मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

जनसङ्घर्षलाई निर्वाचनसँग जोड्न पार्टी पङ्क्तिलाई प्रभु साहको निर्देशन

शनिबार, ०४ असोज २०८२, १७ : २२
शनिबार, ०४ असोज २०८२

सारांश

  • आम जनता पार्टीले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधीनता बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
  • अध्यक्ष प्रभु साहले देशको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै पार्टी पंक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा लाग्न आह्वान गरे।
  • साहले जेनजी आन्दोलनलाई उपलब्धिमूलक बनाउन र युवा पुस्तालाई जोगाउन व्यवस्था परिवर्तनको मुद्दालाई जोड दिनुपर्ने बताए।

काठमाडौँ । आम जनता पार्टीले देशको अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने र राष्ट्रिय स्वाधीनता बचाउन सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याएको छ । आज (शनिबार) बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय लिएको हो । आजपाले अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेकोले नयाँ निकास खोजिनुपर्ने माग गरेको छ । 

अध्यक्ष प्रभु साहले देशको पछिल्लो अवस्थाबारे प्रकाश पार्दै पार्टी पंक्तिलाई संयमित र चनाखो भएर संघर्षसहित चुनावी अभियानमा मैदानमा होमिन अपिल गरे। साहले जनसङ्घर्षलाई समेत निर्वाचनसँग जोड्न आम पार्टी पङ्क्तिलाई आह्वान गरेका हुन् । 

साहले भने,‘अहिले देश विषम परिस्थितिबाट गुज्रिरहेको छ । दुई तिहाइको केपी ओली र शेरबहादुर देउवाको सरकार बर्खास्त भएको छ । संसद् विघटनसहित अन्तरिम सरकार बनेको छ । भ्रष्टाचारमुक्त नेपाल बनाउने युवाहरूको चाहनाअनुरूप नयाँ संविधानसहित नयाँ सरकार बन्नुको साटो उही पूरानै नेताहरूको सहमति र संयोजनमा नयाँ सरकार बनेको छ । आन्दोलनको मुद्दालाई कुर्सीसँग साट्ने यस खेलले जनतामा असन्तुष्टि र आक्रोश बढ्दो छ । यस जटिल एवं चूनौतिपूर्ण अवस्थामा देशलाई अगाडि बढाउन यस घटनाक्रमले गम्भीर समीक्षा जरुरी छ ।’

बैठकमा अध्यक्ष साहले जेनजी आन्दोलनको समेत चर्चा गरेका थिए । सो क्रममा उनले देशलाई असफलताबाट बचाउनको लागि आफ्नो दलले सुरूदेखि चाल्दै आएको कदम र लिएको नीति र निर्णयको समेत प्रकाश पारेका थिए । 

साहले जनताले सडकमार्फत सरकार, संसद् र संविधानलाई अस्वीकार गरिसकेको अवस्थामा देशको सहज निकासको लागि अन्तरिम सरकार र अन्तरिम संविधान बन्नुपर्नेमा पूरा नै व्यवस्थाअन्तर्गत तिरस्कृत नेताहरूको सहमति र संयोजनमा अन्तरिम सरकार मात्र बन्नुलाई विडम्बना भनेका छन् । उनले भने,‘यो सरासर जनआन्दोलनको मर्मविपरित हो । केही लम्पट युवाहरूको कुर्सीमोह र अदूरदर्शी सोचका कारण युवाहरूको बदलावको सपनालाई सरकारी कुर्सीसँग साट्ने काम भयो ।’ 

साहले व्यवस्था बिग्रिएकै कारण देशको अवस्था पनि बिग्रिएको टिप्पणी गरे । उनले राज्यको सिस्टमलाई छोडेर सरकार बदल्ने कुरा जनआन्दोलनप्रतिको धोकामात्रै भएको पनि जिकिर गरे। उनले जेनजी आन्दोलनलाई उपलब्धिमूलक बनाउन र जेनजी पुस्तालाई कलंकित हुनबाट बचाउन व्यवस्था बदलावको मुद्दालाई अझै जोडदार र सशक्त ढंगले अगाडि बढाउनुपर्ने पनि आवश्यकता औँल्याए ।

साहले अहिलेको शासन व्यवस्थाको विकल्पबिना अवस्थामा सुधार सम्भव नै नभएको ठोकुवा गरे । साहले जेनजी पुस्तासामु दुईवटामात्रै विकल्प रहेको सुनाए । पहिलो विकल्प, आन्दोलनको सही सम्बोधन गरी इतिहासमा देउतातुल्य सम्मानित हुने र अर्को आन्दोलनलाई कसैको निहित स्वार्थमा प्रयोग गरी सिङ्गै युवा पुस्तालाई राक्षस बनाउने रहेको साहको भनाई छ ।

देशमा विद्यमान गलत व्यवस्थाकै कारण साम्राज्यवादी हस्तक्षेप बढ्दो रहेको साहले औँल्याएँ । उनले भने,‘राष्ट्रियता दिनप्रति दिन कमजोर हुँदैछ । दलतन्त्र हाबी छ । चाहे पुराना होउन् वा नयाँ, जो आएपनि नोकै मनोमानी छ । जनता लाचार र नेता मालामाल अहिलेको व्यवस्थाको उपज हो ।’

बैठकमा साहले राष्ट्रियताको विषयमा अलिक बढी जोड दिएर प्रकाश पारेका थिए । उनले नेपालमा भगौडा दलाल वर्गको वर्चस्व रहेकै कारण वैदेशिक हस्तक्षेप बढ्दो रहेको साहको टिप्पणी छ । उनकाअनुसार यतिवेला राष्ट्रिय स्वाधीनताको विषय गम्भीर बन्दै गएको छ ।

बैठकमा साहले लोकतन्त्रको समेत चर्चा गरेका थिए । नेपालमा अहिले लोकतन्त्र केवल देखाउन दाँतमा सीमित भएको उनको निष्कर्ष छ । 

साहले आफूहरूले सुरु गरेको तेस्रो जनआन्दोलनले नयाँ विकल्पको आधार खडा गरेको स्पष्ट पारे । नेपालमा संविधान, कानुन र संवैधानिक संरचनाहरू समेत नेताहरूको लँगौटी बनेको साहको दाबी छ । सो क्रममा साहले देशको अर्थतन्त्रको पनि चर्चा गरेका थिए । राज्यको लुटकारी चरित्रले गर्दा देशको अर्थतन्त्र धराशायी भइरहेको उनको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप