शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका घाइते भन्छन्- नयाँ नेतृत्व पनि भ्रष्ट निस्कियो भने फेरि गोली थाप्न तयार छु

आइतबार, २९ भदौ २०८२, ११ : ५६
आइतबार, २९ भदौ २०८२

सारांश

  • जेनजीहरूको आन्दोलनले नयाँ मोड लिएको छ र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नयाँ प्रधानमन्त्री बनेकी छिन्।
  • आन्दोलनमा घाइते भएका व्यक्तिहरूले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै नयाँ नेतृत्वप्रति शंका व्यक्त गरे, र ५१ जनाको मृत्यु भएको थियो।
  • आन्दोलनकारीहरूले सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारको विरोध गरेका थिए, जसमा घाइतेहरूले आफ्नो अनुभव सुनाए।

काठमाडौँ ।  जेनजीहरूको आन्दोलनले नयाँ मोड लिएको छ । देशले पूर्वप्रधानन्यायाधीस सुशीला कार्की नयाँ प्रधानमन्त्रीको रूपमा पाएको छ । यस आन्दालेनमा हजारौँ घाइते भएका छन् । देशका विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार भइरहेको छ ।

‘भ्रष्ट प्रधानमन्त्रीलाई हटाउन मेरो दुबै घुँडाले दुई वटा गोली खानुपर्याे । नयाँ नेतृत्व पनि भ्रष्ट निक्लिए भने म छातीमा गोली थाप्न तयार छुँ,’ आन्दोलनका क्रममा घाइते भएका १९ वर्षीय सुभाष दाहालले भने । आन्दोलनको क्रममा भदौ २४ गते संसद् भवनबाहिर दाहाललाई गोली लागेको थियो । काठमाडौँका निजामती अस्पताल र ट्रमा सेन्टरमा  भर्ना भएर उपचाररत दर्जनौँ विद्यार्थीमध्ये दाहाल पनि एक हुन् ।

पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिएको एक दिनपछि उनले सो प्रतिक्रिया आएको हो । यस आन्दोलनमा ५१ जनाको मृत्यु भएको थियो भने हजारौँ घाइते भएका छन् । कार्कीले यतिबेला अन्तरिम सरकारको नेतृत्व गरिरहेकी छिन् । यो सरकारले फागुन २१ गते निर्वाचन गराउने जिम्मा पाएको छ । शनिबार सुशीला कार्कीले आन्दोलनमा घाइते भएका व्यक्ति र तिनका परिवारलाई भेटेकी थिइन् । 

आन्दोलनका अर्का घाइते हुन् आदित्य रावल । गोलीका कारण उनको खुट्टा, काँध र पेटमा चोट लागेको छ । निजामती अस्पतालमा उपचाररत कयौँ मध्ये उनी एक हुन् । रावल डिजिटल मार्केटिङ एजेन्टको रूपमा काम गर्थे । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले आर्थिक रूपमा उनलाई निकै गम्भीर असर पर्थ्यो ।

‘कुनै पनि समूहसँग मेरो कुनै सम्बन्ध थिएन । आफ्नो घरपरिवारका लागि  पैसा कमाउन म डिजिटल फिल्डमा काम गर्थे । न त म विद्यार्थी हुँ । तर म जेन्जी पुस्ताकै हुँ, जो नेपालमा परिवर्तन होस् भन्ने चाहन्छ’ रावलले भने । आफ्नै स्वविवेकले परिवर्तनका लागि भनेर आन्दोलनमा गएको पनि उनले बताए । संसद् भवनभित्र पसेर केही मान्छेले तोडफोड गर्लान् भनेर कसैलाई पनि थाहा नभएको पनि उनले बताए ।  

संसद् भवनभित्र ढुङ्गा हानाहान हुन १०–१५ मिनेटअघि एउटा हुल संसद् भवनभित्र घुस्न खोज्यो । अनि प्रहरीले गोली चलाउन थाले । यसक्रममा गोली लागेर घाइते भएका तीन जनालाई मोटरसाइकलमा राखेर अस्पतालमा पुर्‍याउन आफूले मद्दत गरेको पनि उनले बताए । रावल भने, ‘सुरुमा प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गरेको थियो । चारैतिर होहल्ला र रोई कराइ सुनिन्थ्यो । मेरो आसपासका मानिसहरू हाँसझैँ ढलिरहेका  थिए । कति जनालाई गोली लाग्यो भन्ने मलाई थाहा छैन । मलाई एउटा कुरा मात्रै याद छ कि मेरो पेटमा असह्य पीडा भयो अनि म बेहोस भए । म अस्पतालमा ब्यूझिँए र मलाई तीन वटा गोली लागेको बताइयो ।’  

४२ वर्षका रमेश परिहार व्यावसायिक ट्रिपमा काठमाडौँमा थिए । यसै क्रममा उनले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको बारेमा सुने ।

‘मलाई कुनै पनि राजनीतिक दलले त्यहाँ जान भनेका होइनन् । मैले आन्दोलन देखे र त्यहाँ गएँ । समूहभित्र राजनीतिक रूपमा प्रेरित तत्त्वहरू पनि थिए जसले संसद् भवनमा आगो लगाइदिए । तर ९९ प्रतिशत प्रदर्शनकारीहरू निर्दोष नागरिक थिए भन्नेमा म ढुक्क छु, जो नेपालमा भएका भ्रष्टाचारबाट आजित भएका थिए,’ चितवनका बासिन्दा परिहारले भने । 

आन्दोलनको क्रममा आफ्नो खुट्टामा चोट लागेको समेत उनले बताए । ‘मैले देशका लागि मेरो देब्रे खुट्टा  दिएँ । मेरो यो बलिदान व्यर्थ जाओस् भन्ने म चाहँदिन । हाम्रा युवाहरूलाई यसैगरी सडकमा आउन कहिल्यै पनि बाध्य पारिनुहुन्न । नेपालमा अहिले आएको परिवर्तन वास्तविक होस् भनेर म प्रार्थना गर्छु’ अझ अगाडि उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप