शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आन्दोलपछिको दृश्य

जब मुख्यमन्त्री कँडेललाई अँगालो हाल्दै ९० वर्षीय बुबा रोए...

आइतबार, २९ भदौ २०८२, २१ : ००
आइतबार, २९ भदौ २०८२

सुर्खेत । गत मंगलबार ‘जेनजी आन्दोलन’का क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानमा रहेको निजी निवास र इत्राम क्षेत्रमा रहेको सरकारी निवास गरी दुवैमा आगजनी भयो । मुख्यमन्त्री कँडेलले शनिबार र आइतबार ध्वस्त भएका संरचनाहरूको अनुगमन गरे ।

सरकारी निवासको क्षतिको मूल्यांकन गर्ने क्रममा मुख्यमन्त्री कँडेल आइतबार आफ्नो निजी निवासमा पुगे, जहाँ उनका ९० वर्षीय बुबा मणिराम कँडेल बस्दै आएका थिए । आगजनीको दिन संयोगले केही कामले बाहिर निस्किएकाले बुबा सुरक्षित थिए ।

मुख्यमन्त्री कँडेल ध्वस्त भएको आफ्नो घरको आँगनमा पुग्दा उनका पिता मणिरामले छोरालाई अँगालो हालेर धरधरी रोए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा फैलिएको छ । बुबा मणिरामसँगै मुख्यमन्त्रीकी छोरी (जो उनकी स्वकीय पनि हुन्) पनि सँगै रोइन् ।

मुख्यमन्त्री कँडेलले आफ्ना वृद्ध बुबालाई ढाडस दिँदै भने, ‘बुबा, तपाईंको छोराले गल्ती गरेको छैन, कहिलेकाहीँ राम्रो गर्दागर्दै पनि यस्तो हुन्छ ।’

जेनजी आन्दोलनकारीहरूले प्रदेश सभाको भवन जलाइसकेपछि ‘मुख्यमन्त्रीको निवास पनि जलाउनुपर्छ’ भन्दै कँडेलको निजी निवासतर्फ लागेका थिए । मुख्यमन्त्री कँडेलका बुबा केही कामको सिलसिलामा बाहिर निस्किएकाले उनी सुरक्षित रहे ।

jaleko-ghar

पत्रकार सम्मेलनमै भावुक बने

अनुगमनपश्चात् आइतबार दिउँसो कँडेलले पत्रकार सम्मेलन आयोजना गरे । यस क्रममा उनले आफ्नो निजी निवासमा भएको क्षतिको विषय उठाए ।

जलेर खरानी भएको आफ्नो घरको अनुगमन र बुबासँगको भेटपछि उनले उनले भने, ‘२४ गते अज्ञात समूहले मेरो घर तोडफोड, आगजनी र लुटपाट गरेकाले आवश्यक प्रक्रिया पूरा गरी क्षतिको मूल्याङ्कन र कारबाहीका लागि अनुरोध गर्दै व्यक्तिगत रूपमा निवेदन दर्ता गर्दैछु ।’

घर आफ्नै नाममा रहेकाले आफूले नै निवेदन दर्ता गर्न लाएको उनले सुनाए ।

मुख्यमन्त्री कँडेलले आफू व्यक्तिगत रूपमा पनि न्यायको खोजीमा सक्रिय रहने बताए । यस घटनालाई राजनीतीकरण नगरी सत्यतथ्यमा आधारित भएर छानबिन हुनुपर्नेमा उनले जोड दिए ।

उनले जनप्रतिनिधिहरूको निजी घरमा आक्रमण भएको जिकिर गरे । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, उपमेयर नीलकण्ठ खनालको घरमा समेत क्षति भएको उनले बताए ।

कपासे गएर बसे रातभर

आन्दोलनको दिन अर्थात् २४ गते मुख्यमन्त्री कँडेलले आफू वीरेन्द्रनगरको उत्तरमा पर्ने कपासेमा गएर बसेको सुनाए । सुरुमा आफू कतै जान तयार नभएको तर सुरक्षाकर्मीहरूले ‘तपाईं जानुपर्छ’ भनेर जोड दिएपछि आफू सरकारी निवास छाडेर कपासे गएको उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले थपे, ‘म एकसरो लुगा लिएर निस्किएको मान्छे हो, मसँग पर्याप्त समय थियो । यत्तिको सेक्युरिटीको बिचमा यो तहसम्मको स्थिति आउँदैन होला भन्ने मलाई विश्वास थियो ।’

कँडेल २४ गते राति कपासेमै बसे । भोलिपल्ट मात्रै उनी वीरेन्द्रनगर फर्किएका थिए ।

karnali-aaglagi

जेनजीका आन्दोलनकर्मीहरू भने २४ गते बेलुकातिर मुख्यमन्त्रीसहित ठुला नेताहरू वीरेन्द्रनगरकै शुभ होटलमा रहेको भन्दै साँझपख त्यहाँ पुगेका थिए । तर, त्यहाँ कुनै नेता नभेटिएपछि उनीहरू फर्किएका थिए ।

सरकारी र निजी दुवै निवास जलेर ध्वस्त भएपछि मुख्यमन्त्री कँडेल अहिले सरकारी निवासकै आडमा रहेको एउटा सानो सरकारी घरमा बस्दै आएका छन् ।

उनले विध्वंश मच्चाउन सहज हुने तर निर्माण गर्न निकै कठिन हुने बताए । उनले भने, ‘हामी सबैको बल–बुद्धि अब भत्किएका संरचना बनाउनेतिर लगाऔँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप