शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो ६ युवा*

‘सहिदका सपना खेर जानु हुँदैन’
सोमबार, ३० भदौ २०८२, १८ : ००
सोमबार, ३० भदौ २०८२

सारांश

  • देशमा व्याप्त भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्यको माग गर्दै जेनजी आन्दोलन सुरु भयो, जसमा सुदूरपश्चिमका सात जनाको मृत्यु भयो।
  • आन्दोलनमा ज्यान गुमाउने युवाहरू देशको भविष्यको चिन्ता बोकेर होमिएका थिए, जसमध्ये केही विद्यार्थी, केही विदेशिने तयारीमा थिए भने केही प्रहरी थिए।
  • आन्दोलनकारीहरूको मृत्युपछि, नयाँ सरकार गठन र चुनावको मिति घोषणा भएको छ, जसमा जेनजी समूहले सहिदहरूको सपना पूरा गर्न आह्वान गरेको छ।

धनगढी । देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता अन्त्यको माग गर्दै उठेको जेनजी आन्दोलनले सिङ्गो देशलाई तरङ्गित बनायो । यो आन्दोलनपछि देशमा नयाँ परिवर्तन देखिएको छ ।

आफ्नो करिअरको चिन्ता गर्नुपर्ने उमेरै युवाहरू देशमा बढ्दो भ्रष्टाचार बेथितिका कारण देशकै भविष्यको चिन्ता बोकेर आन्दोलनमा होमिनु परेको थियो ।

आन्दोलनका क्रममा सुदूरपश्चिमका ६* युवाले प्राण उत्सर्ग गरेका छन् । यसरी ज्यान गुमाउनेहरूमा ५ जना आन्दोलनकारी र एक जना प्रहरी छन् । कोही पढाइको सिँढी चढ्दै थिए । कोही विदेश गएर परिवारको पेट पाल्ने अन्तिम तयारीमा थिए । कोही देशको सेवामै समर्पित थिए । आन्दोलनको भिड, अश्रुग्याँसको धुवाँ, लाठी र गोलीको वर्षाबिच उनीहरूले देखेका सपनाहरू पनि छिन्नभिन्न भए । उनीहरूको निधनपछि सात परिवारको आशाको दियो सधैँका लागि निभेको छ ।

  • आन्दोलन ज्यान गुमाउनेहरू को हुन् ?

१. भीम बहादुर धामी (३०), बझाङ

दुर्गाथली गाउँपालिका–१ का धामी काठमाडौँमा डेरा गरी बस्दै आएका थिए । राजधानीको महँगीमा संघर्ष गर्दै सानोतिनो काम गरेर गुजारा चलाइरहेका उनी देशको अवस्था सुधारिए आफ्नै गाउँ फर्किने सपना देख्थे । एक वर्षअघि उनको विवाह भएको थियो ।

धामीलाई हालैमात्र पुत्र लाभ भएको थियो । काठमाडौँको कीर्तिपुरमा आफैँ गाई पालन गरेर डेरी सञ्चालन गर्दै परिवारसँगै बस्दै आएका उनी आन्दोलनमा गोली लागेर सधैँका लागि ढले ।

२. सुवास बोहरा (२३), बझाङ

खप्तड छान्ना गाउँपालिकाका सुवास जापानी भाषा सिक्दै थिए । त्यहाँ गएर पसिना बगाएर पैसा कमाउने र आफ्नो परिवारलाई सुख दिने उनको सपना थियो । काठमाडौँमा उनीसँगै उनका भाइ पनि बस्दै आएका थिए । भाइ कक्षा ९ मा पढ्छन् ।

सुवासका बुवा पहिले नै बेपत्ता भएका थिए भने आमा भारतको बैंगलोरमा मजदुरी गरेर छोराहरूको पढाइ खर्च जुटाइरहेकी थिइन् । सुवासको मृत्युले त्यो दुःखमा बाँचिरहेकी आमा र सानो भाइको बाँच्ने आधार नै भत्काइदिएको छ ।

३. अनोज बुढा (२३), बाजुरा

बाजुराको दुर्गम स्वामीकार्तिक खापर गाउँपालिका–२, कोल्टीबाट ठुला सपना बोकेर काठमाडौँ पुगेका अनोज प्लस टु पढ्दै थिए । आफन्तको घरमा बसेर पढ्दै गर्दा उनले देशको राजनीतिलाई नजिकबाट नियालिरहेका थिए । आन्दोलनको पहिलो दिनदेखि नै सम्पर्कविहीन भएका उनको खोजीमा भौँतारिएका परिवारले अन्त्यमा उनको मृत शरीर अस्पतालमा भेट्टाए ।

४. गौरव जोशी (२६), कैलाली (धनगढी)

गोली लाग्नुभन्दा अगाडि गौरव जोशीले दिएको अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ । उनले भनेका थिए, ‘यो आज एकदिने आन्दोलन होइन, जहिलेसम्म हाम्रो यो माग पूरा हुँदैन, हामी सडकमा आउँछौँ । हाम्रो आफ्नो आवाज उठाउँछौँ । यो जो–जो साथीहरूलाई घाइते गरेको छ, त्यो कृपया बन्द गरियोस् । केपी शर्मा ओलीलाई म आग्रह गर्न चाहन्छु, यस्तो पावर सही युज गर्न पाउँदैन । इन्टरनेसनल ल (कानुन)मा पनि छैन । स्टुडेन्टलाई गोली हान्ने ल छैन अहिलेसम्म ।’

धनगढी उपमहानगरपालिका–१ का गौरवको जापान जाने तयारी लगभग पूरा भइसकेको थियो । देशमा भविष्य नदेखेपछि बिदेसिन बाध्य परिस्थितिमा पुगेका उनी परिवर्तनको झिल्को देखेर आन्दोलनमा सामेल भएका थिए, तर त्यही झिल्कोले उनको जीवनको दियो निभाइदियो । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको निधन भयो ।

५. दीपक साउद (२०), बैतडी

शिवनाथ गाउँपालिका–२ का दीपक कक्षा १२ मा पढ्दै थिए । कलिलो उमेरमै देशको अवस्थाबारे चिन्तित उनी परिवर्तनको आशामा आन्दोलनमा होमिएका थिए । साथीहरूसँगै सडकमा नारा लगाउँदा उनलाई गोली लाग्यो । उपचारकै क्रममा भदौ २७ गते बेलुका ८ बजे ट्रमा सेन्टरमा उनको ज्यान गयो ।

६. उत्तम थापा, दार्चुला

उत्तम थापा नेपाल प्रहरीमा कार्यरत एक कर्तव्यनिष्ठ जवान थिए । आन्दोलनमा सहभागी आफ्नै पुस्ताका युवाहरूको भिड नियन्त्रण गर्न उनी खटिएका थिए । कर्तव्य पालनाको क्रममा भएको निर्घात कुटपिटले उनको ज्यान लियो । देशको सेवा गर्दागर्दै ज्यान गुमाएका उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरियो ।

आन्दोलनमा सुदूरपश्चिमका हजारौँ युवा सक्रिय सहभागी थिए । तीमध्ये कैयौँ घाइते भएका छन्, जो काठमाडौँका विभिन्न अस्पतालका बेडमा छटपटाइरहेका छन् । उनीहरूको शरीरमा चोट छ, तर मनमा अझै पनि परिवर्तनको आगो निभेको छैन ।

आन्दोलनको सुदूरपश्चिमबाट नेतृत्व गरिरहेका जेनजी समूहका लोकेन्द्र साउद अहिले घाइतेहरूको रेखदेख र उपचारमा खटिएका छन् । ‘हामीले शान्तिपूर्ण आन्दोलन चाहेका थियौँ, तर राज्यले हामीमाथि दमन गर्‍यो । आज सात घर उजाडिएका छन्, सात परिवारका सपना खरानी भएका छन् । अहिले आन्दोलनपछि गठन भएको सरकारले मृतकलाई सहिद घोषणा गरेर १० लाख दिनुमात्र पर्याप्त छैन,’ उनले भने, ‘यो रगतको मूल्य पैसाले चुकाउन सकिँदैन । उनीहरूले देखेको नयाँ नेपालको सपना पूरा गर्नु नै उनीहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

lokendra saud 2

नयाँ सरकार गठनसँगै चुनावको मिति घोषणा भइसकेको छ । यो चुनाव सरकार बनाउने प्रक्रियामात्र हुनेछैन, यो जेनजी आन्दोलनका सहिदहरूको बलिदानको सम्मान गर्ने अवसर पनि हुने साउदको भनाइ छ ।

उनले प्रश्न गरे, ‘अब निर्णय जनताको हातमा छ । के हामी फेरि पनि पुरानै अनुहार र विचारलाई दोहोर्‍याउने– जसले देशलाई यो अवस्थामा ल्याइपुर्‍यायो ? वा ती सहिदहरूको सपना पूरा गर्न नयाँ, इमानदार र सक्षम नेतृत्वलाई मौका दिने ?’

अब हरेक भोटले सहिदका रगतको सम्मान गर्नुपर्नेमा साउदले जोड दिए । उनले भने, ‘उनीहरूको बलिदानलाई हामी खेर जान दिनेछैनौँ ।’

*यसअघि प्रकाशित समाचारमा कञ्चनपुरका मुकेश अवस्थीको नामसमेत सूचीमा समावेश भएकोमा क्षमायाचनासहित सच्याइएको छ । मुकेश अवस्थी डडेल्धुरा निवासी रहेको र उनी घाइते अवस्थामा उपचाररत रहेको सम्बन्धित परिवारले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप