जेन–जीको आन्दोलन : विगत, वर्तमान र भविष्य
नेपालमा विभिन्न समयमा भएका आन्दोलनले राजनीतिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान दिएका छन् । २०४६ को जनआन्दोलनदेखि २०६२/६३ को जनआन्दोलनसम्मका हरेक आन्दोलनले नयाँ व्यवस्था, नयाँ संविधान र नयाँ राजनीतिक विचारधारा जन्माएको छ । आजको नेपालमा जेन–जी (सन् १९९७ देखि २०१२ सम्म जन्मेको पुस्ता) ले आन्दोलनलाई चरमोत्कर्षमा पुर्याएर अन्तरिम सरकारसम्म गठन गर्न सफल भएको तथ्य ऐतिहासिक छ ।
यो आन्दोलनलाई नजिकबाट नियाल्दा यसको स्वरूप, नारा, माग र अभिव्यक्तिमा एउटा समान विशेषता देखिन्छ— सबै परम्परागत राजनीतिक शक्ति, पार्टी र नेतालाई एउटै ‘पुराना’का रूपमा अस्वीकार गर्नु । यसले विगतका राजनीतिक घटनाक्रम र उपलब्धिप्रति निराशा मात्र उब्जाएको छैन, नयाँ प्रकारको शासन, नयाँ प्रकारको प्रतिनिधित्व र नयाँ प्रकारको आशा समेत खोजेको स्पष्ट देखिन्छ । यसरी वैकल्पिक सोच निर्माण हुँदै क्रियाकलापमा आउँदै गर्दा प्रशस्तै अमिल्दा पक्ष पनि देखिन्छन् ।
यस आलेखमा जेन–जीको आन्दोलनलाई विगत, वर्तमान र भविष्य तीन परिप्रेक्ष्यमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।
- विगत : आन्दोलनको पृष्ठभूमि र कारण
नेपालको विगत दुई दशकको राजनीतिक यात्रा अत्यन्तै घटनापूर्ण रह्यो । २०५० को दशकको सुरुदेखि अन्त्यतिर र २०६० को दशकसम्म सशस्त्र द्वन्द्व, राजतन्त्रको पतन, संविधानसभा, गणतन्त्रको घोषणा र सङ्घीय संविधानको निर्माणसम्म आइपुग्दा देशले ठुलो राजनीतिक मूल्य चुकाएको छ तर यी घटनापछि पनि जनताले अपेक्षित स्थिरता, सुशासन र समृद्धि अनुभूति गर्न सकेनन्, यो सत्य कुरा हो ।
विगत दुई दशकसम्म सत्तामा रहँदै आएका दलले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको जस्तो ऐतिहासिक उपलब्धि त ल्याए, तर शासनप्रणालीमा पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहमा सुधार ल्याउन असफल भए । नेताहरूबिचको सत्ता सन्तुलनको खेल, संसद् विघटन र पुनःस्थापनाका घटना, भ्रष्टाचार र भाइभतिजावाद र नागरिक सरोकारका विषयमा गरिएका बेवास्ताले युवा पुस्तामा गहिरो असन्तोष पैदा गर्यो ।
आजको जेन–जी आन्दोलनले उठाएका माग (प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली) कुनै नयाँ विषय होइनन् । यी माग करिब २० वर्षदेखि विभिन्न राजनीतिक शक्तिद्वारा उठाइँदै आएका थिए । पुराना दलहरूले आफ्नो स्वार्थ र सत्ता सन्तुलनका कारण यी प्रस्तावलाई कार्यान्वयनतर्फ लैजान सकेनन् । यही असफलताले आजको आन्दोलनलाई थप वैचारिक आधार दिएको छ ।
२०६२/६३ को आन्दोलनताका जन्मिएका वा किशोर अवस्थामा रहेका आजका जेन–जी युवाहरू अहिले समाजको सक्रिय हिस्सा बनेका छन् । उनीहरूले राजनीतिक दलहरूको विगतको यात्रा, बारम्बारको असफलता र शासनमा जनताप्रति बेवास्तालाई नजिकबाट अनुभव गरे । यसैले उनीहरूका लागि विगतका शक्ति र संरचना ‘पुराना’ र अस्वीकारयोग्य बने ।
- वर्तमान : आन्दोलनको स्वरूप, विशेषता र उपलब्धि
आजको आन्दोलनलाई नियाल्दा यसले नेपालको राजनीतिक इतिहासमा केही नयाँ परिभाषा दिएको देखिन्छ ।
कुनै एउटा दल वा विचारधाराविरुद्ध मात्रै होइन, यो आन्दोलनले सबै दल, सबै विचारधारा र सबै नेताहरूप्रति समान असन्तोष प्रकट गरेको देखिन्छ । आन्दोलनकारीका नारा, पोस्टर, भाषण वा सामाजिक सञ्जालका अभिव्यक्तिमा ‘पुराना’ शब्दको प्रयोग बारम्बार भएको छ । यसले युवा पुस्ताले विगतका सम्पूर्ण शक्ति संरचनालाई असफल मान्दै नयाँ विकल्प खोजिरहेका छन् भन्ने बुझ्न धेरै कठिनाइ पर्दैन ।
जेन–जी पुस्ता डिजिटल युगमा हुर्किएको पुस्ता हो । उनीहरूले आन्दोलनलाई सामाजिक सञ्जालमार्फत व्यापक बनाए । सूचना प्रवाह, नारा, पोस्टर र भिडियोमार्फत आन्दोलन छोटो समयमा देशभर फैलियो । यसले आन्दोलनलाई परम्परागत ‘मञ्च–सभा’भन्दा फरक ढङ्गले जनस्तरमा पुर्यायो ।
आन्दोलनले चरमोत्कर्षमा पुगेर अन्तरिम सरकार समेत गठन गरेको तथ्य अत्यन्तै महत्त्वपूर्ण छ । नेपालको राजनीतिक इतिहासमा हरेक ठुलो आन्दोलनपछि अन्तरिम संरचना बनेको छ । २०४६ पछि अन्तरिम सरकार, २०६३ पछि अन्तरिम संसद र संविधानसभा अनि अहिले पुनः अन्तरिम सरकारको स्वरूप देखिनु आन्दोलनको प्रभाव र जनआकांक्षाको परिणाम हो ।
आन्दोलनकारीका मुख्य तीन माग हुन्— १) प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, यो माग कार्यकारी शक्तिको स्थिरता र जवाफदेहिता सुनिश्चित गर्न राखिएको हो । २) पूर्णसमानुपातिक निर्वाचन प्रणाली, यो माग सबै वर्ग, जाति, लिङ्ग, क्षेत्रलाई समान प्रतिनिधित्व दिलाउन गरिएको हो । ३) सुशासन र पारदर्शिता, यो माग भ्रष्टाचार अन्त्य गर्न, नागरिक सेवामा सहजता र स्रोत–साधनको समान उपयोग गर्न राखिएको हो ।
यी मागले अहिलेको प्रतिनिधि लोकतन्त्रको कमजोरीप्रति सीधा प्रश्न उठाएका छन् ।
- भविष्य : सम्भावना, चुनौती र विकल्प
आन्दोलनले आफ्नो ऊर्जा र एकतालाई संस्थागत गर्न सक्यो भने नेपालमा नयाँ शासन संरचना स्थापित हुन सक्छ । वर्तमानमा कायम रहेको नेपालको संविधान र यसबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै नयाँ निर्वाचन गर्ने अधिकार र कर्तव्यसहित अन्तरिम सरकारको गठन भइसकेको छ । कमसे कम अन्तरिम सरकारले गर्न नसक्ने भए पनि पुरानामध्येका दलबाट स्थापित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको नारा स्थापित भएको छ । पूर्णसमानुपातिक निर्वाचनले स्थान पाएको छ, छलफलमै भए पनि । पूर्णसमानुपातिक प्रणालीले विविधतापूर्ण समाजलाई न्याय दिन सक्छ । निर्वाचनमा गरिने अनैतिक कार्य र अनावश्यक खर्चबाट देश जोगिन्छ । राजनीतिक सुझबुझ बोकेपछि कमजोर आर्थिक अवस्थाका नागरिक पनि राज्यको कानुन निर्माण गर्ने निकायसम्म सहजै पुग्न सक्छन् । यसले नागरिकलाई अझ बढी आशा, विश्वास र सहभागिता दिलाउन सक्छ । आन्दोलनसँग गम्भीर चुनौती पनि छन् ।
जेन–जी पुस्ताले पुरानालाई अस्वीकार गरे पनि नयाँ संरचनाको कार्यान्वयनमा अनुभव र रणनीतिक योजना आवश्यक पर्छ । सुझबुझका साथ करिब ७० वर्षको राजनीतिक आन्दोलनका अनुभव, १० वर्षको जनयुद्ध तथा जनविद्रोहले स्थापित गरेका मान्यता र ती मान्यताका आधारलाई लत्याएर न राजनीतिक अभीष्ट पूरा हुन सक्ला न त परिपक्वता । संयम भएर सोचेर साँच्चै परिवर्तन र अधिकार स्थापित गर्न खोजेको हो भने यसमा सतर्क हुन जरुरी हुन्छ ।
जेन–जी पुस्ताले पुरानालाई अस्वीकार गरे पनि नयाँ संरचनाको कार्यान्वयनमा अनुभव र रणनीतिक योजना आवश्यक पर्छ । सुझबुझका साथ करिब ७० वर्षको राजनीतिक आन्दोलनका अनुभव, १० वर्षको जनयुद्ध तथा जनविद्रोहले स्थापित गरेका मान्यता र ती मान्यताका आधारलाई लत्याएर न राजनीतिक अभीष्ट पूरा हुन सक्ला न त परिपक्वता ।
आन्दोलनलाई केवल सडक प्रदर्शनमा सीमित नगरी संस्थागत सङ्गठन र नेतृत्वमा परिणत गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न रहन्छ । यो एउटा ठुलो चुनौती हो । दलीय व्यवस्थालाई अङ्गीकार गरेर बनाइएको संविधानलाई जनताको पक्षमा कार्यान्वयन गर्न दलविहीन अवस्थामा सम्भव छैन । जेन–जी सङ्गठित छैनन् भनिन्छ । असङ्गठित शक्तिहरू लामो समयसम्म अनुशासित भएर बस्न सक्छन् र निश्चित सिद्धान्तमा अटल रहन्छन्, लामो समयसम्म पहरा दिन सक्छन् । यो अवस्थामा धमिलो पानीमा माछा मार्ने शक्ति हाबी हुने सम्भावना प्रबल रहन्छ ।
नेपाल सानो देश भएकाले विश्व राजनीतिमा हुने प्रभावलाई बेवास्ता गर्न सकिँदैन । नयाँ संरचना अन्तर्राष्ट्रिय स्तरमा कसरी स्वीकार्य हुन्छ भन्ने प्रश्न पनि उठ्छ । निश्चित सिद्धान्त, मार्गदर्शन तथा अन्तर्राष्ट्रिय सम्बन्ध र प्रभाव निकै बलवान् हुन्छ ।
आन्दोलनले अपेक्षित परिणाम दिन सकेन भने नयाँ पुस्तामाझ पुनः निराशा बढ्ने खतरा रहन्छ । यो नयाँ पुस्तालाई आशावादी बनाइराख्नुपर्ने हुन्छ । यो दायित्व प्रत्येक राजनीतिक दल, प्रत्येक नागरिकको कर्तव्य हुन्छ । हरेक राजनीतिक दलमा युवा शक्ति सङ्गठित हुन्छ । त्यो युवा पनि यही पुस्ता हो । दलहरूले आ–आफ्ना दलका युवालाई सकारात्मक बनाइराख्न सके भने देश पूरै सकारात्मक बन्न सक्छ ।
- विकल्प र उपाय
आन्दोलनलाई सफल बनाउन केही आधारभूत उपाय आवश्यक देखिन्छ । आन्दोलनका मागलाई संवैधानिक बहसमा परिणत गर्नुपर्ने हुन्छ । दल–दलमा र पुस्ता–पुस्तामा बहस तथा छलफल जरुरी छ । त्यस्ता छलफलमा विभिन्न क्षेत्रका विज्ञलाई समेट्न जरुरी छ ।
नयाँ पुस्ताले विकल्पका नीतिगत खाका प्रस्तुत गर्नुपर्छ, सङ्गठित भएर नीति–निर्माण गर्नुपर्छ । आधाररेखा तयार नगरी भविष्य कोरिँदैन । हरेक पक्ष र सन्दर्भमा परनिर्भर हुँदा कसरी फरक पर्छ भन्ने कुरा अन्तरिम सरकार बन्ने क्रममै देखिइसकेको छ ।
राष्ट्रिय हितलाई केन्द्रमा राखी व्यावहारिक सुधार गर्ने र नीति निर्माण गर्न सहयोगी भूमिका खेल्नुपर्छ र सङ्कुचनदेखि टाढा रही उदार र स्पष्ट दृष्टि बोक्नुपर्छ ।
- निष्कर्ष
जेन–जीको आन्दोलन केवल वर्तमानको असन्तोष होइन, विगत दुई दशकदेखि थाती रहेको असफलताप्रतिको प्रतिक्रिया पनि हो । यसले पुराना राजनीतिक संरचना र शक्तिलाई अस्वीकार गर्दै नयाँ शासन प्रणालीको खोजी गरेको छ । आन्दोलनले अन्तरिम सरकारसम्म गठन गरेर आफ्नो प्रभावकारिता देखाइसकेको छ । यसको वास्तविक सफलता भने भविष्यमा यसको सङ्गठनात्मक परिपक्वता, नीतिगत स्पष्टता र राष्ट्रिय हितलाई प्राथमिकता दिने क्षमतामा निर्भर रहनेछ ।
नेपालको इतिहासले देखाएको छ — हरेक आन्दोलनले नयाँ संरचना जन्माएको छ । अब प्रश्न छ ः के जेन–जीको आन्दोलनले पनि नेपालको भविष्यलाई दीर्घकालीन स्थिरता, सुशासन र समावेशी लोकतन्त्रतर्फ डार्ेयाउन सक्छ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण