शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चर्चित लेखक रोबर्ट मुन्सलाई ‘इच्छा मृत्यु’को स्वीकृति

बुधबार, ०१ असोज २०८२, १४ : ४०
बुधबार, ०१ असोज २०८२

सारांश

  • प्रख्यात बाल पुस्तक लेखक रोबर्ट मुन्सलाई चिकित्सा सहायता प्राप्त मृत्युका लागि स्वीकृति दिइएको छ।
  • मुन्स डिमेन्सिया र पार्किन्सन्स रोगबाट पीडित छन्, र उनले मृत्युको मिति तोकेका छैनन्।
  • क्यानाडाले गम्भीर बिरामीहरूका लागि इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ, र मुन्सकी छोरीले बुबाको निर्णयबारे जानकारी दिएकी छन्।

न्युयोर्क । ‘द पेपर ब्याग प्रिन्सेस’ र ‘लभ यु फरेभर’ जस्ता बाल पुस्तकका लागि प्रख्यात क्यानेडियन लेखक रोबर्ट मुन्सलाई ‘मेडिकल्ली असिस्टेड डाइइङ’ (चिकित्सीय सहयोगमा मृत्युवरण) को लागि स्वीकृति दिइएको छ।

सन् २०२१ मा डिमेन्सिया रोगको पहिचान भएका ८० वर्षीय मुन्स पार्किन्सन्स रोगबाट पनि पीडित छन् । उनको ८५ वटा पुस्तक प्रकाशित छन् ।

न्यूयोर्क टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा मुन्सले आफ्नो मृत्युको मिति तोक्ने निर्णय नगरेको बताएका छन्। उनले भनेका छन्, ‘जब मलाई कुरा गर्न र संवाद गर्न साँच्चै गाह्रो हुन थाल्छ, तब म यो निर्णय लिनेछु। मलाई त्यो बेला थाहा हुनेछ।’

क्यानाडाले सन् २०१६ मा गम्भीर बिरामी भएका मानिसहरूका लागि इच्छा मृत्युलाई कानुनी मान्यता दिएको थियो। सन् २०२१ मा, यो कानुनलाई विस्तार गरी गम्भीर र दीर्घकालीन शारीरिक समस्या भएका तर ज्यान जोखिममा नभएका व्यक्तिहरूलाई पनि यसको दायरामा समेटिएको थियो।

मुन्सका पुस्तकहरू २० भन्दा बढी भाषामा अनुवाद भएका छन्, जसमा अरबी, स्पेनिस र उत्तर अमेरिकी आदिवासी भाषा ‘एनिसीनाबेमोइन’ पनि समावेश छन्। सन् १९९९ मा उनलाई ‘अर्डर अफ क्यानाडा’ को सदस्य बनाइएको थियो भने एक दशकपछि टोरन्टोमा उनलाई ‘क्यानाडाज वाक अफ फेम’ मा स्थान दिइएको थियो।

न्यूयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मुन्सले आफ्नो भाइको ‘लाउ गेहरिग्स डिजिज’ (एएलएस) नामक रोगका कारण भएको मृत्युबाट आफू प्रभावित भएको बताए। उनले भने–  ‘उनीहरूले विभिन्न उपचार विधि अपनाएर उसलाई जीवित राखे। मैले सोचेँ, उसलाई मर्न दिनुपर्थ्यो।’

मुन्सकी छोरी जुलीले फेसबुकमा आफ्ना बुबाले ‘मेडिकल्ली असिस्टेड डाइइङ’ को निर्णय पाँच वर्षअघि नै गरेको बताएकी छन्। उनले न्यूयोर्क टाइम्सको अन्तर्वार्तालाई ‘महान’ भन्दै भनेकी छन्–  ‘अन्तर्वार्तामा बुबाको अवस्था राम्रो छैन वा उहाँ छिट्टै मर्न लाग्नुभएको छ भनिएको छैन।’

क्यानेडियन कानुनअनुसार, व्यक्ति आफ्नो मृत्युको दिन सक्रिय रूपमा सहमत हुन सक्ने अवस्थामा हुनुपर्छ। सन् २०२३ मा क्यानाडामा भएका कुल मृत्युमध्ये ४.७ प्रतिशत मृत्यु ‘मेडिकल्ली असिस्टेड डाइइङ’ का कारण भएको थियो। 

यो सबैभन्दा पछिल्लो आधिकारिक सरकारी तथ्याङ्क हो । सन् २०२३ मा ‘मेडिकल्ली असिस्टेड डाइइङ’ रोज्ने १५,३०० जनामध्ये ९६ प्रतिशतलाई क्यान्सरजस्ता गम्भीर रोगका कारण ‘सम्भावित मृत्यु’ भएको मानिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप