भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
सारांश
- भरतपुर महानगरपालिकामा प्रदर्शनका क्रममा रु दुई अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
- महानगरपालिकाका कार्यालय र वडा कार्यालयमा आगजनी तथा तोडफोड हुँदा ठूलो मात्रामा क्षति पुगेको छ।
- प्रदर्शनकारीले महानगर प्रमुख र उपप्रमुखको घरमा पनि क्षति पुर्याएका छन्, तर अत्यावश्यक सेवाहरू पुनः सुरु गर्ने तयारी छ।
चितवन । जेनजी प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकामा रु दुई अर्बभन्दा बढीको क्षति भएको आकलन गरिएको छ । यही भदौ २४ गते महानगर कार्यालय र वडा कार्यालयमा आक्रमण गरिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिँदै प्रारम्भिक रुपमा रु दुई अर्बभन्दा बढीको क्षति आकलन गरिएको छ । प्रदर्शनका क्रममा भरतपुर महानगरपालिकाको कार्यालय आगलागीबाट पूर्णरुपमा क्षतिग्रस्त भएको छ । महानगरको स्वास्थ्य र कृषि कार्यालयमा सामान्य क्षति पुगेको छ ।
महानगरपालिकाका २९ मध्ये २० वटा वडामा क्षति पुगेको छ । वडा नं. २, ९, ११, १२, २०, २५, २७, २८ र २९ बाहेकका कतिपय वडामा पूर्ण रुपमा क्षति पुगेको छ भने कतिपयमा आंशिक क्षति भएको छ ।
पौडेलका अनुसार २६ वटा गाडी, पाँच वटा मोटरसाइकल र एउटा स्कुटर जलेर नष्ट भएका छन् । जलेका गाडीमध्ये दुई वटा दमकल, एउटा ग्रेडर, दुई वटा कम्प्याक्टर, एउटा ब्रुमर, पानी बोक्ने गाडी एक र सेफ्टी ट्यांकी सफाई गाडी एउटा रहेका छन् ।
महानगरपालिकाका गाडी मध्ये प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी बाहिर राखिएकाले सुरक्षित रहेका छन् । त्यस्तै दुईवटा जेसिवि, एउटा कम्प्याक्टर, एउटा दमकल र एउटा ट्याक्टर सुरक्षित रहेको उनले जानकारी दिए ।
महानगरपालिकाका वरिष्ठ शाखा अधिकृत झलककुमार श्रेष्ठका अनुसार स्टोरमा रहेका के कति सामान जलेका छन् भन्ने बारेमा तथ्याङ्क लिने काम भइरहेको छ । कार्यालयमा प्रयोग हुने फर्निचर, कम्युटर, टेलिभिजन, इन्भर्टर, ब्याट्री, कागजपत्र लगायतका सामग्री जलेर नष्ट भएका छन् । उनका अनुसार महानगरवासीलाई वितरणका लागि ल्याइएको दुई हजार थान विद्युतीय चुल्हो जलेर र चोरी भएका छन् ।
यसका अतिरिक्त अन्य सामग्रीहरु समेत चोरी भएका छन् । महानगरपालिका जलाउने र तोडफोड गर्ने समूहले महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीको घर समेत जलाएर पूर्णरुपमा क्षति पुर्याएका छन् । यस्तै महानगरपालिकाका विज्ञ सल्लाहकार सुरेशचन्द्र अधिकारीको घर जलाउने र लुटपाट भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले सेवाग्राहीहरुका सिफारिस र अत्यावश्यक काम आजैबाट गर्न लागिएको बताए । जे सकिन्छ ती सेवाहरु दिन थालेको उनले बताए । क्षतिको मूल्याङ्कन गरेर मर्मत थालिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण