विद्रोहका लागि तयार सुदूरपश्चिम
‘समाउ भन्या हाङो नाइछि बथ्थाकी धर्तीनाई,
बाचु भन्या खानाकी नाई मर्नाका मर्जीनाई ।’
अर्थात् जिन्दगी यति कठिन छ कि न समाउने हाँगा छ न त अडेस लगाएर बस्न धर्ती छ, बाँचेर जिन्दगी जिउनका लागि खानेकुरा केही छैन, मर्न मनले मानिराखेको छैन ।
सुदूरपश्चिमका बासिन्दाको समग्र पीडा यस एउटै देउडा गीतले समेटेको छ । अधिकांश सुदूरपश्चिमका मध्य तथा निम्न वर्गीय परिवारको हालत यस्तै छ । जिन्दगी कसरी जिउने र परिवारलाई कसरी पाल्ने भन्ने नै यहाँको मूल समस्या हो ।
सम्पन्न जीवनभन्दा पनि सास (शरीर जोगाउन) धान्न नै मुस्किल देखिन्छ । यिनीहरूलाई सम्मानित र सुखी जीवन थाहै छैन । हँसिलो मुहार लगाउन कहिल्यै पाउने होइनन् । पहाडी तथा हिमाली जिल्लाका अधिकांश भागमा सबैको उस्तै हालत छ । उनीहरूलाई आफ्नै ज्यान भारी भइरहेको हुन्छ, गुहार्ने कसलाई ? सुनिदिने को ? सुदूरपश्चिमको भाषा अरु अधिकांशले बुझ्दैनन्, पूर्विया नेपाली यिनले बुझ्दैनन् । त्योभन्दा पनि सरकार कहाँ छ, कता भेटिन्छ ? यसमा वर्षौंदेखि अनभिज्ञ छन् सुदूरपश्चिमेलीहरू ।
चर्चा गरौँ, सिंहदरबारले कसरी सुदूरपश्चिमलाई हेरिरहेको छ त ! राजा महेन्द्रले कान्छो विकास क्षेत्रका रूपमा पाँचौँ विकास क्षेत्रको निर्माण गरेपछि आधुनिक नेपालमा सुदूरपश्चिम नक्साङ्कन भएको हो । त्योभन्दा अघिसम्म सुदूरपश्चिमलाई हेर्ने दृष्टिदोष नै थियो । सुदूरको माटो र त्यहाँका बासिन्दाप्रति सम्मानपूर्ण हेराइ थिएन । सुदूरपश्चेमीलाई कहिले पनि पहिलो दर्जाको नागरिकका रूपमा हेरिएन । परिणामतः सुदूरपश्चिमेलीमा पनि हीनता देखियो । उनीहरुले आफूलाई सिंहदबारसँग जोडेरभन्दा पनि फरक ढंगले देखाउन थाले । यसका पछिका विविध कारण छन् होला, तर मूल कारण सुदूरका नागरिकको सिंहदरबारसँग साइनोमा आएको दरार नै हो ।
जिन्दगी यति कठिन छ कि न समाउने हाँगा छ न त अडेस लगाएर बस्न धर्ती छ, बाँचेर जिन्दगी जिउनका लागि खानेकुरा केही छैन, मर्न मनले मानिराखेको छैन ।
अचेल पनि सुुदूरपश्चिममा सिंहदरबारको बलियो उपस्थिति देखिँदैन । केही प्रतिनिधि नेपाल राज्यकै नेतृत्वमा पुगे होलान् । कतिपय अहिले पनि राज्यका महत्त्वपूर्ण निकायमा छन् । स्थानीय तहमा पनि सिंहदरबारका मानिस काम गरिरहेका छन् । यी सबै सिंहदरबारका एजेन्ड–पात्र हुन् वा सिंहदरबारका वारिसवाला मनुवा हुन् । यिनले सुदूरपश्चिमका नागरिकको प्रतिनिधित्व गर्दैनन् । यिनले सुदूरपश्चिमप्रति भन्दा पनि सिंहदरबारप्रति वफादारिता देखाइरहेका छन् । उनैका आदेश मानेर उनकै सेवामा समर्पित रहन्छन् ।
जबसम्म आशा र भरोसा हुँदैन, तबसम्म विश्वासको वातावरण रहँदैन र अपनत्व पनि हुँदैन । सुदूरको नेपाल सरकारप्रति न आशा छ, न त भरोसा नै, केवल आक्रोश र दुखेसोमा मात्र छ । सिंहदरबारसँगको नातामा जहिले पनि शंका र भयमा टिकेको छ सुदूरपश्चिम । जिन्दगीका हरेक कठिन मोडमा सरकारको अनुभूति हुन सकेन । शिक्षा, स्वास्थ्य, रोजगारीका लागि भारतको चौकीदारी नै सबैभन्दा ठुलो अवसर बन्दै आयो । आफू बाँच्ने र परिवार पाल्ने आधार भारत बन्यो, अथवा जिन्दगी नै परदेशी बन्यो, अनि कसरी सिंहदरबारसँगको साइनो बलियो हुन्छ ?
नेपालमा आएको सबै व्यवस्थाले सुदूरका बासिन्दाको जीवनमा परिवर्तन ल्याउन सकेन । विकासका नाममा केही सडक तथा भवन निर्माण भए पनि जिन्दगीमा परिवर्तन आएन । घरको आर्थिक कारण हाइस्कुल पास नगरी बाल्यकालमै भारतमा गएर मजदुरी गर्नु यहाँका गरिब परिवारका लागि सामान्यजस्तै छ । शिक्षाभन्दा पनि पेट पाल्नु वा जीवन जिउनु महत्त्वपूर्ण भएकाले किशोरकिशोरीहरू मजदुरी रोजिरहेका हुन्छन् । सरकारको सबैका लागि शिक्षा भन्ने नारा नेपालबाट पारि भारतमा रहेका बालबालिकालाई गिज्याइरहेको हुन्छ । खेती–किसानी गर्नु, भारतमा गएर भारी बोक्नु र नेपालमै भोकै बस्नुको व्यथा नै उनीहरुको दैनिकी बनिरहेको छ ।
नेपाल सरकारले लिएको विकास नीतिमै खोट छ, हेराइमा समस्या छ । समान विकासको अवधारणा भनेको कमजोर र पछि पारिएका क्षेत्र, समुदाय वा अन्यमा बढी लगानी गरेर उनीहरूलाई राज्यको मूलधारमा ल्याउनु हो । विदेशीसँग सहयोग माग्दा सरकारले मधेस, सुदूरपश्चिम र कर्णालीलाई देखाउँछ तर विकास बजेट तथा कार्यक्रम भने अरुतिर तय गर्छ र यहाँ सामान्य निरन्तर बजेट कार्यक्रम तय गर्छ ।
लोकतान्त्रिक र संघीय सरकारले पनि पञ्चायत शैलीमा बजेट तथा कार्यक्रम तय गरिरहेको छ । त्यति मात्र होइन, हेर्ने दृष्टिकोण नै पञ्चायती छ । यही तरिकाले देश अगाडि बढ्ने हो भने सुदूरपश्चिमका नागरिक कहिले मूलधारमा आएर अन्य क्षेत्रका बासिन्दासरह हुन्छन् ! कहिले मूलप्रवाहीकरण हुन्छन् ? केन्द्र सरकारको नीतिमा विभेद, विकासमा उपेक्षा, हेराइ–बुझाइमा भ्रम छ । अनि कसरी सुदूरपश्चिमले सिंहदरबारसँग आशा गर्छ ? मूल प्रश्न यही हो ।
सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा शिक्षण अस्पतालको त कुरै नगरौँ, न कुनै सुविधासम्पन्न अस्पताल छ, न त कुनै गुणस्तरीय सुविधायुक्त क्याम्पस नै छ । बालबालिका पढ्ने स्कुल गाईभैँसी खर्कजस्ता छन् । पाठ्यपुस्तक नपुगी पढाइ सकिन्छ । विद्यालयको भौतिक संरचना पनि कमजोर भएकाले हिउँद वा गर्मीयाममा बालबालिकाले विभिन्न स्वास्थ्य समस्या झेलिरहेका छन् । दुर्गमबस्तीमा अहिले पनि पायक पर्ने स्थानमा स्कुल नै छैनन् ।
शिक्षाभन्दा पनि पेट पाल्नु वा जीवन जिउनु महत्त्वपूर्ण भएकाले किशोरकिशोरीहरू मजदुरी रोजिरहेका हुन्छन् । सरकारको सबैका लागि शिक्षा भन्ने नारा नेपालबाट पारि भारतमा रहेका बालबालिकालाई गिज्याइरहेको हुन्छ । खेती–किसानी गर्नु, भारतमा गएर भारी बोक्नु र नेपालमै भोकै बस्नुको व्यथा नै उनीहरुको दैनिकी बनिरहेको छ ।
किसानका दुःख उस्तै छन् । अधिकांशको खान पुग्ने खेतबारी छैन । अझ दलितहरूको त आफ्नो खेतबारी नै छैन । अरुले दिएको जग्गामा सानो झुपडीमा जिन्दगी बिताइरहेका छन् । किसानलाई उब्जनीले चार महिना खान पुग्दैन । किनेर खानालाई कमाइ छैन, सहज बजार पनि छैन । यसरी किसान आफ्नै खेतबारीमा निर्भर हुने अवस्था छैन । मल–बिउ अभावको कुरै नगरौँ ।
सुदूरपश्चिममा ठुला उद्योगको त कल्पनै गर्न सकिन्न । साना तथा मझौला उद्योग पनि छैन । जडीबुटी प्रचुरता रहेको यस क्षेत्रमा न कुनै उद्योग छ, न त भण्डारण नै छ । अधिकांश जडीबुटीको उपयोग हुन नसकेर जंगलमै कुहिन्छन् । बाँकी रहेको पनि पुर्विया ठेकदार आएर सस्तोमा उठाएर अरुतिर लान्छन् । काठ तथा पानी उद्योग तथा अरु उद्योगको सम्भावना भए पनि सरकारले प्राथमिकतामा राखेको छैन । उद्योग स्थापना हुन नसक्दा आय–आर्जन र रोजगारीमा परिर्वतन आउन सकेको छैन । जिल्लामा मूल सडक भए पनि अहिलेसम्म दुर्गम क्षेत्रका बासिन्दा यातायातको सेवाबाट वञ्चित छन् । नेपाल टेलिकम लगायत सञ्चारको सम्पर्क जोड्न नसकेको अवस्था छ । यस्ता यावत् समस्या छन् र पनि बुझ्ने र सुन्ने कसले ? समस्या यहीँनेर हो ।
सुदूरपश्चिमको सिंहदरबारसँग हीनता कहिले हटेन । सिंहरदबार कुनै दृष्टिकोणबाट हेर्दा पनि हाम्रो भएन । हामी पनि सिंहदरबारका भएनौँ । दुवैको एकअर्काप्रतिको सम्बन्ध बाध्यकारी मात्र हो । सुदूरपश्चिमका मान्छे किन काठमाडौँ आउँदैनन् ? किन बिरानो मान्छन् त ? उदाहरणका लागि— काठमाडौँमा कसैले घर कता भनेर सोध्यो र जवाफ सुदूरपश्चिम भन्यो भने भाषिक गिज्याइ सुरु हुन्छ । ए कर्णालीपारिको पो रहेछ भनेर मुख बङ्ग्याउन थालिहाल्छन् । यस्तै अरु पनि कैयौँ उदाहरण भेटाउन सकिन्छ ।
आजको मितिसम्म नेपाल सरकारले सुदूरपश्चिम चिन्न सकेन, बिरानोजस्तो व्यवहार गरिरहेको छ । सुदूरपश्चिमका लागि नेपाल नै नौलो भयो । बरु भारतका सहरमा ढुक्कसाथ कामका लागि जान खुसी हुन्छन् तर किन नेपालभित्र जान र काम गर्ने अप्ठेरो मान्छन् । किन भने नौलो ठाउँ लाग्छ । आफ्नै धर्ती नौलो लाग्ने र आफ्नै नागरिक पराई सम्झने अवस्था छ । सुदूरको भोगाइ र सरकारको बुझाइ–हेराइले नै समस्या सिर्जना गरिरहेको छ । विद्रोहका लागि तयार छ सुदूरपश्चिम ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण