बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

अन्योलमा कांग्रेस–एमाले : कार्की सरकारका निर्णय र काम–कारबाही नियाल्दै

आइतबार, ०५ असोज २०८२, १६ : ०८
आइतबार, ०५ असोज २०८२

सारांश

  • जेनजी आन्दोलनपछिको अवस्थाबारे दलहरू अन्योलमा छन्, जसले गर्दा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ।
  • कांग्रेस र एमालेका नेताहरूले पार्टी पुनर्गठनको बहसलाई बेमौसमको बताएका छन् भने पार्टीभित्रै छलफल हुनुपर्नेमा जोड दिएका छन्।
  • अन्तरिम सरकारले पूर्णता नपाएको र नागरिकले सुरक्षाको अनुभूति गर्न नसकेको अवस्थामा दलहरूले सरकारका कामको सूक्ष्म निगरानी गरिरहेका छन्।

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको परिवर्तित अवस्थामा अपनाउने रणनीति र लिनुपर्ने नीतिबारे राजनीतिक दलहरू अन्योलमा परेका छन् ।

जेनजी आन्दोलनका क्रममा मुलुकमा ठुलो जनधनको क्षति भएसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए । त्यसपछि आन्दोलनकारी र राष्ट्रपतिबिच सेनाको मध्यस्थतामा भएको वार्ताबाट पूर्वप्रधान न्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । तर कार्की नेतृत्वको सरकारले अझै पूर्णता पाइसकेको छैन भने नागरिकले पूर्ण रूपमा सुरक्षाको अनुभूति गर्न पाएका छैनन् । 

यहीबेला राजनीतिक दलहरूमा पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहससमेत चर्को रूपमा उठेको छ । यद्यपि ती बहस औपचारिक फोरममा पुगिसकेका छैनन् ।

प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रमा मात्र होइन, चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समेत पार्टी पुनर्गठनको उपयुक्त समय आएको भनेर एक पक्षले भनिरहे पनि अर्को पक्षले यस्तो बेला नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनले पार्टी थप कमजोर हुने बताइरहेको छ । यसबाहेक नागरिक उन्मुक्ति पार्टी, जनमतमा समेत पार्टी पुनर्गठन हुनुपर्ने आवाज चर्को बनेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत मुलुक नै कठिन परिस्थितिमा गुज्रेको बेला नेतृत्व परिवर्तनको बहसले पार्टीलाई नै कमजोर बनाउने बताउँछन् ।

‘हाम्रो पार्टी नेपाली कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । पार्टी सभापतिले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ । उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो’, प्रवक्ता महतले भने, ‘अझै उहाँ पूर्ण स्वस्थ भइसक्नु भएको छैन । यो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो ।’

डा. महतको बुझाइमा अहिले नै पार्टीमा नेतृत्वबारे बहस हुनु आलो घाउमा नुनचुक थप्नुसरह हो । ‘पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ,’ महतले भने, ‘हामी केही दिन पर्खन सक्दैनौँ ? आकाश झरिहाल्छ ? अवश्य पनि हामी पार्टीभित्र मन्थन गर्छौं नि ! पार्टीका संरचना छन्, त्यहाँ गम्भीर छलफल गर्छौं ।’

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस अगाडि सार्दै आएकोमा महतको असन्तुष्टि छ । थापा र शर्माले जेनजी आन्दोलनको चाहनाअनुसार पार्टी पार्टी पुनर्संरचना गरेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् ।

तर नेता महत पार्टी एक भएर अघि बढ्नुपर्ने बेलामा अन्य बहसको औचित्य नभएको दावी गर्छन् । ‘अहिले एक हुने बेला हो । एक भएर आफ्ना कमी–कमजोरी हटाउँदै बलियो पार्टीका रूपमा अघि बढ्नुपर्छ, तर घाउ लागेको बेलामा घाउमा नुन छर्ने प्रवृत्ति गलत हो,’ महतको भनाइ छ ।

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि यतिवेला पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको सडकबाट भइरहेको बहसलाई बेमौसमको बाजाको संज्ञा दिँदै पार्टी नेतृत्वमाथिको हमलाका रूपमा बुझ्नुपर्ने तर्क गर्छन् ।

‘पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको कुरा जसरी बाहिर उठिरहेको छ, त्यो पार्टी हेडक्वार्टरमाथिको हमला हो’, प्रचार विभाग प्रमुख गौतमले रातोपाटीसँग भने, ‘हमला भएको अवस्थामा सडकबाट पुनर्गठनको कुरा उठाउनुलाई स्वाभाविक मानिँदैन ।’

उनले पार्टीको आन्तरिक छलफल र बहसको विषय सडकबाट उठाइनु अनुचित भएको समेत बताए । ‘बरु समग्रतामा पछिल्लो घटना कसरी भयो, यसको स्रोत के हो ? यसका पछाडि के छ ? यो कहाँ जान्छ भन्ने विषयको समग्र पार्टीको आन्तरिक जीवनभित्र समीक्षा हुन जरुरी छ’, उनले भने, ‘यसरी आन्तरिक रूपमा समीक्षा भइसकेपछि यसका जिम्मेवार को–को हुन् भन्ने कुरा पहिचान हुन्छ ।’

गर्नुपर्ने काम नै नगरी एक्कासी जोमाथि हमला भएको छ, त्यसलाई नै हटाउनुपर्छ भनेर पार्टी पुनगर्ठनको नारा बाहिरी फोरममा उठाउनु इथिकल नभएको गौतमको दाबी छ । ‘त्यसका निम्ति पार्टीका औपचारिक मिटिङ बसेर समग्र घटनाक्रमको विश्लेषण गर्दै कारणहरू खोजेपछि के–के काम गर्नुपर्छ भन्ने संस्थागत फैसला गर्न जरुरी छ’, गौतमले भने, ‘त्यो नगरी नै जसरी बाहिर उचालिन्छ, त्यसले आन्तरिक मुद्दालाई कमजोर बनाउँछ ।’

नेता गौतमले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बन्ने प्रक्रियामै आपत्ति र असहमति जनाए पनि विषम परिस्थितिमा कार्की नेतृत्वको सरकारलाई ठिकैमात्र भनेको बताए । ‘अन्तरिम सरकारले पूर्णतासमेत प्राप्त गरेको छैन । मन्त्रीहरू खोजेर हिँड्नुपर्ने परिस्थिति छ’, उनले भने, ‘भदौ २३ र २४ गते भएको घटनामा मनिसहरूले ज्यान गुमाए, राज्यको सम्पत्ति खरानी भयो । यसको न्यायोचित छानबिनका लागि हामीले शक्तिशाली आयोग गठन गर भनेर माग गरेका छौँ ।’

त्यसरी बन्ने आयोगले घटनाको बस्तुनिष्ट छानबिन गरेर कारबाही भएपछि र राजनीतिक दलहरूले सुरक्षाको अनुभूति गर्दै आफ्ना गतिविधि गर्न सक्ने अवस्था भएपछि मात्र पार्टीभित्र हुनुपर्ने बहस र छलफल हुने गौतमको भनाइ छ । ‘देशभर सबै पार्टीमा सुरक्षाको अनुभूति हुनुप¥यो । अहिले सुरक्षाको अनुभुति नै हुन सकेको छैन । सुरक्षाको अनुभूति नभइकन पार्टीकै रिस्कमा आफ्ना गतिविधि भइरहेका छन् । जब सुरक्षाको अनुभूति हुन्छ, तब पार्टीका औपचारिक मिटिङ बस्छन्’, गौतमले भने ।

पार्टीविहीन लोकतन्त्रको परिकल्पना नगरिएको प्रस्ट पार्दै उनले परिस्थिति थिग्रिएर दलहरू बसेर छलफल गर्नसक्ने वातावरण राज्यले बनाएपछि यी सबै चिजको समीक्षा हुने प्रस्ट पारे ।

अहिले सरकारले के गर्दैछ भनेर एमाले लगायतका दलहरूले मसिनो ढंगले नियालिरहेका गौतमको भनाइ छ । ‘अन्तरिम सरकारका निर्णय र काम–कारबाही नियाल्दै छौँ । सरकारले कहिले पूर्णता पाउँछ ? मन्त्रीहरूका पृष्ठभूमि के हुन् ? के गर्छन् ? जेनजीले उठाएका मुद्दा भ्रष्टाचार र सुशासन, राजनीतिक स्थायित्व कसरी सम्बोधन हुन्छ भन्ने कुरालाई पनि हामीले हेरिरहेको अवस्था छ,’ उनले भने ।

आजको भोलि फलानालाई हटाउने र फलानालाई नेता बनाउने भन्नु सस्तो लोकप्रियतामात्र हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप