शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

सडकबाट माग्दैमा प्रचण्डले राजीनामा दिनुहुन्न : चक्रपाणि खनाल

आइतबार, ०५ असोज २०८२, १२ : ०९
आइतबार, ०५ असोज २०८२

सारांश

  • जेनजी पुस्ताको विद्रोहपछि राजनीतिक दलहरूमा पार्टी पुनर्गठनको बहस सुरु भएको छ।
  • माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको राजीनामा मागिरहेका छन्।
  • माओवादी नेताहरूले राजीनामा माग्दैमा प्रचण्डले अहिले राजीनामा नदिने कुरा बताएका छन्।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको विद्रोहका कारण अहिले सबै प्रमुख राजनीतिक दलहरूमा पार्टी पुनर्गठनको बहस चलेको छ । जेनजी विद्रोहपछिको विकसित राजनीतिक घटनाक्रम र पार्टीभित्रको अन्तसंघर्षबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले आइतबार पदाधिकारी बैठक बोलाएको छ ।

पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा निरन्तर बहस गर्दै आएका उपमहासचिव जनार्दन शर्मा पार्टी अध्यक्ष प्रचण्डको राजीनामा मागिरहेका छन् ।

पार्टीभित्र देखिएको अन्तरविरोध र विकसित राजनीतिक घटनाक्रमबारे माओवादी केन्द्रका सचिव चक्रपाणि खनालसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, खनालसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • जेनजीको विद्रोहपछि माओवादीमा मात्र हैन, एमाले, कांग्रेस लगायत पुराना भनिएका दलहरूमा पार्टी पुनर्गठनको बहस चलिराखेको छ, यो बहस अहिले कत्तिको उपयुक्त हो ? 

विद्रोह आफैँमा वस्तुवादी ढङ्गले नै विकसित भइरहेको हुन्छ । जेनजीको विद्रोह एउटा आक्रोशको अभिव्यक्तिमात्रै हो ।  त्यो विद्रोह कति वैचारिक थियो ? कति राजनीतिक थियो ? कति के थियो ? यसले कुन आकार लिन्छ भन्ने कुरा प्रस्ट भइसक्यो । त्यो केही पनि देखिँदैन । यसले कुनै पनि परिणाम देलाजस्तो मलाई लागेको छैन । यसरी हेर्दा सबै ठुला दलहरूमा अहिले मुख्य गरेर कांग्रेस, एमाले र यसको यो परिस्थितिको सिर्जना गर्ने अघिल्लो गठबन्धन सरकार र व्यक्तिगत हिसाबले ओली नै हो ।

अहिलेको परिस्थिति निर्माणमा उनीहरूको ठुलो भूमिका छ, तर पनि फेरि आत्मगत हिसाबले युवाहरूको आक्रोश पनि विविध घटनाबाट भयो । यसको परिणाम भनेको नेतृत्व परिवर्तन गरिहाल्नुपर्छ भन्ने कति उपयुक्त हो ? यस बारेमा छलफल हुन जरुरी छ । किनभने यिनै दल, यही कार्यशैली, त्यसपछि गएर यसको व्यापक विचारमा, व्यापक संगठनमा र अहिलेको स्थिति अनुसार पुनर्गठन नगर्ने हो भने त हुँदैन । तर त्यता वैचारिक कुरा पनि छैन, आगामी रणनीतिक कार्यनीति पनि छैन, पहिले भनिरहेको समाजवादको एउटा विशुद्ध व्याख्या पनि छैन ।

फलानो मान्छे हट्नुपर्छ भन्ने समाधान होइन । अबको समाधान के हो भने– जसले वैचारिक, राजनैतिक, सांगठनिक र अहिलेको युवा पुस्ता, अर्थतन्त्र आदि सबै कुरालाई हेरेर समग्र कार्ययोजना, एकदम नयाँ कार्ययोजना अगाडि सार्न सक्छ, अबको नेता त्यो हो । त्यसैले कसलाई केमा रिस उठ्यो र कति बुझे ? यसमा कुनै केही अर्थ छैन । त्यो आफैँ टुङ्गिन्छ, त्यसरी हुँदैन अब । आन्दोलनको कारणले मात्रै राजीनामा दिनुपर्छ भन्ने कुरा उपयुक्त छैन ।

  • अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्छ भनेर उपमहासचिव जनार्दन शर्माले त सार्वजनिक रूपमै भनिसक्नुभयो नि ?

सबैभन्दा पहिले हाम्रो पार्टीमा जनार्दनजीले राजीनामा दिनुपर्छ । उहाँ जति काण्डैकाण्ड र वितण्डता गर्ने मान्छे छैन । उहाँले दिनुपर्‍यो नि पहिले । त्यसपछि हेरौँला, अर्को को आउने भन्ने ! 

  • पार्टी र राज्यसत्तामा लगातार एउटै व्यक्ति दोहोरिँदा युवाहरू वाक्क भइसक्दा समेत नेताहरूको चेत खुलेको देखिँदैन नि ?

पुराना अनुहार मन नपरे नयाँ अनुहारमा सिधै सीके राउतलाई माने भयो त । उहाँ धेरै पछि आएको हो यो राजनीतिमा । त्यसलाई मानेर गए भयो । होइन भने नयाँबाट कोही खडा गरे भयो । मलाई लाग्छ, वाहियात प्रश्न हुन् यी । तर यो विद्रोह नभएको भए पनि केही पुराना राजनीतिक पार्टीभित्र पुनर्संरचनाको कुरा उठिरहेकै थियो । यो विद्रोहले गर्दा होइन । त्यसरी बुझ्न उपयुक्त हुन्छ भन्ने लाग्छ मलाई । विद्रोहको कारणले होइन कि पहिलेदेखि नै अलिकति बहस चलेकै छ ।

  • अहिले सडकमा उठाएका मुद्दा माओवादीले २०५२ सालमै उठाएका थिए भनेर प्रचण्डले दाबी गरिरहनु भएको  छ, त्यसमा कत्तिको सत्यता छ ?

माओवादीले जति राम्रा मुद्दा १० वर्षको युद्धमा कार्यान्वयन गरे पनि, त्यसपछिका एजेन्डाहरू उठाइराखे पनि, राम्रा कुरा गरे पनि माओवादीको विरोध गर्नुपर्छ भन्ने जुन मानसिकता छ, त्यो मानसिकताको उपज पनि होइन यो परिणाम ? नभए माओवादीले भ्रष्टाचारको विरोध गरेको छ, अरू बेथितिको विरोध गरेको छ । कार्यकारी राष्ट्रपति भनिरहेको छ । संविधान र प्रणालीको सर्भिसिङ, अर्थतन्त्रको सुधार के कसरी गर्ने हो– गरौँ भनेर माओवादीले भनिराखेको छ । यी पूर्वाग्रही लठैतहरूले कहिल्यै कुरा पनि नबुझ्ने अनि हामीलाई गाली गरेरमात्रै हुन्छ ?

  • त्यसो भए माओवादीको एजेण्डा अरुले नै हाइज्याक गर्ने खतरा देखियो, हैन त ?

जेनजीको असाध्य क्षणिक विद्रोह थियो । त्यसको नेतृत्व गलत थियो । कसैले पनि सोचेको होइन । यी जेनजी भनिएकाले पनि कहाँ सोचेको हो त ? यो यहाँ पुग्छ भन्ने तिनलाई पनि थाहा थिएन । पुराना राजनीतिक दलका नेताहरूलाई पनि केही थाहा थिएन कि यो यहाँ पुग्छ भन्ने । तर हामीले अलिकति संकेत गरेकै हो । ओलीको कार्यशैलीले एक दिन सिंहदरबार र बालुवाटार घेर्न सक्छन् भनेर हामीले विभिन्न कार्यक्रमदेखि सदनसम्म खबरदारी गरेकै हो । ओली सरकारको दम्भका कारण अहिलेको स्थिति आएको हो ।

  • जनआक्रोशलाई माओवादीले सरकार ढाल्ने प्रमुख हतियार बनाएको थियो तर तपाईंहरूको घर र कार्यालय नै ध्वस्त भयो, कहाँ चुकियो ?

हामीले आकलन गरेका थियौँ तर हाम्रो नेतृत्वमा यो आन्दोलनलाई ल्याउन सकिन्छ भनेर सचेत प्रयत्न वास्तवमा थिएन । यो विद्रोह हुन्छ भन्ने थाहा थियो तर यसलाई कमसे कम पनि सचेत प्रयत्नले दोहोर्‍याउनुपर्छ, सही ट्रयाकमा लानुपर्छ भन्ने माओवादीलाई पनि थाहा थिएन । त्यसकारण यस्तोे परिणाम भयो ।

माओवादी कहाँ चुक्यो भने एउटा आफ्नो आन्तरिक द्वन्द्वमा फसिराखेको थियो । अलिकति त्यहाँ माओवादी चुक्यो । अर्को कुरा, अहिलेको युवा पुस्ताले सोच्ने तरिका जो संसारभरि नै नयाँ टेक्नोलोजीका साथ अगाडि आएका छन्, त्यसलाई विशुद्ध व्याख्यासहित अहिले बुझ्नलाई कमजोरी गर्‍यो माओवादीले ।

  • पार्टीभित्र विशेष महाधिवेशनको कुरा उठिराखेको छ । वामपन्थी बिचमा एकता गर्ने निर्णय भइसकेको अवस्थामा अब कसरी अगाडि बढ्नुहुन्छ ? 

हिजोका एजेन्डा अब ओझेल पर्‍यो । त्यसकारणले नयाँ विचारका साथ एकता हुनुपर्छ । पार्टी जोडेरमात्रै हुँदैन, तर एकता जरुरी नै छ अहिले पनि । त्यो कुरामा हामी अहिले पनि सचेत छौँ । सबै पार्टीमा बहस के हुनुपर्‍यो भने यो विद्रोहलाई हेर्ने दृष्टिकोण ठिक हुनुपर्‍यो । त्यसपछि गएर पुराना पार्टीहरूले धेरै कुरामा पुनर्संरचना गर्नुपर्‍यो । नेतृत्वको सवालमा परिपक्व नेतृत्व हुनुपर्छ । त्यसमा पुरानो वा नयाँ भन्ने छैन । अहिलेको अवस्थाको सही विश्लेषण गरी यसलाई निकास दिन सक्ने हुनुपर्छ ।

  • पार्टीलाई अगाडि लैजान एउटा विधि र प्रक्रिया विधानमै राख्नुपर्ने होला नि, हैन ?

अहिले विधान छँदै थियो । जहाँसम्म दुई कार्यकालको कुरा छ, ठिक छ–त्यो हामीले भनेकै छौँ । दुई कार्यकाल सुनिश्चित गर्नुपर्छ भन्ने कुरा अलिकति नयाँ ट्रयाकबाट छलफल गरिन्छ । पुरानो ट्रयाकबाट एक चरण छलफल भयो । त्यहाँ पुग्न सकिएन । बहस चले, सबै भए, केही अगाडि बढियो तर चाहे जति बढ्न सकिएन ।

अहिले केही साथीहरूले ‘हामीले भनेको कुराहरू मानिदिएको भए यो विद्रोह हुँदैनथ्यो’ भनेर जसरी व्याख्या गरिराखेका छन्, उहाँहरू यो विद्रोह रोक्ने अनुहार होइन ।

  • माओवादीका नेताहरूले राजीनामा माग्दैमा प्रचण्डले अहिले राजीनामा दिनुहुन्न त त्यसो भए ?

राजीनामा हुँदैन । हामी बसेर छलफल गर्दै जाँदा नेतृत्व निर्माण कसरी गर्ने भन्ने बहस हुन सक्छ । अहिले कसैले माग्दैमा त्यहाँ राजीनामा दिने, गरिदिने कुरा हुन्न । सडकमा मागेर कसले दिन्छ यहाँ राजीनामा ? त्यो त हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप