आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

बेलायतमा सर्वाधिक राशिको यती कप फुटबलको तयारी

बिहीबार, १२ भदौ २०८२, १९ : ४८
बिहीबार, १२ भदौ २०८२

काठमाडौँ । यती नेपाली एसोसिएसन यूकेले 'यती कप फुटबल प्रतियोगिता’को आयोजना गर्ने भएको छ । जसको पुरस्कार राशी बेलायतमा नेपाली समुदायभित्र यो सबैभन्दा ठुलो हुने आयोजकको दाबी छ ।

संस्थाले बुधबार साउथ ह्यारोस्थित नेवा छेःमा पत्रकार सम्मेलन बोलाएर प्रतियोगिताको विवरण सार्वजनिक गरेको हो। खेलकुद सचिव हरि रेग्मीका अनुसार प्रतियोगितामा मेन र भेट्रान्स गरी दुई वर्ग रहनेछन्।

मेन वर्गमा २४ टोली र भेट्रान्स वर्गमा १२ टोली सहभागी हुनेछन् । प्रत्येक टोलीमा १५ जना खेलाडी रहनेछन्, जसमा तीन जना विदेशी खेलाडी पनि समावेश गर्न पाइनेछ ।

मेन वर्गका विजेतालाई ३ हजार ३ सय ३३ पाउन्ड अर्थात ६ लाख ३० हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी  उप–विजेतालाई १ हजार ५ सय ५५ पाउन्ड, भेट्रान्स वर्गका विजेतालाई १ हजार २ सय २२ पाउन्ड र उप–विजेतालाई ५ सय ५५ पाउन्ड पुरस्कार राशि प्रदान गरिनेछ । 

यसबाहेक उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकिपर, उत्कृष्ट टोली प्रबन्धक र अनुशासित टोलीलाई विशेष पुरस्कार दिइनेछ ।

यती अध्यक्ष टंक भट्टराईले यो प्रतियोगिता नेपाली समुदायलाई एकताबद्ध गर्ने एउटा माध्यम बनेको बताउँदै भने,'यसले हाम्रो समुदायलाई जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हाम्रो लक्ष्य यसलाई निरन्तरता दिँदै अझ व्यापक बनाउनु हो ।'

प्रतियोगितामा फुटबलका साथै नेपाली खाना, सांस्कृतिक स्टल, लाइभ म्यूजिक जस्ता कार्यक्रमहरू पनि रहनेछन्। दर्शकहरूका लागि प्रवेश निःशुल्क रहनेछ। उपाध्यक्ष राज पाण्डेले कप र ट्रफीहरू नेपालमै बनाइने बताउँदै यसले गर्दा नेपालीलाई आर्थिक लाभ पनि हुनेछ भने ।

यसअघि सन् २०१७ मा यस्तै प्रतियोगिता भएको थियो। गत वर्ष प्राविधिक कारणले आयोजना गर्न नसके पनि यसपटक फेरि यो ऐतिहासिक प्रतियोगिता ल्याइएको महासचिव आशिषराज पन्तले बताए । 

उनले भविष्यमा यतीले 'ट्रेड शो’ गर्ने योजना बनाएको समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप