बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अर्थमन्त्री खनालले भेटे जेनजी आन्दोलनका घाइते सन्तनुलाई, बुबा महेशले राखे ३ माग

बुधबार, ०८ असोज २०८२, १९ : २५
बुधबार, ०८ असोज २०८२

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा घाइते सन्तनु ढकाललाई भेटे, र उनको उपचारको बारेमा जानकारी लिए ।
  • घाइतेका बुबाले मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचार, र आन्दोलनका मागहरू सम्बोधन गर्न माग गरे ।
  • मन्त्रीले घाइतेहरूको उपचार खर्च र आवश्यक व्यवस्था गर्ने आश्वासन दिए, तर सन्तनु बोल्न नसक्ने अवस्थामा रहे ।

विराटनगर । जेनजी आन्दोलनका क्रममा घाइते भएका मोरङ बूढीगंगाका सन्तनु ढकाललाई भेट्न अर्थमन्त्री रामेश्वर खनाल विराट टिचिङ हस्पिटल पुगेका छन् । भेटका क्रममा घाइतेका बुबा महेश ढकालले मन्त्रीसमक्ष मृतकका परिवारलाई सहयोग, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार तथा आन्दोलनका माग सम्बोधन गर्नुपर्ने लगायत तीनवटा मुख्य माग राखेका छन् ।

घाइते सन्तनुका बुवा महेशले मन्त्रीसँग भएको संवादबारे जानकारी दिएका हुन् । उनले मन्त्रीसमक्ष आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारको आर्थिक अवस्था र वृत्तिका लागि सरकारले हेर्नुपर्ने माग राखेका थिए ।

त्यसैगरी दोस्रो मागको रूपमा उनले आफ्नो छोरा लगायत सम्पूर्ण घाइतेहरूको उपचारमा सरकारले तदारुकता देखाउनुपर्ने बताए । ‘सबै विद्यार्थी र पढ्ने उमेरका छन्, उनीहरूको जीवन पुनः नियमित बनाउन छिटोभन्दा छिटो प्रभावकारी उपचारको व्यवस्था गरिनुपर्छ,’ उनले मन्त्रीसमक्ष भनेको कुरा बताए । 

उनले तेस्रो मागको रुपमा देशमा आएको नयाँ परिवेश र सरकारलाई प्राप्त नयाँ जिम्मेवारीलाई राम्रोसँग निर्वाह गर्न आग्रह गरेको बताए । ‘युवाहरूले जनआन्दोलनमार्फत उठाएका आवाज र मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्छ,’ उनले मन्त्रीलाई भने ।

आफ्ना माग सुनेपछि मन्त्रीले सरकारले घाइतेहरूको उपचार खर्च लगायत सबै आवश्यक व्यवस्था गर्ने आश्वासन दिएको बताए । ‘ठीकै छ, हामी गर्छौं । घाइतेहरूको लागि हामी व्यवस्था गर्छौं, चिन्ता लिनु पर्दैन भन्नुभयो,’ ढकालले भने । भेटका क्रममा घाइते सन्तनु भने बोल्न सक्ने अवस्थामा थिएनन् । उनका बुबा महेशका अनुसार उनले बोल्न नसके पनि आफूलाई भेट्न आएकोमा मन्त्रीलाई लेखेर ‘थ्याङ्क यु’ भनेका थिए ।

गत भदौ २३ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर १९ वर्षीय सन्तनु ढकाल गम्भीर घाइते छन् । मोरङ सुन्दरहरैंचाको सुकुना माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर पढिरहेका बूढीगंगा-७ का उनी अहिले विराट टिचिङ अस्पतालको शय्यामा जीवनसँगको लडाइँमा छन् । छोराको हेरचाहमा बुबा महेश नियमित खटिएका छन् । सन्तनुलाई ९ घन्टासम्म शल्यक्रिया गरिएको थियो । 

गोली लागेका भागको क्षतिग्रस्त छाला र मांसपेशीलाई शरीरको अन्य भागको छालाले प्रतिस्थापन गरिएको र जबडाको हड्डीमा गम्भीर चोट लागेको चिकित्सकहरूले बताएका छन् ।

घाइतेको निःशुल्क उपचार

उपचाररत सन्तनुको उपचारमा समस्या भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला असत्य भएको परिवारले स्पष्ट पारेका छन् । सन्तनुका बुबा महेशले विराट मेडिकल शिक्षण अस्पतालमा भइरहेको उपचार, शल्यक्रिया तथा औषधिसमेत पूर्णरुपमा निःशुल्क उपलब्ध गराइएको बताए ।

‘अस्पतालले सम्पूर्ण खर्च नै बोकिरहेको छ, हाम्रो परिवारलाई कुनै आर्थिक भार परेको छैन,’ उनले भने । त्यस्तै उनले सन्तनुको नाममा कसैले पनि आर्थिक संकलन नगर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा घाउ–चोटका तस्बिर पोस्ट भइरहेको विषयमा पनि उनले आपत्ति जनाएका छन् । ‘त्यस्ता तस्बिर देख्दा परिवारलाई भावनात्मक चोट पुग्छ, त्यसैले यस्तो नगर्न सबैलाई अनुरोध गर्दछु,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप