बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

दसैँको मुखमा व्यवसाय चौपट भयो : व्यवसायी

शुक्रबार, २७ भदौ २०८२, १४ : २१
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • व्यवसायीहरू जेनजी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा उद्योग व्यवसाय ध्वस्त भएको भन्दै चिन्तित बनेका छन्।
  • आन्दोलनका क्रममा लुटिएका तथा आगजनीमा परेका सामानको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ।
  • व्यवसायीहरूले जेनजी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन र संविधान पुनरावलोकनको माग गरेका छन्।

काठमाडौँ । जेनजी आन्दोलनमा राजनीतिक घुसपैठ हुँदा मुलुकको उद्योग तथा व्यवसाय ध्वस्त भएको भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जेनजी पुस्ताको माग जायज भए पनि आन्दोलनमा राजनीतिक दलहरूको घुसपैठले निजी व्यवसायीहरूले ठुलो क्षति व्यहोर्नुपरेको भन्दै व्यवसायीहरू चिन्तित बनेका हुन् । 

आन्दोलनको क्रममा लुटिएका तथा आगजनीमा परेका सामानहरूको क्षतिपूर्ति कसले दिने भन्ने चिन्ता व्यवसायीमा छ । न्युरोडका कपडा व्यवसायीहरूले दसैँको मुखमा व्यवसाय सखाप भएको तथा नयाँ सामान ल्याउन भन्सारले नदिने भन्दै आफूहरू निकै पीडामा परेको बताए । 

राज्य संरचना समेत ध्वस्त भएको कारण सरकारलाई भन्ने अवस्था समेत नरहेको कारण आफूहरूमा अन्योल बढेको एक व्यवसायीको भनाइ छ ।  उनले भने, ‘जेनजीहरुको भ्रष्टाचार नियन्त्रण गर्ने मागहरू जायज थियो । तर त्यसमा राजनीतिक दलहरूको घुसपैठ धेरै भए । त्यस कारण हामी व्यवसायीहरूलाई ठुलै धक्का परेको छ । अब यो सरकारले गर्छ कि कसले गर्छ हामीलाई बुझिदिनुपर्छ । दसैँ नजिक आइसकेको छ । यो समयमा हामी एकदमै पीडामा छौँ । बाहिरबाट ल्याउन लागेको सामान पनि नाकामा बगाइदियो । अब अहिले सामान ल्याउनको लागि भन्सार बन्द छ । राज्यको संरचना पनि ध्वस्त छ ।’

जेनजी पुस्ताको मागअनुसार अन्तरिम सरकार गठन गरेर मुलुकलाई दिशामा अगाडि लैजानुपर्ने उनीहरूको माग छ । संविधानको आवश्यक पुनरावलोकन गरेर प्रत्यक्ष कार्यकारीमा जाने व्यवस्था गर्नुपर्ने अर्का कपडा व्यवसायीको माग छ । 

उनले भने, ‘अहिले सर्वसाधारणले पनि दुःख पाएको अवस्था छ । सङ्कटा क्लबका साथीहरूको कारण हाम्रो त्यति धेरै क्षति हुन पाएन । अहिले जेनजीहरुलाई मेरो सुझाव छ, निर्णय छिटो लिनुस् । देशलाई अगाडि बढाउनतिर लाग्नुस् । संविधानअनुसार अघि बढ्दा प्रत्यक्ष कार्यकारीको विषय कहीँ पनि उल्लेख गरिएको छैन । त्यो पनि विचार गर्नुहोस् । समयमै अन्तरिम सरकार बन्यो भने हामी व्यवसायी र मध्यम परिवारका मानिसहरूलाई राहत मिल्थ्यो कि भन्ने हो त्यत्ति हो ।’ 

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलन करिब ४८ घण्टा चल्दा करिब ३ दर्जन व्यक्तिको मृत्यु तथा सिंहदरबार लगायत राज्यका भौतिक संरचनामा व्यापक क्षति पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप