बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
उपनिर्वाचन सरगर्मी

रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार छान्न रास्वपाको प्राइमरी इलेक्सन, मतदाता के भन्छन् ?

शुक्रबार, १३ भदौ २०८२, १९ : ००
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट गर्न ‘प्राइमरी इलेक्सन’ सम्पन्न गर्यो।
  • प्राइमरी इलेक्सनमा ९ जना आकांक्षीहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा पार्टीका साधारण सदस्यहरूले मतदान गरेका थिए।
  • इलेक्सनको नतिजा र अन्य मूल्याङ्कनका आधारमा, रास्वपाले १५ गते उम्मेदवार घोषणा गर्नेछ।

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जना आकाङ्क्षीबिच गरेको ‘प्राइमरी इलेक्सन’ सम्पन्न भएको छ । बिहीबार बिहानदेखि अनलाइनमार्फत सुरु भएको भोटिङ्ग शुक्रबार साँझ ७ बजे सकिएको हो ।

प्राइमरी इलेक्सनमा पार्टीको एपमार्फत अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार मतदानमा उल्लेख्य सहभागिता भएको छ ।

उम्मेदवार छनोट विधिअन्तर्गत प्राइमरी इलेक्सनमा पाउने मतको अङ्कभार सबैभन्दा धेरै (५०) रहेकाले यसलाई आकाङ्क्षीहरूले महत्त्वका साथ हेरेको पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले बताए ।

पार्टीले साउन ७ देखि २१ सम्म उम्मेदवार बन्न आवेदन माग गरेको थियो । यस क्रममा ९ जना छनोट भएका थिए । पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, डा. लेखजंग थापा, मधु अर्याल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र सुलभ खरेलले आवेदन दिएका थिए ।

प्राइमरी इलेक्सनमा उनीहरूलाई नै पार्टीका साधारण सदस्यले मत दिने र सर्वाधिक मत प्राप्त गर्नेले मूल्याङ्कनमा ५० अंकभार पाउने प्रावधान छ ।

रास्वपाले उम्मेदवार चयनमै लोकतान्त्रिक विधिको उच्चतम प्रयोग गरेको लुम्बिनी प्रदेश उपाध्यक्ष घिमिरे बताउँछन् । अन्य पार्टीमा उम्मेदवारका आकाङ्क्षीहरू नेताको आशिर्वाद लिन जाने गरेको तर रास्वपामा सम्भावित उम्मेदवारबिच विभिन्न चरणमा प्रतिस्पर्धा गराएर उच्च अंकभारको आधारमा उम्मेदवार चयन हुने उनको भनाइ छ ।

यसअघि पार्टीले २० अङ्कभार रहेको पोलिटिक्स प्रोक्सिमिटी र २५ अंकभार रहेको लिडरसिप एकेडेमीका लागि आकाङ्क्षीबिच विभिन्न गतिविधि गराएर मूल्याङ्कन गरिसकेको घिमिरेले बताए ।

बाँकी ५ अङ्कभार समावेशितालाई छुट्याइएको र उक्त अङ्कमा महिला, आदिवासी जनजाति, मधेसी, अल्पसंख्यक र पछाडि पारिएको समुदायका आकाङ्क्षीले मात्र पाउने नियम रहेको उनले जानकारी दिए ।

रुपन्देही–३ मा रास्वपाका करिब २ हजार ७१६ साधारण सदस्यका साथै यो क्षेत्रमा बसोबास गर्ने पालिका, क्षेत्र, जिल्ला, प्रदेश समिति पदाधिकारीहरूले प्राइमरी इलेक्सनमा मत हाल्न पाउने व्यवस्था छ ।

केन्द्रीय समितिका सदस्यले पनि मत हाल्न पाउने व्यवस्था रहेको बताइएको छ । प्राइमरी इलेक्सनमा करिब २८ सय भोटिङ हुने रास्वपाका क्षेत्रीय सभापति मधु आर्यालले बताए ।

प्राइमरी इलेक्सनमा पार्टीले ‘नन अफ द एबोभ’ (माथिका मध्ये कोही पनि हुँदैन ) भन्ने विकल्पमा पनि भोट दिन सकिने व्यवस्था गरेको प्रदेश उपसभापति घिमिरेले बताए । ९ वटै आकाङ्क्षीको तुलनामा ‘नन अफ द एबोभ’मा बढी मत खसेको खण्डमा उम्मेदवारको अर्को सूची तयार गरिने उनको भनाइ छ ।

प्राइमरी इलेक्सनमा मतदाताको तह अनुसार मतभार

रास्वपाको प्राइमरी इलेक्सनमा निर्वाचन क्षेत्रका पार्टी सदस्य, तहगत समितिका सदस्य र केन्द्रीय समिति सदस्यले मतदान गर्न पाउनेछन् ।

जस अनुसार सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतभार ८०, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतभार १० अङ्क र केन्द्रीय समिति सदस्यको मतभार १० रहने रास्वपाका सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यले रातोपाटीलाई बताए ।

प्राइमरी इलेक्सनको नतिजा, यसअघि सम्पन्न पोलिटिक्स प्रोक्सिमिटी र लिडरसिप एकेडेमीको मूल्याङ्कनबाट प्राप्त अङ्क र समावेशिताको अङ्क कम्पाइल गरी १५ गते सबैभन्दा बढी भोट पाउने एक जनालाई उम्मेदवार घोषणा गरिने उनले बताए ।

गत आम चुनावमा रुपन्देही–३ मा रास्वपाले समानुपातिकतर्फ १४ हजार १५४ मत पाएको थियो । प्रत्यक्षतर्फ यो निर्वाचन क्षेत्रबाट रास्वपाका जित बहादुर गुप्ता तेलीले ५ हजार ७९६ मत प्राप्त गरेका थिए । 

मतदाता के भन्छन् ? 

पुराना पार्टीले केन्द्रबाट उम्मेदवार छानेर पठाउने र ती उम्मेदवारसँगै झन्डा बोकेर प्रचारप्रचारमा हिँड्नुपर्ने अभ्यासलाई निरन्तरता दिइरहेको अवस्थामा रास्वपाले साधारण सदस्यबाट उम्मेदवार छनोटका लागि निर्वाचन सुरु गरेको सो पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ का पूर्वसभापति ओम पौडेलले रातोपाटीलाई बताए ।

उम्मेदवारका आकाङ्क्षी ९ जनामध्ये सङ्गठनमा योगदान दिएको, पार्टीले टिकट दिएको खण्डमा निर्वाचन जित्न सक्ने, कार्यकर्तासँग भिज्न सक्ने व्यक्ति रोजेर मत दिएको उनको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिका–८, भैरहवाका कृष्ण भण्डारीले चिनेजानेको, स्थानीयस्तरमा राम्रोसँग घुलमिल भएको व्यक्तिलाई आफूले मत दिएको बताए ।

बुटवल उपमहानगरपालिका–१६, नरेनापुरका भक्त थापाले आफ्नो टोलमा ४ जना सार्थीहरू बसेर सल्लाह गरी एकै जनालाई मत दिइएको बताए ।

आफूहरूसँग चिनजान भएको, भोलि कुनै समस्या पर्दा सहज रूपमा भेट्न तथा सम्पर्कमा आउने, स्थानीय मुद्दाहरू बुझेको र राष्ट्रियताका विषयमा संसदमा जोडदार आवाज उठाउन सक्ने व्यक्ति नै रोजाइमा परेको उनको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा निवासी प्रदेश सदस्य प्रकाश ज्ञवालीले पार्टीप्रति उम्मेदवारको लगाव, शैक्षिक योग्यता, सामाजिक क्षेत्रका पृष्ठभूमिजस्ता आधार हेरिएको बताए ।

बुटवल–१६, सेमलारका पवन सालिकेले राष्ट्रिय एजेन्डा बुझेको, कानुन राम्रोसँग अध्ययन गरेको व्यक्तिलाई आफूले मत दिएको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप