शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दाेलन

एसियामा फैलिँदो जेनजी आन्दोलन

बुधबार, ०१ असोज २०८२, १३ : ३०
बुधबार, ०१ असोज २०८२

सारांश

  • काठमाडौंमा 'जेनजी' युवाहरूको आन्दोलन सुरु भयो, जसले भ्रष्ट नेताहरूको राजको विरोध गर्यो।
  • आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्रीले राजीनामा दिए र सामाजिक सञ्जालमा प्रतिबन्ध लाग्यो।
  • युवाहरूले भ्रष्टाचारको विरोध र पारदर्शिताको माग गर्दै छिमेकी देशका आन्दोलनबाट प्रभावित भएको बताए।

काठमाडौँका सडकहरू आन्दोलनको रङले पोतिएका छन् । सडकमा लागेका आन्दोलनकारीको रगतका दागहरू मनसुनको पछिल्लो वर्षाले बिस्तारै पखाल्दैछ । राजनीतिज्ञहरूका भत्केको घरका भताभुङ्ग सरसामान भिज्दैछन् । सार्वजनिक भवनमा लागेको आगोबाट धुवाँ आउने क्रम बिस्तारै रोकिदैछ । डढेका संरचनाबाट अझै दुर्गन्ध आइरहेकै छ, तर गत हप्ता नेपालको राजधानीमा आन्दोलनकारीले आगो लगाउँदा जलेको संसद् भवनको भित्तामा कालो मार्करले लेखिएका अक्षर भने शिलालेखजस्तै बनेका छन् । भित्तामा लेखिएको छ, ‘अबदेखि यहाँ केबल जेनजी युवाहरू हुनेछन् । भ्रष्ट नेताहरूलाई देशनिकाला गरिनेछ । नेपाल अमर रहोस् । जेनजेड युवाहरू अमर रहुन् ।’

नेपालमा भएका यी प्रदर्शनलाई ‘जेनजी’ आन्दोलन भनिएको छ । यो समूहमा सन् १९९७ देखि २०१२ बिचमा जन्मिएका युवा पर्छन् । आन्दोलनमा युवाहरूसहित स्कुल पोसाकमा रहेका विद्यार्थी पनि सडकमा आएका थिए । उनीहरू राजनीतिक अभिजात वर्गको रूपमा आफूले देखेका वृद्ध तथा धुर्त नेताहरूको विरुद्धमा सडकमा उत्रिए ।

दुई दिनसम्म चलेको विनाशकारी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो दिन अर्थात् मंगलबार राजीनामा दिए । सरकारले प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि सुरु भएका जुलुस राजनीतिज्ञहरू तथा उनीहरूका परिवारलाई भ्रष्ट ठान्ने भावनाको उत्कर्ष बिन्दु बन्न पुग्यो ।

आफ्ना केही सहकर्मी प्रदर्शनकारीहरूलाई प्रहरीले गोली हानेको प्रत्यक्ष देखेकी तथा हाल कानुन अध्ययनरत विद्यार्थी २४ वर्षीय अञ्जली शाह भन्छिन्, ‘हामी त भ्रष्टाचारविरुद्ध विद्रोह गर्नमात्र त्यहाँ आएका थियौँ । हामीलाई उनीहरूले अनलाइनमा प्रतिबन्ध लगाउन सक्छन्, तर पनि सरकारविरुद्ध सडकमा प्रदर्शन गरिरहेका हुन सक्छौँ भन्ने लागेको थियो । हाम्रो कर कहाँ जाँदैछ भनेर थाहा पाउन माग गरिरहेका थियौँ । उनीहरूले सार्वजनिक कर्मचारीको तलबकै भरमा कसरी यस्तो जीवनशैली बिताइरहेका छन् भन्ने बुझ्नु थियो ।’

नेपालको मध्यिका (मेडियन) उमेर उमेर २५ वर्ष छ, जुन एसियाको मध्यिका उमेर ३२ वर्षभन्दा कम हो । यसले बढ्दो क्षेत्रीय प्रवृत्ति देखाउँछ, जहाँ ओलीको पुस्ताका वरिष्ठ नेताहरूको राजनीति र अवसरहरूको अभावबाट दिक्क भएका, मताधिकारबाट वञ्चित, महत्त्वाकाङ्क्षी र प्रायः बेरोजगार युवाहरू सरकार र पुराना दलहरूसँग भिडिरहेका छन् ।

नेपालको विभिन्न आन्दोलनका शृङ्खलाहरूमा पछिल्लो सफल आन्दोलन हो । सन् २०२२ मा श्रीलंकामा देखिएको गम्भीर आर्थिक संकटको परिवेशमा मूलतः दशौँ हजार युवा संलग्न प्रदर्शनकारी राजधानी कोलम्बोमा भेला भएका थिए । उनीहरूले प्रदर्शनको क्रममा राष्ट्रपति भवन कब्जा गरे । ७६ वर्षीय तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षे सैन्य विमानमा देश छोडेर माल्दिभ्सतिर भागे । त्यसको दुई वर्षपछि बंगलादेशमा ढाका विश्वविद्यालयका विद्यार्थीहरूले अर्काे विशाल विद्रोहको अगुवाइ गरे । आन्दोलनले अन्ततः देशको अधिनायकवादी शासक ७७ वर्षीय शेख हसिनालाई भारततर्फ भाग्न बाध्य पार्‍यो ।

b

इन्डोनेसियामा गत महिना त्यस्तै आन्दोलनको झलक देखिन थालेको थियो । व्यापक आर्थिक समस्या झेलिरहेको समयमा सांसदहरूले आफ्नालागि प्रतिमहिना ३ हजार डलर भत्ता, राजधानी जकार्तामा हाल कायम रहेको न्यूनतम ज्यालाभन्दा १० गुणा बढी आवास भत्ताको व्यवस्था गरेका समाचारहरू आउन थालेका थिए । विद्यार्थीहरू त्यसको विरोधमा सडकमा उत्रिए । ७३ वर्षीय राष्ट्रपति प्रबोवो सुबियान्तोले तत्काल संसदीय सुविधा खारेज गर्दै आफ्नो सरकारका अर्थमन्त्रीलाई बर्खास्त गरेर हालको लागि सम्भावित अशान्ति रोक्न सफल भए ।

यी सबै विद्रोहका साझा कारक तत्वहरूमा एसियाका विकासशील अर्थतन्त्रमा वृद्ध र स्थापित राजनीतिक वर्गहरू देखिन्छन्, जहाँ युवा पुस्ताले संभ्रान्त वर्गको लुटका कारण विकास हुन नसकेको तथा आफ्नो जीवनमा सुधार नआएको ठान्छन् । यी मुलुकहरूमा युवा बेरोजगारीको दर उच्च छ । भ्रष्टाचार व्यापक छ । धेरैजसो देशमा सानाठुला आन्दोलन चलिरहेका छन् । प्रदर्शनहरू मौलिक र विशिष्ट छन् । यद्यपि केही विज्ञ भने ती आन्दोलनहरू आपसमा जोडिएको रूपमा हेर्ने गर्छन् ।

ढाकास्थित ‘बंगलादेश इन्स्टिच्युट अफ पिस एन्ड सेकुरिटी’का वरिष्ठ अनुसन्धानकर्ता शफ्कत मुनिर भन्छन्, ‘यस क्षेत्रभरि जेनजी पुस्ताले राजनीतिक नेताहरू समक्ष आफूहरूले परिवर्तन चाहेको संकेत गरिरहेका छन् । यी युवाहरूको पनि राजनीतिक नेताहरूप्रति पुरानो पुस्ताको जस्तो आदरभाव छैन ।’

a

यसबारे थप व्याख्या गर्दै उनी भन्छन्, ‘जेनजी पुस्ताका युवाहरू वैश्विक दृष्टिकोण राख्छन् । अन्य देशहरूमा के हुँदैछ भनेर हेर्छन् । उनीहरूका लागि इन्टरनेट केबल सञ्चारको माध्यममात्र होइन, बरु रक्तसञ्चार पनि हो, जसले आगोको आँधी उठाउन सक्छ ।’

नेपालका मेरी एन्टोनेटहरूको ‘लेट थेम इट केक’ वाला घडी सामाजिक सञ्जालबाटै आइपुग्यो । सामाजिक सञ्जालमा प्रतिबन्ध हुने हफ्तासम्ममा राजनीतिज्ञका परिवारका सदस्यले इन्स्टाग्राम र टिकटकमा महँगा गाडी, झोला तथा घुमघामका तस्बिर र भिडियो व्यापक भइसकेका थिए । ह्यासट्यागमा नेपोकिड र नेपोबेबिज जस्ता शब्दहरू चर्चित भइसकेका थिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक भ्रष्टाचार सूचकाङ्कमा सूचीकृत १८० देशमध्ये नेपाल १०७ औँ स्थानमा छ । नेपालको वार्षिक प्रतिव्यक्ति आय प्रतिवर्ष १४ सय डलर छ । विश्व बैंकको तथ्याङ्क अनुसार यो आय अफगानिस्तानबाहेक सबै दक्षिण एसियाली छिमेकीहरू भन्दा कम हो, तर देशमा शक्तिशाली परिवारहरूको खुलेआम विलासी जीवनशैलीका तस्बिर मानिसहरूको आक्रोश बढाउन सहयोगी भए ।

नेपालका केही राजनीतिज्ञका सन्तानले ‘शेम्पेन’ पिउँदै गरेको देखाइएको इन्स्टाग्राम पोस्टमा लेखिएको छ, ‘नागरिकहरू नुन नपाएर बसेका छन्, तर तपाईंहरूलाई भने सुन र चाँदीको थालमा खानुपरेको छ ।’

कानुनका विद्यार्थीसमेत रहेकी शाहको भनाइ छ, ‘यस आन्दोलनको थालनी सामाजिक सञ्जालको ट्रेन्डबाट भएको थियो, जहाँ नेपो किड्स अर्थात् राजनीतिज्ञका छोराछोरीहरूले अपनाएको विलासी जीवनशैली तथा आफ्नै सामाजिक सञ्जालमा गरेको प्रचारसँग जोडिएको थियो । जबकि हामी व्यापक भ्रष्टाचार हुने देशमा सुरक्षित पिउने पानी, जागिर, अवसर नपाएकोमा संघर्ष गरिरहेका छौँ ।’

भारत र चीनको बिचमा रहेको हिमाली मुलुकको सडकमा आएका प्रदर्शनकारीहरूमध्ये धेरैलाई नेपालमा ठुलो परिवर्तन ल्याउन भएको पछिल्लो आन्दोलनबारे समेत धेरै थाहा थिएन  । सन् २००६ मा भएको विद्रोहले नेपालबाट राजाको २३९ वर्षे शासनसहित राजतन्त्र अन्त्य गर्ने बाटो खोलेको थियो ।

तर नयाँ नेपाल निर्माण गर्ने प्रतिबद्धताका बाबजुद गणतान्त्रिक युगले १० वर्षको युद्धबाट ग्रस्त मुलुकमा स्थिरता दिलाउन अपेक्षित सफलता प्राप्त गरेन । गणतन्त्र स्थापना यता मुलुकमा एक दर्जनभन्दा बढी सरकार बनिसकेका छन् । धेरै राजनीतिक कलाकारहरू मञ्चमा देखा परे । आन्दोलनले विस्थापन गरेका प्रधानमन्त्री ओली त चार पटक उक्त पदमा पुगिसकेका छन् । यसले नयाँ पुस्ताबाट निराशा बढाउँदै लग्यो । नयाँ व्यवस्थाले राम्रो गर्ला भन्ने आशालाई आफ्नै आँखा अगाडि कुल्चिएको देख्दै हुर्किए ।

‘आम नागरिकको चासोप्रति राज्य निरन्तर गैरजिम्मेवार व्यवहार गरिरहेको थियो र प्रधानमन्त्रीहरू तथा राजनीतिक अभिजात वर्गले आफूलाई कसैले चुनौती दिन सक्दैन भन्ने ठानेर नयाँ राजा जस्तो व्यवहार गर्न थाले,’ काठमाडौँमा रहेर राजनीतिक मामलामा लेख्ने काममा संलग्न तथा ‘अल रोड्स लिड नर्थस् नेपाल्स टर्न टु चाइना’का लेखक अमिसराज मुल्मी भन्छन्, ‘बंगलादेश, श्रीलंका तथा हालैका दिनमा इन्डोनेसिया लगायत मुलुकमा जस्तै यहाँ पनि युवाहरूमाझ असन्तुष्टि व्यापक थियो । त्यही निराशा र आक्रोश यो हप्ता नेपालमा पनि एकाएक विष्फोट भयो ।’

बंगलादेशमा तत्कालीन समयमा सत्तामा रहेको अवामी लिग पार्टीलाई फाइदा हुने गरी सार्वजनिक क्षेत्रको जागिरमा कोटा प्रणालीको विरोधमा भएको प्रदर्शनले उथलपुथल सुरु गराएको थियो ।

‘तर यो यति चाँडै अझै ठुलो कुरा थियो भन्ने प्रस्ट भैहाल्यो,’ गत वर्षको मनसुन क्रान्तिको अगुवाइ गर्ने विद्यार्थीहरूको समूहबाट बनेको बंगलादेश नेशनल सिटिजन पार्टीकी नेता नाहिद इस्लाम भन्छिन्, ‘यो फासीवादी राजनीतिक पद्धति, जताततै जरा गाडेर बसेको भ्रष्टाचार तथा जनताको सेवा नगर्ने पुरानो राजनीतिप्रतिको अस्वीकृति थियो । केबल शासनका वफादारहरू र शासकका सन्तानको मात्रै भलो हुने व्यवस्थाको खारेजी थियो ।’

नेपालमा जस्तै त्यहाँ पनि सरकार पक्षको कठोर प्रतिक्रियाले परिस्थिति उग्र बनायो । प्रहरी तथा अन्य सुरक्षा बलले विरोध प्रदर्शनहरूलाई हिंसात्मक तवरमा दमन गरे । भिडमा सिधै गोलीबारी भयो । विद्यार्थीहरूलाई लक्षित गरेर व्यापक प्रहार भयो । करिब १४ सय जना मारिए । चौतर्फी खतराका बाबजुद आन्दोलनकारीहरू सडकमा आउन छोडेनन् ।

त्यसैगरी इन्डोनेसियाको जकार्तामा प्रदर्शन चलिरहँदा प्रहरीको गाडीले २१ वर्षीय मोटरसाइकल चालकलाई कुल्चेर मार्‍यो । त्यसवेला उनी आफ्नो सामान डेलिभरीको काम गरिरहेका थिए ।

त्यसबेला त्यहाँ कार्यरत अचमाद सुकार्साेनो भन्छन्, ‘उनको मृत्युले आगोमा घिउ थपिदियो ।  घटनाले धनी तथा शक्तिशालीहरू कमजोर र गरिबलाई कुल्चेर दौडिरहेको अवस्थाको बिम्बको रूपमा काम गर्‍यो ।’

उनी भन्छन्, ‘नेपालमा जस्तै इन्डोनेसियामा पनि भ्रष्ट नेताहरू तथा सामाजिक सञ्जालमा उनीहरूको आकर्षक जीवनशैलीले जनताको आक्रोशलाई बढाएको छ ।’

इन्डोनेसिया भएको प्रदर्शनका क्रममा कम्तिमा १० जनाको मृत्यु हुन पुग्यो । प्रदर्शनको क्रममा क्षेत्रीय संसद भवनहरूमा आगजनी भएको थियो । आक्रोशित भिडले तत्कालीन अर्थमन्त्री  मुलयानी इन्द्रावती तथा अन्य धेरै सांसदका घरमा घुसेर लुटपाटसमेत गरेको थियो ।

इन्डोनेसियामा प्राध्यापनरत देवी फोर्टुना अनवरका अनुसार यदि सांसदहरूले जनताको प्रतिनिधिको रूपमा आफ्नो भूमिका खेलेका भए उनीहरू जनताले भोगिरहेको पीडाबारे  संवेदनशील हुन्थे तर तिनीहरू आफ्नै साँघुरो घेरामा रमाइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका देशहरूमा सामान्यतया युवाहरूको हिस्सा औसतभन्दा बढी छ । सन् २०२३ मा १५ देखि २४ वर्ष उमेरका मानिसहरूले नेपालको जनसंख्याको पाँच भागको एक भाग थियो । जबकि त्यस्तो जनसंख्याको विश्वव्यापी औसत १५ दशमलव ६ प्रतिशतमात्रै छ ।

खासमा युवा जनसंख्या आर्थिक रूपमा वरदानजस्तै हुन् । उनीहरू नवप्रवर्तन, प्राविधिक सिप, नयाँ विचार र ऊर्जाशील जनशक्ति उपलब्ध गराउछन्, तर एसियाका केही भागहरूमा  जनसांख्यिकीय लाभांशको उपयोग हुन सकेको छैन । उत्पादक जनशक्तिको खपत गर्न पर्याप्त रोजगारी सिर्जना हुन सकेको छैन ।

नेपालको वैदेशिक रोजगार विभागको अनुमान अनुसारआफ्नो सुरक्षित भविष्यको खोजीमा प्रत्येक साल करिब ७ लाख नेपाली देश छोडेर मुख्यतया खाडीका देशमा जाने गरेका छन् । विश्व बैंकका अनुसार विदेशमा काम गर्न जाने आप्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्सले नेपालको आर्थिक वृद्धिमा प्रमुख भूमिका खेलेको छ । तर त्यसले देशको अर्थतन्त्रमा गुणस्तरीय रोजगारी सिर्जना गर्न सकेको छैन, जसले गर्दा धेरै अवसरहरू गुमेका छन् । साथै नेपालीहरूले बाहिरिन पर्ने बाध्यता थप बढ्दै गएको छ ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदन अनुसार बंगलादेश, इन्डोनेसिया र नेपालमा ८० प्रतिशतभन्दा बढी जनशक्ति अनौपचारिक क्षेत्रको रोजगारीमा संलग्न छ । युवा बेरोजगारी धेरै छ । श्रीलंकामा १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूमा बेरोजगारी दर गत वर्ष करिब २२ प्रतिशत हाराहारी थियो । नेपालको हकमा २१ प्रतिशत थियो, जुन विश्वव्यापी औसतभन्दा धेरै हो ।

दक्षिण एसियाबारेका विज्ञ क्रिस्टोफ जाफ्रेलोट भन्छन्, ‘एसियाका केही भागमा युवाहरूको आक्रोशको स्रोत केवल भ्रष्ट र अधिनायकवादी शासनमात्र नभएर आर्थिक क्षेत्रको निराशा पनि हो । असमानता बढ्दै गएको छ । एकातिर अति धनीहरू र अर्काेतिर बेरोजगार मध्यम वर्गका युवा छन् । यसैमा टेकेर असन्तुष्टिले ठाउँ बनाइरहेको छ ।’

युवाहरूको त्यो समूह अब कमजोर छैन । उनीहरू शक्तिको रूपमा बढेका छन् । उनीहरूलाई अनदेखा गर्न सकिँदैन । बंगलादेशमा उनीहरूले ‘नेशनल सिटिजन पार्टी बनाए । त्यसले आउने वर्ष चुनावमा भाग लिँदैछ । निर्वाचित भएको खण्डमा नयाँ लोकतान्त्रिक संविधान तयार गर्ने बाचासमेत गरेको छ ।

उता श्रीलंकामा यस अघि खासै चर्चामा नरहेका वामपन्थी नेता अनुरा कुमारा दिस्सनायकेको राष्ट्रपति पदमा आश्चर्यजनक रूपमा विजय हासिल गरे । चुनावमा युवाहरूको मत निर्णायक थियो । चुनावको दौरान दिस्सनायकेले भ्रष्टाचार अन्त्य गर्ने तथा देशका सम्भ्रान्तहरूको विशेषाधिकार हटाउने बाचा गरेका थिए ।

नेपालमा जेनजी समूहका प्रतिनिधिहरू गत शुक्रबार पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सफल भए । यसमार्फत उनीहरू हिमाली क्रान्तिलाई नियन्त्रणमा लिन खोज्नेहरूलाई रोक्न चाहन्छन् ।

काठमाडौँमा अहिले सडकहरू शान्त छन् । जलेका सवारी साधन तथा सरकारी भवनहरूको भग्नावशेषको छेउमा उभिएर सैनिकले पहरा दिइरहेका छन् । जेनजी आन्दोलनका एक जना नेता सुदन गुरुङ भन्छन्, ‘युवाहरू मिलेर हाम्रो देश पुनर्निर्माण गर्ने प्रयास गरिरहेका छौँ ।’

राजनीतिक गतिविधिहरू नयाँ ढंगले अघि बढिसकेका छन् । नवनियुक्त प्रधानमन्त्री कार्कीको आग्रहमा राष्ट्रपतिले संसद् विघटन गरेका छन् । साथै आगामी मार्चमा सम्पन्न हुनेगरी नयाँ आम निर्वाचनको घोषणा गरिएको छ ।

जेनजी आन्दोलनका सहभागी यतिष ओझा भन्छन्, ‘हामी जेनजीहरूलाई आपसमा जोड्ने साझा सेतु भनेको हाम्रो समान उमेर समूह र असन्तुष्टि हो । हामी भ्रष्टाचारको विरोध गर्न तथा नेताहरूमा उत्तरदायित्व तथा पारदर्शिताको माग गर्न सडकमा गएका थियौँ । कुनै न कुनै रूपमा हामीलाई छिमेकी मुलुकहरू श्रीलंका तथा बंगलादेशको आन्दोलनले पनि प्रभावित पारेकै थियो ।’

२५ वर्षे ओझा दुई दिनभित्रै सम्पूर्ण राजनीतिक सत्तापलट नै हुनेबारे भने आफूले नसोचेको स्विकार्छन् ।

(फाइनान्सियल टाइम्सबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आन्द्रेस स्किपानी
आन्द्रेस स्किपानी
लेखकबाट थप