संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्छ: डा कोइराला
सारांश
- डा. शशाङ्क कोइरालाले युवा पुस्ताको आवाजलाई समर्थन गर्दै संविधानमार्फत माग सम्बोधन गर्नुपर्ने बताए।
- उनले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
- कोइरालाले राजनीतिक रिक्तता हटाउन सहमति र संवैधानिक समाधान खोज्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले संविधानमार्फत युवाले उठाएका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
डा कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गरी ‘भ्रष्टाचार र बेथिति’ विरुद्ध जेनजी पुस्ताका युवाले उठाएको आवाजप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए । “जहानिया राणा शासनदेखि नै नेपालको लोकतन्त्रका लागि सङ्घर्षरत परिवार र नेपाली काँग्रेसको सदस्यको नाताले, म हरेक आन्दोलनको जायज र न्यायोचित माग लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार समाधान हुनुपर्नेमा दृढ विश्वास राख्दछु”, उनले भने ।
डा कोइरालाले भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सबैको आत्मालाई श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका पार्टीका नेता तथा कार्यकर्ताहरू, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
पूर्वमहामन्त्री डा कोइरालाले सरकारी, सार्वजनिक सञ्चार गृह, उद्योग, व्यवसाय तथा कलकारखाना साथै निजी सम्पत्ति र भवनहरूमा भएको तोडफोड, लुटपाट र व्यक्तिगत आक्रमणजस्ता घटनाको विरोध गरेका छन् ।
उनले आन्दोलनपश्चात् मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरिनुपर्ने आवश्यक रहेकाले यसका लागि देशभित्रका सबै पक्षबिच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता भएको बताए । यसतर्फ जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।
उनले जेनजीको ‘भ्रष्टाचार र बेथिति’ सम्बन्धी न्यायोचित मागहरू वर्तमान संविधानभित्रै रहेर समाधान गर्नुपर्ने बताए । डा कोइरालाले ६५ वर्ष लामो राजनीतिक सङ्घर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने उल्लेख गरे ।
संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलको पहल सराहनीय भएको र उक्त पहलमा सबैको साथ र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बैठकका २२ निर्णय, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण