  बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप