बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तरकारीखेतीबाट वार्षिक तीन लाख बचत

बिहीबार, १९ भदौ २०८२, १५ : २७
बिहीबार, १९ भदौ २०८२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ नौखरीका किसान महादेव चौधरीले दुई दशकदेखि निरन्तर तरकारीखेतीमार्फत जीविकोपार्जन गर्दै आएका छन् । 

सामान्य लेखपढ गर्न पनि नगर्नुभएका चौधरी अहिले गाउँका एक सफल व्यावसायिक किसानका रूपमा परिचित छन् । कमैया प्रथा अन्त्य भएसँगै सरकारले पुनःस्थापनाका क्रममा उपलब्ध गराएको पाँच कठ्ठा जग्गामा उहाँले तरकारीखेती सुरु गरेका हुन् । 

पछि थप १० कठ्ठा जग्गा भाडामा लिएर खेती विस्तार गरेको चौधरीले बताए । अहिले उनको बारीमा लौका, फर्सी, काँक्रो, करेलालगायत मौसमी तरकारी उत्पादन भइरहेका छन् । मौसमी तथा र बेमौसमी दुवै किसिमका तरकारीखेती हुने उनको भनाइ छ ।

चौधरीले काउली, गोलभेँडा, भण्टा, खुर्सानी, आलु, बोडीलगायत खेती गरिरहेको बताउँदै तरकारीका बेर्ना पनि बिक्री गरी आम्दानी लिइरहेको उल्लेख गरे । 

“बाल्यकालमा जमिन्दारको बाख्रा र गोरु चराउन थालेँ, ठुला भएपछि कमैया बसेर हलो जोत्न थालेँ, विद्यालय कस्तो हुन्छ थाहै भएन”, उनले भने,“दातृ निकायले सञ्चालन गरेको कृषि तालिममा सहभागी हुने अवसर पाएपछि जीवनमा परिवर्तन आएको हो । तालिममा पाएको ज्ञानले तरकारीखेतीलाई व्यवस्थित रूपमा सुरु गरेको हुँ ।”

तरकारीखेतीबाट जीविकोपार्जन भइरहेको भन्दै उनले वार्षिक रु तीन लाख बचत हुने गरेको बताए ।  चौधरीले यहीँ आम्दानीले परिवारको सम्पूर्ण खर्च सञ्चालन भइरहेको बताए । उनले भने, “जीविकोपार्जनका लागि अरूको मुख ताक्नुपरेको छैन, खेतीकै आम्दानीबाट सहज रूपमा परिवार पाल्न सकिएको छ ।”

कमैया बस्दा विवाह गरेका चौधरीलाई परिवार पाल्ने ठुलो चुनौती थियो । तरकारीखेतीलाई आधार बनाएर उनले जीवनलाई नयाँ मार्ग दिए ।

“यसकै आम्दानीबाट पक्की घर निर्माण गरेका छौँ । छोराका लागि अटो खरिद गरेर दिएको छु । सोही अटोमार्फत बजारसम्म तरकारी ढुवानी गर्ने र भाडामा काम भइरहेको छ”, उनले भने ।

खेतीका लागि चौधरीले सरकारबाट अनुदानमा पावरटिलर प्राप्त गरेका छन् । सिँचाइ सुविधा बढाउन बोरिङ राखेको बताउँदै उनले यसले खेती उत्पादनमा सहयोग पुगेको धारणा राखे । 

“तरकारीखेतीमा मेहनत गरे पनि कहिलेकाहीँ भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ”, उनले भने, “भारतबाट सस्तो तरकारी आउँदा लागत पनि नउठ्ने गरी बेच्नुपर्ने अवस्था आउँछ” यसले किसानलाई निरुत्साहित बनाउने गरेको उनको दुखेसो छ । 

अर्ग्यानिक उत्पादनमा जोड दिएर बजारमा छुट्टै पहिचान कायम गर्ने लक्ष्य बनाएको चौधरीले जानकारी दिए । उनलाई अहिले गाउँमा ‘मिहिनेती किसान’ भनेर चिन्छन् । उनी खेतीमा मात्रै सीमित नभई गाउँलेलाई आधुनिक कृषि पद्धति अपनाउन प्रेरित पनि गर्दै आएका छन् । 

स्थानीय किसान विपदराम चौधरीले भने,“महादेवले गरेको मेहनत हामी सबैका लागि प्रेरणा हो । खेतीबाटै जीवन धान्न सकिन्छ भन्ने प्रेरणा उहाँबाटै लिएर हामी पनि तरकारीखेतीमा आबद्ध भएका छौँ ।”

दुई दशकअघि जमिन्दारको गोरु चराउने काममा सीमित रहेका चौधरी आज आफ्नो मेहनत, लगनशीलता र निरन्तरताले सफल व्यावसायिक किसान बनेका स्थानीय जगरनाथ चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप