दुर्गा प्रसाईंको दाबी, ‘देशमा पश्चिमाहरूको ठूलो षड्यन्त्र भयो’
काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै देशमा हालै भएको हिंसात्मक घटना र त्यसपछाडिको कारणबारे आफ्नो धारणा व्यक्त गरेका छन्।
उनले गत भदौ २३ र २४ गतेको दुखद घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रसाईंले आफू र आफ्नो अभियानका सदस्यहरू उक्त आन्दोलनमा संलग्न नभएको पनि स्पष्ट पारेका छन्। मेयर बालेन शाहले आउनु पर्दैन भनेकाले आफूहरू नहिँडेको उनको भनाई छ। उनले आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी भवन तथा सम्पत्तिमाथिको आक्रमणलाई दुखद भन्दै घटनाको जिम्मा जसले गराएको हो, त्यसले नै लिनुपर्ने बताएका छन्।
उनले आफ्नो अभियानलाई ‘राजावादी’ भनिएकोमा आपत्ति जनाउँदै आफूहरू ‘राजावादी नभई राष्ट्रवादी’ भएको स्पष्टीकरण दिएका छन्। प्रसाईंले विगत १३ वर्षदेखि नेपालमा पश्चिमाहरूको प्रभाव र षड्यन्त्र चलिरहेको आरोप लगाएका छन्। उनले यो षड्यन्त्रको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा प्रवेश गराई ‘युक्रेन’ बनाउनु रहेको बताएका छन्।
उनले यो षड्यन्त्रलाई विगतका केही प्रमुख घटनाक्रमसँग जोडेर व्याख्या गरेका छन् जसमा राजा वीरेन्द्रसहित राजपरिवारको रहस्यमय हत्याकाण्डदेखि विवेकशील साझा पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसम्मको उदयलाई औँल्याएका छन् ।
प्रसाईंले यी सबै घटनाक्रम नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्न, युवा पुस्तालाई विदेश पलायन गराउन र अन्ततः नेपाललाई पश्चिमाहरूको नियन्त्रणमा लैजानका लागि भएको बताएका छन्।
उनले नेपाललाई दक्षिणमा भारत र उत्तरमा चीनको बीचमा ‘रणमैदान’ बनाउन पश्चिमाहरूले सेना ल्याउने तयारी गरिरहेको समेत दाबी गरेका छन्।
उनले यो खतरनाक षड्यन्त्रबाट देश, धर्म र नागरिकको रक्षा गर्न सबै राष्ट्रवादीहरूलाई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षणका लागि एकजुट हुन आह्वान गरेका छन्। साथै, उनले राष्ट्रको रक्षाका लागि राजाले पनि दरिलो भएर खुट्टा टेक्नुपर्ने आवश्यकता औँल्याएका छन्।
यस्तो छ उनको सन्देश
नमस्ते।
सम्पूर्ण मेरा प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक नमस्कार ।
विगत २३ र २४ गते भएको देशमा जुन दुखद घटना भयो, त्यसमा लगभग ७१ जनाको ज्यान गयो। ज्यान गुमाउने परिवारहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु र घाइते परिवारलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
साथै, म एउटा कुरा आज तपाईंहरूलाई स्पष्ट भन्न चाहन्छु। हामीले पनि हाम्रो हस्पिटल बीएनसीमा १५० जनाको निःशुल्क उपचार गरेर घर पठाउने काम गर्यौँ। र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा उपचार भइरहेको छ। हामीले बिना पैसा उपचार गरेर पठाइरहेका छौँ।
साथै, मलाई एउटा दुख लागेको कुरो के छ भने, यो अहिले २२ गते हामीले यो कार्यक्रममा सरिक हुन्छु भन्दाखेरि बालेनजीले तपाईंहरू आउनु पर्दैन भन्नुभयो। हामी त गएनौँ, हाम्रा कार्यकर्ताहरू गएनन् र हामी अहिलेसम्म निस्केका पनि छैनौँ।
र, मलाई २३ गते र २४ गतेको एउटा घटनामा के दुख लागेको छ भने, मान्छेहरूका घर जलाउनु, मान्छेहरूका भएका सम्पत्ति तोडफोड गर्नु र सिंहदरबारमा आगो लगाउनु, सर्वोच्च अदालतमा आगो लगाउनु, जोसुकैको घरमा पनि आगो लगाउनु र व्यापारीहरूको घर, होटल सबैमा आगो लगाउनु, दरबार जस्ता ठाउँमा आगो लगाउनु, यो एकदम दु:खद् हो।
र, यो घटनामा मेरो हाम्रो अभियानको पनि नाम आयो। राजावादीहरू भने। हामी राजावादी होइनौँ भनेर हामीले अस्ति क्लियर गरेका छौँ। हामी राष्ट्रवादी हौँ। र हाम्रा अभियानका साथीहरू या हामी, म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि। म व्यक्तिगत रूपले भन्ने हो भने मलाई किनभने बालेनजीले नआउनु भनेर चाहिँ नि स्टाटस लेख्नुभएको थियो। र यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ।
आज मैले एउटा स्टाटस लेखेको छु। जो मैले विगत १३ वर्षदेखि आफूसँग भएको घटनालाई आधार मानेर र यो देशमा पश्चिमाहरूको खास गरेर पश्चिमाहरूको प्रभाव कस्तो छ भनेर मैले एउटा स्टाटस लेखेको छु। र पश्चिमाहरूको जुन प्रभावले आज देशलाई कुन स्थितिमा पुर्याउँदैछ, त्यो कुरा मैले स्टाटसमा सबै लेखेको छु। त्यो राम्रोसँगले पढ्नुहोला र राम्रोसँगले अध्ययन गर्नुहोला। अब हुने त्यही हो, गर्न खोजेको पनि त्यही हो हिजोदेखि। म खास गरेर बुद्धिजीवीहरूलाई त्यो भनेर त्यो स्टाटस पढ्न भन्छु। र म आफू पनि पढेर सुनाउन चाहन्छु।
२०२८ सालमा राजा महेन्द्रको रहस्यमय निधन। त्यसपछि २०२८ सालमै नयाँ शिक्षा लागु। २०३७ सालमा जनमत संग्रह। २०४६ सालमा जनआन्दोलन। जनआन्दोलनपछि प्राप्त प्रजातन्त्र, त्यतिले पनि नपुगेर २०५२ सालमा जनयुद्धको सुरुवात। २०५८ सालमा हिन्दुका प्रतीक राजा वीरेन्द्रसहित राजपरिवारका सदस्यहरूको रहस्यमय दरबार हत्याकाण्ड। २०७२ साल असोज ३ गते पूर्ण रूपमा राजसंस्था र हिन्दु अधिराज्यको अन्त्य गरी संविधान जारी। संविधानमार्फत नेपालबाट हिन्दु राष्ट्र हटाई, राजसंस्थाविहीन धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सफल।
त्यसैगरी २०७९ सालमा डाक्टर गोविन्द केसी जस्ता पात्रलाई प्रयोग गर्दै केही वकिलहरू, केही मानवअधिकारवादी, साथै केही समाजमा नाम चलेका 'विज्ञहरू' भन्ने, आफूलाई विज्ञहरू भन्ने, राजनीतिक विश्लेषकहरू भन्नेहरूसँगै सर्वोच्च अदालतका केही पूर्वप्रधानन्यायाधीशहरूलाई समेत प्रयोग गर्दै सर्वोच्च अदालतदेखि देशका संवैधानिक निकायहरू कब्जा गर्ने, सामाजिक सञ्जाल आफ्नो नियन्त्रणमा लिई, चरम दुरूपयोग गरी, उज्ज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टीको उदय गराइयो।
युवा पुस्तालाई विदेश पलायन हुन बाध्य बनाउने, मेडिकल शिक्षा र प्लस टु माथिको शिक्षा प्रणाली पुरै ध्वस्त पार्ने, देशलाई नागरिकविहीन बनाउने खालको षड्यन्त्र तीव्र गतिमा अघि बढाइयो। त्यस्तै क्रममा विवेकशील साझा पार्टीको प्रयोग गरियो।
त्यो पार्टीको अस्तित्व समाप्त भएपछि त्यसका ७०५ सदस्यलाई राष्ट्रिय स्वतन्त्र पार्टी र ३०५ लाई अहिले जसले देशमा षड्यन्त्रको बिरुवा रोप्यो, उसैको समर्थक बनाएर पठाइयो। यसको अन्तिम उद्देश्य भनेकै अहिले भर्खर हामी राष्ट्रवादीहरूले उठाउन लागेको वैदिक सनातन हिन्दु राष्ट्र, लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, बैंकबाट कालोसूचीमा परेका र भ्रष्टाचारविरुद्धको आन्दोलनलाई ओझेलमा पार्दै, वैधानिक रूपमै अब चाँडै चुनाव गराई, जनताकै मतबाट पश्चिमाहरूको ठूलो डिजाइनमा यो देश कब्जा गर्ने ठूलो खेल सुरु गरिएको छ।
यसरी नेपालबाट वैदिक सनातन धर्म र राजसंस्थाको स्थायी अन्त्य गर्नु, र ग्रेटर नेपालको भ्रम छरेर नागरिकहरूलाई दिग्भ्रमित बनाउनु, नेपाली भूभाग प्रयोग गरेर तिब्बतलाई चीनबाट अलग गर्नु, भारतलाई वरिपरिबाट घेरा हालेर अस्थिर राजनीतिमा लानु, भारतलाई विभाजन गर्नु र अन्तमा नेपाललाई पश्चिमाहरूको इशारामा भूराजनीतिक खेलमा प्रवेश गराउनु र यो देशलाई युक्रेन बनाउनु हो। यस्तो खतरनाक षड्यन्त्रविरुद्ध यदि हामी देश, धर्म र नागरिकहरूको रक्षा गर्न चाहन्छौँ भने, सबै राष्ट्रवादी एकजुुट भई वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षणका लागि एकजुुट भएर जुटुम्। साथै, अब राजाले पनि राष्ट्रको रक्षार्थ, राष्ट्रको पक्षमा दरिलो भएर खुट्टा टेक्नु अपरिहार्य रहेको छ।
भन्दै, म के भन्न चाहन्छु भने, विगत ५५ वर्षदेखि पश्चिमाहरूले खेल खेल्दै, खेल्दै, खेल्दै, तपाईंहरूले के बुझ्नुहोस् भने, दक्षिण भारत, उत्तर चीन, दुवैको बीचमा अब चाँडै, चाँडै, चाँडै पश्चिमाहरूबाट सेनाहरू आउँदैछन्।
यो कुरामा तपाईंहरू क्लियर हुनुहोस् र यो हाम्रो भूमि रणमैदान बन्दैछ। त्यो बनाउने हिसाबकिताबले यहाँका युवाहरूलाई विगत २५ वर्ष, २८ वर्ष, ३० वर्षदेखि नयाँ शिक्षा लागु गरेर २०२८ सालमा, जहाँबाट नयाँ शिक्षाको बिउ रोपियो नेपालमा, त्यहीँबाट यो देश सिध्याउने काम भएको छ।
त्यसले गर्दा सम्पूर्णलाई बुझ्न म आह्वान गर्दै, साथ दिन हुनको लागि राष्ट्र जोगाउने अभियानमा साथ दिनको लागि अनुरोध गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण