पुस्ताको वर्गीकरण : जागरण पुस्तादेखि बिटासम्म
नेपालमा सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो । सोको विरुद्धमा जेन–जी (जेनेरेसन जेड) पुस्ताले आन्दोलन गर्यो, सत्ता परिवर्तन भयो । आन्दोलनको समाप्तिसँगै सबैले जेड पुस्ताको नाम लिन थाले । त्यसपछि धेरैले पुस्ता, त्यसको समयावधि, गुण, चरित्र, व्यवहार आदिका बारेमा सोधखोज गरेकाले यो लेख जन्मियोे ।
म प्रायः विचारमूलक लेख लेख्छु तर यो लेख सूचनामूलक छ । यसले पुस्ताको बारेमा जानकारी दिने मात्र प्रयास गरेको छ । पुस्तासम्बन्धी गुगल र कृत्रिम बौद्धिकतामा पाइएको जानकारी, विभिन्न लेखकका विचार र अनुसन्धानकर्ताका प्राप्तिका आधारमा यो लेख तयार पारिएको हो ।
पुस्ता के हो र समय निर्धारण कसरी हुन्छ ?
सामान्य रूपमा एउटै समयावधिमा जन्मेका मानिसको समूहलाई पुस्ता भनिन्छ, तर पुस्ता भनेको जन्मेको मिति मात्र होइन । ऐतिहासिक घटना, सांस्कृतिक रूपान्तरण, आर्थिक समृद्धि, राजनीतिक अवस्था र प्रविधिको विकासका कारण खास समयमा जन्मेका व्यक्तिको सोचाइ, विचार र दृष्टिकोण, व्यक्तिगत मूल्य–मान्यता र व्यवहारमा निश्चित आकार ग्रहण गर्दै समान रूपमा प्रतिविम्बित हुन्छ र पुस्ता बन्छ ।
यी गुण समयको अन्तरालमा परिवर्तन हुन्छन् । त्यसैका आधारमा पुस्ताको वर्गीकरण र नामकरण गरिन्छ । यसो गर्दा त्यो अवधिका विश्व घटना, मिति र यस क्षेत्रका विज्ञ, सञ्चार क्षेत्र तथा जनताको स्वीकृतिलाई पनि ध्यान दिइन्छ । प्यु अनुसन्धान केन्द्र भन्छ : पुस्ताको वर्गीकरण जन्ममिति, त्यो पुस्ताको ऐतिहासिक, प्राविधिक र सांस्कृतिक अनुभव र समाजशास्त्रीय विश्लेषणको आधारमा गरिन्छ ।
पुस्ताको वर्गीकरणले अनुसन्धानकर्तालाई कुन समयमा व्यक्तिको सामाजिक मूल्य मान्यता के थियो, कुन समयमा के कस्ता ऐतिहासिक घटना घटे र तिनका कारण के थिए भन्ने प्रस्ट पार्छ । राज्यले नीति–नियम र कार्यक्रम निर्धारण गर्न पनि निश्चित पुस्ताको आवश्यकता र चरित्र थाहा पाउनुपर्छ ।
- पुस्ताको वर्गीकरण
१) सन् १८८३ भन्दा अगाडिका ६ पुस्ता : सन् १७०१ देखि पुस्ताको नामकरण र वर्गीकरण गरिएको पाइए पनि सन् १८८३ अगाडिको पुस्ताको विश्लेषण गरेको मैले पाइनँ । सायद मेरो खोजी नपुगेको पनि हुन सक्छ । ती हुन्— जागरण पुस्ता (१७०१–१७२३), स्वतन्त्र पुस्ता (१७२४–१७४१), गणतान्त्रिक पुस्ता (१७४२–१७६६), सम्झौता पुस्ता (१७६७–१७९१), अलौकिक पुस्ता (१७९२–१८२१), सुनौलो पुस्ता (१८२२–१८४२), प्रगतिशील पुस्ता (१८४३–१८५९) र धर्म प्रचारक पुस्ता १८६०–१८८२) ।
२) हराएको पुस्ता : सन् १८८३ देखि १९०० बिचमा जन्मेकोे यो पुस्ता पहिलोे विश्वयुद्धमा होमिएको पुस्ता हो । यसको नामकरण अर्नेस्ट हेमिङवेले राखेका थिए । युद्धका कारण आफन्त, परिवार, समाज, देश तहसनहस भएकाले मानिसमा चिन्ता, भय आदिले घर गर्यो । युद्ध समाप्तिपछिको कहालीलाग्दो त्रासका बिच यो पुस्ता धेरै चर्चामा आउन सकेन र विश्व इतिहासमा हराएको पुस्ता भनियो ।
पुस्ताको वर्गीकरणले अनुसन्धानकर्तालाई कुन समयमा व्यक्तिको सामाजिक मूल्य मान्यता के थियो, कुन समयमा के कस्ता ऐतिहासिक घटना घटे र तिनका कारण के थिए भन्ने प्रस्ट पार्छ । राज्यले नीति–नियम र कार्यक्रम निर्धारण गर्न पनि निश्चित पुस्ताको आवश्यकता र चरित्र थाहा पाउनुपर्छ ।
३) महान पुस्ता : सन् १९०१ र १९२७ बिचमा जन्मिएको पुस्तालाई महान् पुस्ता भनिन्छ । यो पुस्ताले सामूहिक भावना र योगदानबाट देशलाई पुनर्निर्माण गरेर मानिसलाई चिन्ता, भय, त्रासबाट बाहिर ल्याउन बलिदानीपूर्ण योगदान गर्यो । पत्रकार टम ब्रोकले १९९८ मा लेखेको पुस्तकमा यो पुस्ताको देशप्रेम, राष्ट्रभक्ति, बलिदान र सहनशीलताको व्याख्या गरेपछि महान् पुस्ताको प्रचार–प्रसार भएको हो । यो पुस्ता चिन्ता, भय, आर्थिक समस्या, स्रोत–साधनको अभाव र बेरोजगारीबिच हुर्केको थियो ।
आमाबाबु युद्धमा सामेल भएका कारण यो पुस्ताले आमाबाबुको मायाँ पाउन सकेन । युद्ध समाप्त भए पछि देशको पुनःनिमार्ण गर्दै दोस्रो विश्व युद्धमा होमियो । यो पुस्ताको पुरा जीवन युद्ध र देशको पुनः निमार्णमा वित्यो । देशभक्ति र देशको लागि बलिदान दिने महान भावना भएको पुस्ता हो यो । सेवा प्रवाहमा प्रतिबद्ध, श्रमप्रतिको सम्मान, भविष्यप्रति आशावादी र लचकता यस पुस्ताका प्रमुख गुण हुन । यो पुस्ता परिवार, समाज र देशको उन्नतीमा प्रतिबद्ध र राष्ट्रिय पहिचानको लागि उत्तरदायी रह्यो ।
४) शान्त पुस्ता : सन् १९२८ देखि १९४५ मा जन्मेको यो पुस्ता दोस्रो विश्वयुद्धको त्रासदिपूर्ण समयमा हुर्केको हो । यो समयमा बोल्नुभन्दा काम गर्न आवश्यक थियो । सन् १९५१ मा टाइम प्रत्रिकाले काम बढी गर्ने र कम बोल्ने पुस्ता भनेर विश्लेषण गरेपछि यो पुस्ताको नाम शान्त पुस्ता भएको हो ।
यो पुस्ताका मानिस परम्परागत मूल्य–मान्यतामा विश्वास गर्ने, अनुशासित र परिश्रमी थिए । पटक्कै हल्ला नगर्ने वा नबोल्ने तर आफ्नो काम कर्तव्यलाई परिश्रमका साथ पूरा गर्ने पुस्ता हो यो । आर्थिक सङ्कट र स्रोत–साधनको अभाव देखेको यो पुस्ता परिवार, समाज र देशको उन्नति र प्रगतिका लागि पसिना बगाउने पुस्ता हो । साथै राष्ट्रिय एकता र राष्ट्रप्रेम यो पुस्ताको प्रमुख गुण हुन ।
५) बेबी बुम पुस्ता : सन् १९४६ र १९६४ बिचमा जन्मेको यो पुस्ता दोस्रो विश्वयुद्ध पछिको पुस्ता हो । यो समयमा नाटकीय रूपमा जन्मदरमा वृद्धि भयोे । युद्धको अन्त्यपछि सेनाहरू घर फर्किए र पारिवारिक जीवन बिताउन थाले । जन्मदरमा स्वाभाविक रूपमा वृद्धि भयो । नैतिकवान्, प्रतिस्पर्धी, संस्थागत ज्ञान र अनुभव, आशावादी र सकारात्मक महत्त्वाकाङ्क्षा यो पुस्ताका गुण हुन् । संस्कृति र परम्परामा उचित परिवर्तन, प्रविधिमा समाहित हुने क्षमता र स्रोत–साधनमा पहुँच, उद्देश्य प्राप्तिमा प्रतिबद्ध, आर्थिक उपार्जनमा परिश्रमी र आफ्नो क्षमतामा विश्वस्त हुनु यो पुस्ताका उल्लेखनीय चरित्र हुन् ।
६) एक्स पुस्ता : शीतयुद्धको उत्कर्षको समय सन् १९६५ र १९८० को बिचमा जन्मेको यो पुस्ता सामाजिक मूल्य–मान्यतामा ह्रास र आर्थिक अनिश्चिततामा हुर्केको हो । असीको दशकमा लेखक डगलस कुपल्यान्ड र पछि नब्बेतिर पाउल फसेलले यो पुस्ताको नामकरण ‘एक्स’ गरेका हुन् । गणितमा एक्सले अज्ञात चरको (भेरिएबल) प्रतिनिधित्व गरेजस्तै यो पुस्तामा पहिचानको सङ्कट देखिन्छ ।
यो पुस्ता विशाल वेबी बुमर्स र सहस्राब्दी पुस्ताको बिचमा च्यापियो । त्यसैले धेरैले यो पुस्तालाई बिर्सिएको पुस्ता पनि भन्छन् । यो पुस्तामा बच्चा जन्माउने इच्छामा पनि कमी देखिन्छ । यो समयमा जनसङ्ख्या वृद्धि दर उल्लेख्य रूपमा घट्यो । त्यसैले यो पुस्तालाई बेबी बस्टरस् पुस्ता पनि भनिन्छ ।
स्रोत–साधनमा पहुँच भएको यो पुस्ता स्वतन्त्र रूपमा काम गर्न सक्ने र मानव अधिकार, वाक् स्वतन्त्रता र सूचनाको हकमा विशेष चासो राख्छ । यो पुस्ताले सूचना प्रविधिमा पहुँच पायो र आफ्नो ज्ञान, सीपलाई परिमार्जन गर्यो । नवपर्वतन, अनुसन्धान, आलोचनात्मक चेत, तथ्य र तथ्याङ्कमा टेकेर विश्लेषण गर्न सक्ने क्षमता भएको र प्रविधिलाई आत्मसात गर्न सक्ने यो पुस्ताका खास गुण हुन् ।
मूल्य–मान्यता र अनुशासनमा रहने यो पुस्ता शासकीय पारदर्शिता, सुशासन, सेवा प्रवाह छिटो र छरितो चाहन्छ, राम्रो परिणामको आशा गर्छ । विविधतामा एकता र सामाजिक विषयहरूमा उदार भाव राख्ने यो पुस्ता खुला बहस, अन्तक्र्रिया र आपसी सद्भाव र सम्मानमा रमाउने गर्छ ।
७) सहस्राब्दी वा वाई पुस्ता : सन् १९८१ देखि १९९६ को बिचमा जन्मिएको यो वर्गलाई ‘एक्स’ पछि ‘वाई’ आउने हुनाले ‘वाई’ पुस्ता भनियो तर सन् १९९१ मा लेखक विलियम स्ट्राउस र नेइल होवेले सहस्राब्दी पुस्ता भनेर लेखेपछि यो नाम लोकप्रिय भयो । नयाँ सहस्राब्दीमा हुर्किरहेकाले पनि सहस्राब्दी पुस्ता भनिएको हो । यो पुस्ता प्रविधिको युगमा जन्मिएकाले प्रविधिमा पूर्ण त जानकार छ ।
यो पुस्ता पेसा, काम र व्यक्तिगत जीवनको सन्तुलनलाई धेरै महत्त्व दिन्छ । कर्म गर्दा उद्देश्य प्राप्तिमा विशेष ख्याल गर्छ । कामको दिगोपना र यसले समाज र आफ्नो जीवनमा पार्ने प्रभावलाई ध्यान दिन्छ । यो पुस्ता शिक्षित छ, विविधता र सामूहिक कार्यमा विश्वास गर्छ । समता, समावेशिता, सामाजिक न्याय र वातावरणीय सन्तुलनप्रति सजग छ यो पुस्ता ।
यो समयका मानिस आर्थिक चुनौती, सामाजिक परिवर्तन र व्यक्तिगत चाहनाका कारण ढिलो विवाह गर्ने र ढिलो सन्तान जन्माउने इच्छा राख्छन् । यो पुस्ता समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन अब्बल देखिन्छ । परिवार, समाज, कार्यालयमा आफ्नो पहिचान खोज्छ । आफ्नो कामको जस–अपजस बोक्न तयार हुन्छ । फाइदाको समान वितरण चाहन्छ । यो पुस्ताले विश्वमा आएको आर्थिक मन्दी झेल्योे, भूमण्डलीकरणमा हुर्कियो र अहिले त्योभित्र आफ्नो छुट्टै पहिचान खोजिरहेको छ ।
८) जेड पुस्ता : सन् १९९७ देखि २०१२ (कसैले २०१० पनि भन्छन्) बिचमा जन्मिएको यो पुस्ताको नामकरण एक्स, वाईपछि जेड आउने आधारमा राखिएको हो । यो पुस्तालाई जेन–जी पनि भनिन्छ । इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जालसँग एकाकार भएको यो पुस्तालाई ‘द सेन्टर फर जेनेरेसनल काइनेटिक्स’ले ‘आइजेन’ भनी नामकरण गरेको थियो । यो पुस्ता जन्मजात प्रविधिको युगको व्यक्ति हो ।
यो पुस्ता जलवायु परिवर्तन, प्रविधि, कृत्रिम बौद्धिकता, समानता, सामाजिक न्यायमा आफ्नो ध्यान केन्द्रित गर्छ । आफ्नो काम र कर्तव्यप्रति सजग, निजी क्षेत्रमा काम गर्न रुचाउने, विवाहमा कम रुचि राख्ने, सरकारी कामकाज पारदर्शी, छिटो र छरितो होस भन्ने चाहन्छ । आफ्नै परिश्रमले सम्पत्ति कमाउनुपर्छ भन्छ यो पुस्ता । त्यसैले भ्रष्टाचारको सख्त विरोधी छ । मानव अधिकार, वाक् स्वतन्त्रता, सूचनाको हक यो पुस्ताका आधारभूत आवश्यकतामा पर्छन् । पुस्तकभन्दा इन्टरनेट र मोबाइल यो पुस्ताका अभिन्न अङ्ग हुन् । आफ्नो पढाइ लेखाइमा कृत्रिम बौद्धिकताको सहयोग लिन्छ ।
उद्योगी बन्नुपर्छ । आफ्नै खुट्टामा उभिनुपर्छ । अनि मात्र पारिवारिक जीवनमा प्रवेश गर्ने हो भन्छ यो पुस्ता । अरुको व्यक्तिगत मामिलामा त्यति मतलब राख्दैन । निजत्व यो पुस्ताको एक प्रमुख गुण हो । व्यक्तिगत स्वास्थ्य र कल्याणमा ध्यान दिन्छ । आफ्नो भागको काम समयमै पूरा गर्नुपर्छ भन्ने मान्यता राख्छ । सार्वजनिक संस्थाबाट निष्पक्ष, न्यायिक र समान व्यवहार चाहन्छ । राष्ट्र र राष्ट्रियता जस्ता सवालमा अत्यन्तै सचेत र संवेदनशील छ यो पुस्ता ।
यो पुस्ता सामाजिक सञ्जाल र साथीको कुरामा बढी नै विश्वास गर्छ । अभिभावकको सल्लाह भन्दा टिकटक, रिल्स, फेसबुकमा आएका अपूर्ण सूचनाबाट आफ्नो धारणा बनाउँछ र निर्णय लिन्छ । त्यसैले कहिलेकाहीँ उसका निर्णय गलत हुन्छन् । झट्ट रिसाउने, कम धैर्यता भएकाले तुरुन्त परिणाम खोज्छ । भ्रमण, विविधता र समावेशितामा रमाउँछ । यो पुस्ता पैसा कमाउने र बचत गर्ने चरित्रको हुन्छ ।
९) अल्फा पुस्ता : यो पुस्ताको नाम अस्ट्रेलियन जनसङ्ख्याविद् मार्क म्याकक्रिन्डलले राखेका थिए । उनका अनुसार यो पुस्ता विगतको निरन्तरता नभएर नयाँ युगको सुरुवातको पुस्ता हो । एक्काइसौँ शदाब्दीभित्र मात्र जन्मिएको पहिलो पुस्ता हो यो । यो पुस्ताको सुरुवात कसैले सन् २०१३ भन्छन् भने कसैले सन् २०११ पनि भन्छन् तर यो पुस्ता सन् २०२४ सम्मको हो भन्नेमा सबै सहमत छन् ।
स्मार्टफोन, कम्प्युटर र टीभीको स्क्रिनमा रमाउँछ । कृत्रिम बौद्धिकतासँग परिचित छ र पढाइ लेखाइमा यसकोे सहयोग लिन्छ । दृश्य सामग्रीसँग बढी सामीप्यता राख्छ । आफ्नै आँखाले नदेखी विश्वास गर्दैन । जलवायु परिवर्तन, विविधता, राष्ट्र र राष्ट्रियताजस्ता सवालमा कमै उमेरमा सचेत देखिन्छ यो पुस्ता ।
आफ्नो र परिवारका सदस्यको स्वास्थ्य र कल्याणमा विशेष ख्याल गर्छ । सामाजिक मुद्दामा पनि ध्यान पुर्याउँछ, तर यो पुस्ता अन्य पुस्ताभन्दा बढी एकान्तपन मन पराउँछ । आफ्ना व्यक्तिगत इच्छा–चाहनामा अभिभावकको हस्तक्षेप मन पराउँदैन ।
सन् २०२५ देखि २०३९ सम्म जन्मने अल्फापछिको पुस्तालाई जनसङ्ख्याविद् मार्क म्याकक्रिन्डलले बिटा नामकरण गर्ने प्रस्ताव गरेका छन् ।
अन्त्यमा, हाम्रो परिवारमा पाँच पुस्ता छ । हामी सबैले एकले अर्कोको अस्तित्व स्विकार्दै र सम्मान गर्दै परिवार चलाएका छौँ । देश पनि एक परिवार हो । यसको विकास, निर्माण र समृद्धिमा सबै पुस्ताको योगदान आवश्यक छ र कसैले कसैलाई निषेध नगरी अगाडि बढ्नु अनिवार्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण