बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

राजेन्द्र लिङ्देनको दाबी : २०८४ को निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ

शनिबार, १४ भदौ २०८२, २१ : १५
शनिबार, १४ भदौ २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्ने दाबी गरे।
  • उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे।
  • अध्यक्ष लिङ्देनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध कुनै सम्झौता नगर्ने बताए।

झापा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपा मुलुकको पहिलो पार्टी बन्ने दाबी गर्दै सोही अनुसार तयारी थाल्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।  
     
पार्टीको ११औँ जिल्ला अधिवेशनलाई आज विर्तामोडमा सम्बोधन गर्दै उनले राप्रपा २०८४ को निर्वाचनमा मुलुकको पहिलो पार्टी बन्ने दाबी गर्दै जनताले पार्टीप्रति आशा गरेका बताए ।      
     
अध्यक्ष लिङ्देनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था गर्न माग गरे । उनले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिविरुद्ध पार्टीभित्र र बाहिर राप्रपाले कुनै सम्झौता नगर्ने धारणा राखे । पार्टीभित्र अनुशासन नमान्ने र अवसर मात्र खोज्नेहरू अब सचेत हुनुपर्ने उनको भनाइ छ ।     
     
“राप्रपा एउटा पार्टी मात्र होइन, भ्रष्टाचारविरुद्धको अभियान पनि हो । पार्टी बलियो भएमा मुलुक समृद्ध बन्छ । राप्रपा भ्रष्टाचार र भ्रष्ट व्यवस्थाविरुद्ध सदैव उभिने छ”, अध्यक्ष लिङ्देनले भने । 
     
राप्रपाका प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले मुलुकको अवस्था बदल्न देशको व्यवस्था बदल्नुपर्ने खाँचो औँल्याए । 
     
पार्टीकी केन्द्रीय सदस्य खुश्वु ओलीले हाम्रै पालामा देश बनाउने हो भने राप्रपाले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखिन् । अधिवेशनले केशव ओझाको अध्यक्षता जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।  रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप