झोले : झोला बोक्ने कि विवेकशून्य ?
‘मिक्स्ड मार्सल आर्ट’ (एमएमए) विधाको ‘म्याट्रिक्स फाइट नाइट’ (एमएफएन) प्रतिस्पर्धाको ब्यान्टम वेट श्रेणीमा च्याम्पियन भएका खेलाडी रवीन्द्र ढाँटलाई जब सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा निमन्त्रणा गरी बधाई दिँदै सम्मान गर्नुभयो; चिया बिस्कुट खुवाएर बिदाइ गर्नुभयो; तब सामाजिक सञ्जाल लगायत नेपाली मिडियामा उक्त कार्यको प्रशंसा भन्दा नकारात्मक टिप्पणी बढी भयो ।
यस पंक्तिकारले सञ्जालमा पोस्ट गरिएको कुनै एक नकारात्मक स्ट्याटसमा ‘राष्ट्रपतिले बोलाएर बधाई दिनु र सम्मान गर्नु पनि कुनै पुरस्कारभन्दा कम होइन, सकारात्मक बनौँ’ भनेर टिप्पणी गरेको थियो । त्यसमा सबैभन्दा पहिलो कमेन्ट नै ‘झोले’ भन्ने थियो । यद्यपि धेरैले नकारात्मक कमेन्ट गर्नुका साथै केहीले मेरो टिप्पणीलाई सकारात्मकताका साथ लाइक पनि गरे, तर उक्त झोले भन्ने कमेन्टले मेरो मानसपटलमा एक प्रकारको हलचल नै मच्चायो, मेरो अस्तित्व र विवेकले उक्त झोले शब्द पचाउन सकेन र यो लेख लेख्न बाध्य भएँ ।
सम्माननीय प्रधानमन्त्री केपी वलीले आफू जनताको झोले भएको र जनताको कल्याणका लागि जनताको झोला बोकिरहने भन्ने भावसहितको घोषणा गरेका थिए । त्यसपश्चात् नेकपा एमालेले ‘झोले अभियान’ नै चलाएको थियो, यद्यपि उक्त अभियानले समाजमा सोचेजस्तो सकारात्मकता पैदा गरेन । मेरो राजनीतिक चेतनाले मूलधारका कुनै राजनीतिक पार्टीलाई समर्थन गर्न सक्ला तर हाल म कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।
झोले व्यक्ति हो कि मानसिकता ?
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार झोले भनेको अर्काको झोला बोक्ने, झोल भएको, रसदार र झोला भिरेर हिँड्ने भनेर अर्थ्याइएको छ । झोले भनेको सम्पत्तिका नाममा झोला मात्र भएको मान्छे हो वा झोला बोक्ने मान्छे हो, चोक्टाको सट्टा झोल मन पराउने मान्छे वा लागु पदार्थको नसामा झुलिरहेका मान्छे हो ?वा, के हो त झोले ?
राजनीति फोहोरी खेल हो । सत्यवादी, सोझा, इमानदार र मेधावी व्यक्तिलाई राजनीतिमा प्रवेश निषेध गर्ने उद्देश्यका साथ नेपालमा जालझेल र षड्यन्त्र गर्न सक्ने, खुट्टा तान्ने प्रवृत्ति भएका, झुटो बोल्ने तथा आश्वासन दिन सक्ने, लाज नभएका, बाहुबली गुन्डा र बेइमानले मात्र राजनीति गर्नुपर्छ भन्ने भाष्य तयार गरिएको छ ।
नेपाली बृहत् शब्दकोश अनुसार झोले भनेको अर्काको झोला बोक्ने, झोल भएको, रसदार र झोला भिरेर हिँड्ने भनेर अर्थ्याइएको छ । झोले भनेको सम्पत्तिका नाममा झोला मात्र भएको मान्छे हो वा झोला बोक्ने मान्छे हो, चोक्टाको सट्टा झोल मन पराउने मान्छे वा लागु पदार्थको नसामा झुलिरहेका मान्छे हो ? वा, के हो त झोले ?
कथंकदाचित् कोही सोझो र इमानदार व्यक्ति कुनै संस्था वा दलको नेतृत्व र कर्मचारी संयन्त्रको ठुलो ओहोदामा पुगिहाले पनि सर्वसाधारण जनता, नातागोता र छरछिमेकमा भएका व्यक्तिले गर्ने टिप्पणी यस्तो हुन्छ, ‘ओहो ! उनी त सोझा छन्, उनले केही गर्न सक्लान् जस्तो लाग्दैन ।’ सर्वसाधारण जनताको अपेक्षा पनि कोही चिने–जानेको व्यक्ति ठुलो ठाउँमा पुगेमा उसले आफ्नो छोराछोरी वा आफन्तलाई राम्रो जागिर लगाइदेओस्, आफूलाई परेका बेलामा सहयोग गरोस्, लाभकारी पदमा नियुक्ति देओस्, भनेको ठाउँमा सरुवा र बढुवा गरिदेओस्, ठेक्कापट्टा मिलाइदेओस्, आफ्नो संस्थालाई आर्थिक सहयोग गरिदेओस्, आफ्नो गाउँ–ठाउँमा बढी बजेट छुट्ट्याओस् भन्ने हुन्छ । आफ्ना लागि त्यस्तो अपेक्षा गर्ने जनसमूहले आफूले भनेजस्तो नभएपछि भोलिपल्टदेखि गाली गर्ने र कसैले नियमानुसार लाभ लिएको भए उसलाई ‘झोले’को ट्याग झुन्ड्याइहाल्छन् ।
कोही व्यक्ति कुनै प्रतिस्पर्धात्मक छनोट परीक्षामा पास भयो भने आफैँ पास भएँ भन्छ, आफू अयोग्य भएर असफल भएमा मलाई फेल गरियो भन्छ । आफू लाभमा हुन्जेलसम्म सबै ठिक र आफू वञ्चित हुनासाथ गाली गर्ने प्रवृत्ति रहेको समाजले आफूबाहेक सबैलाई झोले नै देख्छ । एक हिसाबले भन्ने हो भने यस्तो मानसिकता भएको समाजले राजनीतिकर्मीलाई पनि अवैध क्रियाकलाप गर्न उक्साउँछ ।
हाम्रोजस्तो व्यवस्थामा राजनीति गर्न जनसमर्थन चाहिन्छ र नियमानुसार गर्ने नेताले अपेक्षित जनसमर्थन पाउँदैन । हाम्रो समाजको मानसिकता नै झोले प्रवृत्तिको छ, जसले आफूबाहेक सबैलाई झोले देख्छ । राम्रो र नराम्रोको पहिचान नगरी विवेकशून्य समर्थन र विरोध गर्नु पनि झोले प्रवृत्ति नै हो । शब्दकोशमा जेसुकै अर्थ लाग्ने भए पनि नेपालको राजनीतिक वातावरणमा ‘दास’ शब्दले विवेक भएका तर बाध्यताले बोल्न नसक्ने समूहलाई बुझाउँछ, ‘अन्धभक्त’ शब्दले आफूसँग विवेक भए पनि विवेक प्रयोग नगर्ने बगाललाई बुझाउँछ, ‘झोले’ शब्दले आफ्नो विवेक बन्धकी राखेर गलतलाई पनि सही भन्ने जमातलाई बुझाउँछ । तसर्थ, झोले भनेको कुनै अमुक व्यक्ति होइन यो त मानसिकता हो ।
मान–सम्मान के हो ?
जनजनको मनमनमा आदर र प्रेमसहित बस्नु मान–सम्मान हो । कसैले गरेको काम वा उसले हासिल गरेको सफलता र उसको भावनाको कदर गर्दै स्वस्फूर्त रूपमा अधिकांश जनताको मनमा निजप्रति निस्कने प्रेम र आदर नै वास्तविक मान–सम्मान हो ।
प्रज्ञाको शब्दकोश अनुसार ‘मान’ शब्दले आदर, सत्कार, सम्मान, प्रतिष्ठा, दर्जा, पदवी लगायत अनेक अर्थ दिन्छ, त्यस्तै ‘सम्मान’ शब्दले प्रतिष्ठा, इज्जत, विशेष मान, ठुलो आदर, सत्कारलाई बुझाउँछ । मान–सम्मानका लागि पैसाभन्दा पनि इज्जत र आदर जरुरी हुन्छ ।
पुरस्कार हो भने त्यसमा केही उपहार, मेडल, पारितोषिक वा इनाम दिइन्छ । पंक्तिकारले सुरुवातमा भनेजस्तै राष्ट्रप्रमुखले राष्ट्रपति कार्यालयमा निमन्त्रणा गरेर प्रशंसा गर्नु, बधाई दिनु र सम्मान गर्नु पनि त ठुलो मान हो । जो–कोहीलाई त्यसरी राष्ट्रप्रमुखले मान–सम्मान दिँदैनन् र यस्तो मान–सम्मान पैसाले किन्न पनि सकिन्न । जो–कोहीलाई राष्ट्रपति निवासमा विनाकाम प्रवेश गर्न पनि निषेध गरिएको हुन्छ ।
मान–सम्मान गर्न कुनै मूल्यवान् वस्तुको आवश्यकता हुँदैन । सर्वसाधारण नागरिकका लागि कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको उपलब्धिमा कुनै व्यापारीले दिएको लाखौँ रकमको इनामभन्दा राष्ट्रको अभिभावक राष्ट्रप्रमुखले दिएको धन्यवाद मूल्यवान् र ऐतिहासिक हुन्छ, हुनुपर्छ । पैसा चलायमान हुन्छ, अस्थायी हुन्छ तर सम्मान चिरस्थायी हुन्छ । एमएफएन च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ, साथै उचित समयमा थप सम्मानित र पुरस्कृत गर्ने नै छ तर विनापुरस्कार राशिको सम्मानलाई पनि हामीले अपमान गर्नु हुँदैन, राम्रो कुराको प्रशंसा पनि गर्न सिक्नुपर्छ ।
किन नकारात्मकता ?
संसारमै नेपाल यस्तो देश हो, जहाँ सबैभन्दा बढी राजनीतिकै गफ हुन्छ । यस्तो लाग्छ, नेपालमा चियापसलदेखि पाँचतारे होटलसम्म गफ दिनेहरू, कार्यालय सहायकदेखि सचिवसम्मका पदधारीहरू, मगन्तेदेखि खर्बपतिसम्म, दूरदराजका कुनाकन्दरादेखि सहरबजारसम्मका सबै व्यक्ति राजनीतिशास्त्रका धुरन्धर विद्वान् हुन् । उनीहरूलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीश लगायत सबै उच्च ओहोदामा पदासीन व्यक्तिले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्ने कुराको सबै समाधान हुन्छ तर उनीहरूमध्ये कपितययले एक लिटर पेट्रोल वा एक गिलास रक्सी वा मासुभात वा सामान्य आश्वासनमा आफ्नो विवेक र चेतना साटिएको कुरा थाहै पाउँदैनन् ।
नेपालका हरेक तह र तप्कामा राजनीतीकरण भन्दा पनि पार्टीकरण भएको छ । विद्यार्थी, शिक्षक, पत्रकार, व्यापारी, न्यायसेवा, निजामती सेवा, किसान, मजदुर लगायत यावत् क्षेत्रमा यहाँसम्म कि देवालय र मन्दिरमा समेत पार्टीकरणले गहिरो जरो गाडेको छ । कहिलेकाहीँ त यस्तो लाग्छ कि नेपालका देवता पनि पार्टीमा विभाजित छन् ।
नेपालमा सामाजिक सञ्जालका प्रयोगकर्ता अनियन्त्रित भएका छन् । कसैको मान–सम्मान र प्रतिष्ठाको ख्याल नगरी खुला रूपमा गालीगलौज गर्ने र अपमान गर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालमा राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट र विशिष्ट व्यक्तिदेखि विपक्षी दलका नेता, सरकारी कर्मचारी, नाम चलेका व्यापारी, कलाकार सबैको दोहोलो काढिएको हुन्छ । मूलधारका पार्टीहरूमा दशकौँदेखि नेतृत्व परिवर्तन नहुनु; सत्तास्वार्थमा आफ्नो सिद्धान्तलाई बिर्सनु; सिद्धान्तहीन र एजेन्डाहीन गठबन्धन परिवर्तन गरिराख्नु; वर्ष फेरिनुभन्दा बढी सरकार फेरिनु; यसले गर्दा मन्त्री, भूतपूर्व मन्त्रीहरू, माननीयहरू र तिनका कार्यकर्ताहरू बढ्नु; हरेक ठाउँमा भागबन्डा र कोटाको किचलो हुनु आदिले जनतामा चरम निराशा छाएको छ । सामाजिक सञ्जालमा देखिने सघन नकारात्मकता सायद यस्तै क्रियाकलापको उपज हो र समग्रमा भन्ने हो भने यो अवस्थाका लागि नेता जनता सबै जिम्मेवार छन् ।
निष्कर्ष
जनताले सुशासन, स्थिरता, शान्ति र विकासका साथै मूलधारका पार्टीमा नेतृत्व परिवर्तन चाहेको कुरा कसैबाट लुकेको छैन । हरेक दशकमा व्यवस्था परिवर्तन गर्दा–गर्दा थाकेका जनताले व्यवस्था होइन अवस्था परिवर्तन चाहेका हुन् । अहिले राजनीतिलाई हेर्ने दृष्टिकोण र राजनीति राम्रो मान्छेले गर्ने कुरो होइन भन्ने भाष्य परिवर्तन गर्नु नितान्त जरुरी छ ।
राम्रा, होनहार, दूरदृष्टि भएका र इमानदार युवालाई राजनीतिमा प्रवेश गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । कुनै पार्टीको सदस्य हुनासाथ त्यसलाई झोले देख्ने समाजमा कसरी राम्रो व्यक्तिले राजनीतिमा प्रवेश गर्लान् भन्ने आजको यक्ष प्रश्न हो । देश हाँक्ने नै राजनीतिले हो र राजनीतिमा योग्य मान्छे हुनैपर्छ भन्ने आम बुझाइ हो । राजनीति गर्न पार्टी चाहिन्छ, पार्टी हुन सदस्य चाहिन्छ र सदस्यतामै राम्रा व्यक्ति निषेध गरिए कसरी राम्रो नेतृत्व निर्माण हुन्छ ? हाम्रो समाजको झोले मानसिकताको अन्त्य नभएसम्म देशको उन्नति र प्रगतिमा झोले बाधक नै बनेर तेर्सिइरहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका बर्डफ्लुको ‘हटस्पट’ : ६ लाख कुखुरा र १० लाखभन्दा बढी अण्डा नष्ट
-
विपक्षी दल नेकपाले गर्यो बजेट परिमार्जन गर्नुपर्ने माग
-
चार अदालतबाट मुद्दा संशोधनपछि रवि लामिछानेको राजनीतिक यात्रा सहज दिशा उन्मुख
-
फ्रान्समा गर्मीको कहर : बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाव, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
-
९६ वर्षका १००० खेलमा विश्वकप फुटबलले कोरेको इतिहास
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण