मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

कर्णालीका मुख्यमन्त्रीले भने– नयाँ पुस्ताले विश्वास गर्ने गरी काम गरौँ

आइतबार, २९ भदौ २०८२, १८ : ४९
आइतबार, २९ भदौ २०८२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलन अघि सत्तामा रहेकाहरूबाट भएका कमी–कमजोरीबारे आत्मसमीक्षा गरेका छन् ।

आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनपछि विकसित परिस्थितिमा विचलित नभईकन काम गर्नुपर्नेमा जोड दिए ।

उनले आफू व्यक्तिगत रूपमा कसैप्रति पूर्वाग्रही नभएको र निष्पक्षताका साथ विचार निर्माण गर्ने पनि बताए । ‘नयाँ पुस्ताले पनि विश्वास गर्ने गरी’ सबैले आफ्नो आचरण र व्यवहारका आधारमा अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

पार्टीहरू पुराना भए पनि तिनमा नयाँ विचारहरू आउने र त्यसैका आधारमा देश अगाडि बढ्ने मुख्यमन्त्री कँडेलको विश्वास छ । उनले विकास र निर्माणका साथसाथै जनचेतना जगाउने कार्यमा पनि लाग्न आवश्यक रहेको बताए ।

कँडेलका अनुसार प्रदेशका दुई महत्त्वपूर्ण संरचना प्रदेश सभा र कोष तथा लेखा नियन्त्रक कार्यालय पूर्ण रूपमा ध्वस्त भएका छन् । यी संरचनाको पुनर्व्यवस्थापन र पुनर्संचालन तत्काल गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

यी कार्यालयहरूमा कागजपत्र नष्ट हुनका साथै कर्मचारीहरूका लागि बस्ने ठाउँको समेत अभाव रहेको मुख्यमन्त्री कँडेलले बताए । त्यसका लागि तत्काल योजना बनाएर अगाडि बढ्न उनले प्रमुख सचिवलाई निर्देशन दिएको जनाए ।

आन्दोलनलाई देखाएर बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न कर्मचारीलाई मुख्यमन्त्री कँडेलले सचेत गराए । उनले थपे, ‘एक हप्ता प्रभावित भए पनि अब यसलाई देखाएर बजेट कार्यान्वयनको कुरामा कुनै पनि ढिलासुस्ती गर्न पाइँदैन ।’

उनले मन्त्री तथा सचिवहरूलाई बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिए । प्रदेश सरकारका बारेमा गरिने नकारात्मक टिप्पणीलाई अस्वीकार गर्दै उनले जिम्मेवारीमा रहेसम्म इमानदार भएर काम गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री कँडेलले नेपाली राजनीतिमा प्रमुख दलहरूको भूमिकालाई पनि जोड दिए । उनले एमाले, नेपाली कांग्रेस र माओवादीजस्ता दलहरूले नै सचेत जनमतको उल्लेखनीय हिस्साको प्रतिनिधित्व गर्ने बताए ।

यिनै पार्टीहरू बलियो हुँदा समाज बलियो हुने र कमजोर हुँदा समाज पनि कमजोर हुने उनको तर्क छ ।

उनले समाजमा ‘प्रतिशोध वाला’ प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरे । माओवादी द्वन्द्वकालमा भएको भौतिक विनाशभन्दा पनि अहिलेको अवधिमा अभिलेख र रेकर्डका हिसाबले ‘अपुरणीय क्षति पुर्‍याइएको’ उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप