बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी प्रदर्शन हिंसात्मक

‘जेनजी’ प्रदर्शनमा सरकारको दमन, कहाँ के भयो ?

सोमबार, २३ भदौ २०८२, १७ : ४८
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ पुस्ताले गरेको विरोध प्रदर्शनमाथि सरकारले दमन गर्दा हिंसात्मक भएको छ । 

‘जेनजी’ पुस्ताले सोमबार राजधानी काठमाडौँ लगायत देशभरका गरेको प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा हिंसात्मक भएको हो । 

बिहान माइतीघर मण्डलामा स्वतःस्फूर्त जम्मा भएका ‘जेनजी’ प्रदर्शनकारी निषेधित क्षेत्र तोडेर संसद् भवन नयाँ बानेश्वरमा प्रवेश गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा १५ जनाको ज्यान गएको प्रहरीले स्रोतले बतायो । प्रहरीका अनुसार करिब एक भन्दा बढी घाइते भएका छन् । यीमध्ये २२ जना गम्भीर घाइते भएका छन् ।

जेनजीको प्रदर्शनले उग्र रूप लिएपछि बानेश्वर आसपास, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार, राष्ट्रपतिको कार्यालय शीतल निवास लगायत क्षेत्रमामा कफ्र्यु अहिले आदेश जारी गरेको छ ।

देशभर कहाँ के भयो ?

मोरङ

कोशी प्रदेशको राजधानी विराटनगरमा जेनजी पुस्ताका प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् । 

दिउँसो उनीहरूले प्रहरीले लगाएको प्रदर्शन निषेधको घेरालाई भत्काएर प्रदेशसभा भवनअगाडि पुगेका हुन् । प्रदर्शनकारी युवाहरूले सरकारविरुद्ध चर्का नाराबाजी गरे ।

चितवन

जेनजी प्रदर्शनकारीका कारण चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका थिए । भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरेका थिए ।

पोखरा

‘जेनजी’ आन्दोलन चर्किँदै गएपछि कास्कीको पोखरामा स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कफ्र्यु  आदेश जारी गरेकी हुन् । 

जेनजीको प्रदर्शनका क्रममा ३० जना घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुर

जेनजी पुस्ताले मकवानपुरको हेटौँडामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा विद्यालय र कलेजका विद्यार्थी औपचारिक पोसाकमै प्रदर्शनमा उत्रिए । हेटौँडाको उपनगरपालिका चोक, हुप्रचौरबाट निस्किएको प्रदर्शन बुद्धचोकमा आएको थियो ।

झापा

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीका अनुसार दमक चोकबाट जुलुससहित दमक नगरपालिका अगाडि पुगेका प्रदर्शनकारीले ओलीको पुत्ला दहन गर्नुका साथै नगरपालिकाको गेट तोडफोड गर्न लाग्दा स्थिति तनावग्रस्त बनेको थियो । घाइतेहरू अहिले विएण्सी अस्पतालमा उपचार भइरहेको छ ।  

सुनसरी

‘जेनजी’ प्रभाव पर्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । 

तोकिएको चार किल्लाभित्र कसैलाई पनि हिँडडुल गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ । इटहरी उपमहानगरपालिका अगाडि भएको प्रदर्शनको क्रममा प्रहरीले हवाई फायर गर्दा ढुंगामुडा भएको थियो ।

सुर्खेत

‘जेनजी’ प्रदर्शनकारीले कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध प्रदर्शन घण्टाघर अगाडि गएर कोष सभामा परिणत भएको थियो । प्रदर्शन शान्तिपूर्ण भएको स्थानीय प्रशासनले जनाएको छ ।

पर्सा

जेनजी पुस्ताको प्रदर्शनको प्रभाव पर्साको वीरगञ्जमा पनि परेको छ ।  युवाहरूले भ्रष्टहरूलाई जबाफदेही बनाउने,सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रदर्शन गरेको बताएका छन् ।

रुपन्देही

जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ‘क’ ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन्।

कर्फ्युको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप