बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
लिपुलेक विवाद

ओलीले चीनसमक्ष कुरा राखे, भारतसँग सक्लान् ?

मङ्गलबार, १७ भदौ २०८२, १७ : ००
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति समक्ष लिपुलेकको विषय उठाएको चर्चा भइरहेको छ।
  • पूर्व राजदूतका अनुसार प्रधानमन्त्री ओलीले भारत भ्रमणमा यो विषय उठाउने छैनन्।
  • नेपाल र भारतबीच लिपुलेकको विषयमा जारी विवाद र यसका कारणहरू उल्लेख गरिएको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकको विषयमा चीनका राष्ट्रपति सी चीनफिङसमक्ष उनकै भूमिमा कुरा राखे । जसको चर्चा यतिवेला देशभित्र मात्र होइन, बाहिर पनि छ । 

ओलीले लिपुलेकको विषय चीनमा त उठाए, तर आसन्न भारत भ्रमणका क्रममा के गर्लान् ? यो पनि आम चासो बनेको छ । 

एक जना पूर्वराजतको भनाइअनुसार ओलीले लिपुलेकको विषय भारत भ्रमणका क्रममा झिक्ने छैनन् । किनकि प्रधानमन्त्री ओलीले यस विषयलाई एजेन्डा बनाउने  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थाहा पाए उनको भारत भ्रमण नै रद्द हुन सक्ने उनको बुझाइ छ । भने, ‘लिपुलेकको विषयमा भारत कुरा गर्ने पक्षमै छैन, यदि नेपालका प्रधानमन्त्रीले लिपुलेकको विषयलाई एजेन्डा बनाउने वा ज्वाइन्ट स्टेटमेन्टमा राख्ने प्रस्ताव गर्नुभयो भने यो भ्रमण नै रद्द हुन सक्छ ।’

उनका अनुसार प्रधानमन्त्री ओलीले चीनमा पनि लिपुलेकको विषय प्रस्तावको रूपमा लगेका थिएनन्, केवल मिडिया खपतका लागि कुराकानीका क्रममा उठाएका थिए । ‘भारत भ्रमणका क्रममा पनि ओलीले मोदीसँग यही कुरा उठाए बेग्लै हुन्छ, तर एजेन्डाकै रूपमा भारतले स्वीकार भने गर्दैन,’ ती राजदूत तर्क गर्छन् । 

चिनफिङ र मोदीबिच भएको भेटघाटपछि एउटा संयुक्त वक्तव्यमा छ भनिएको छ – यस महिनाको सुरुमा दुई विशेष प्रतिनिधिहरूले गरेको वार्तामा भएका महत्त्वपूर्ण निर्णयहरूलाई स्वीकार गरियो, प्रयासलाई थप समर्थन गर्न सहमत भयौँ ।

यसअघि सन् २०२४ मा भारतीय सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएका वेला चीत–भारतबिच केही सहमति भएका थिए । पछिल्लो समय भदौ ३ गते चिनियाँ विदेश मन्त्री वाङ यी भारत भ्रमणमा हुँदा पनि लिपुलेकबारे सम्झौता भएको थियो । उक्त सम्झौतामा लिपुलेक हुँदै सीमा व्यापार गर्ने उल्लेख छ । 

त्यसप्रति नेपालले आपत्ति जनाएको थियो भने भारतले पनि नेपालको आपत्तिलाई खण्डन गरिसकेको छ । 

तर यो विषय यतिमा मात्र सीमित रहेन, ओलीले चिनफिङसामु लिपुलेकको विषय राखेपछि यो अलि गम्भीर बनेको चीनका लागि नेपालबाट पूर्वराजदूत टंक कार्की बताउँछन् । ‘यसमा भारत पनि सोच्न बाध्य हुन्छ, नेपालले जुन लेभलमा यो कुरा उठाएको छ, त्योभन्दा माथि अरु कुनै लेभल नै हुदैन,’ कार्की भन्छन्, ‘चीनमा कुरा उठिसकेपछि अब यसमा भारत पनि गम्भीर हुनुपर्छ ।’ 

तर नेपाल–भारत मामिलाका जानकार एवं जो इन्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिसका रिसर्चर डा.निहार नायक भने भारतसँग वार्ता गर्न सुरुमा नेपालले जारी गरेको चुच्चे नक्सा संशोधन हुनुपर्ने जिकिर गर्छन् । ‘यदि तयार भयो भने मात्र भारत डायलग गर्न तयार हुन्छजस्तो लाग्छ,’ नायकले भने । 

यसअघि लिपुलेकको विषयमा वार्ता र छलफल गर्न दुईपक्षीय विभिन्न समिति तथा आयोग गठन भएका थिए । ‘तर नेपालले त्यसको बेवास्ता गर्दै संविधान संशोधन गरी चुच्चे नक्सालाई त्यसमा समाधान गर्‍यो,’ नायक भन्छन्, ‘सायद भारतले त्यो गल्ती नगर्लाजस्तो लाग्छ ।’

प्रधानमन्त्री ओली आफ्नो कार्यकालमा लिपुलेक, कालापानी, लिम्पियाधुराप्रति विशेष झुकाव राखेका थिए । उनकै प्रयासस्वरूप यी भूभाग नेपालको नक्सामा समावेश गरिएको थियो । उक्त नक्सा संसद्बाट पारित भएर संविधानको एक हिस्सा नै बनेको थियो । जसमा भारतले निकै चित्त दुखाएको नायक बताउँछन् । 

‘लिपुलेक, कालापानी, लिम्पियाधुरा विवादित ठाउँ हो भने त्यसलाई त्यतिकै छाडेर समाधानका लागि प्रयास गर्नुपथ्र्यो,’ नायक सुझाव दिन्छन्, ‘तर विवादलाई झन चर्काउने काम प्रधानमन्त्री ओलीबाट भएको छ ।’
तर परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भने भारत कहिल्यै पनि यस विषयमा कुरा गर्न मानेन । दुई पक्षीय समिति तथा आयोगहरू बने पनि अधिकांशको बैठक नै नबसेका ती अधिकारी बताउँछन् । र बसेका केही बैठकमा पनि लिपुलेकको चर्चा नभएको उनको भनाइ छ । ‘यहाँसम्म कि लिपुलेकको विषयमा परराष्ट्र मन्त्रालयल पठाएको कुनै पनि कूटनीति नोटमा भारतले जवाफ दिएको छैन,’ ती अधिकारीले स्पष्ट पारे ।

नेकपा एमाले नेता एवं विदेश मामिलाका जानकार विष्णु रिजालका अनुसार प्रधानमन्त्रीको अबको भारत भ्रमणमा लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय उठ्नेछ । ‘यी विषयमा नेपालले आज मात्र होइन, वर्षौँदेखि कुरा उठाउँदै आएको हो, एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीकै नेतृत्वमा तत्कालीन सरकारलाई पटक–पटक ध्यानाकर्षण पनि गराएकै हो,’ रिजालले भने, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरालाई लिएर नेपाल कहिल्यै चुप बसको छैन ।’

अन्य प्रधानमन्त्री भएका वेला लिपुलेकलगायत विषयमा कमै कुरा उठे पनि नेपालले हरहमेशा त्यसमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको रिजाल बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप