प्रचण्डको सन्देश : नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा होइन, म निष्क्रिय हुन पनि सम्भव छैन
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरणबारे प्रष्ट संकेत गर्दै आफू पदमा टाँसिरहन नचाहेको बताए।
- प्रचण्डले पार्टीलाई नयाँ विचार, शैली र अभियानमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए, र राष्ट्रिय स्वाधीनता संकटमा परेको बताए।
- उनले पदाधिकारीसहित केन्द्रीय समितिलाई अस्थायी रुपमा स्थगित गरेर आयोजक समितिमा लैजाने प्रस्ताव राखे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको बताएका छन्। पार्टीको केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफू जिम्मेवारीबाट पलायन नहुने तर पदलोलुप पनि नभएको सन्देश प्रवाह गरेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
बैठकको सुरुवातमै प्रचण्डले भने, “परिस्थिति निकै नै जटिल छ। सायद यो परिस्थितिको जटिलता र संवेदनशीलतालाई व्यक्त गर्ने हामीले प्रयोग गर्दै आएका शब्द नै अपर्याप्त हुने जस्तो देखिन्छ। त्यति विकराल, त्यति गम्भीर अवस्थामा हामी यो बैठक बस्दैछौँ।'
उनले विगतको जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र समुदायका आन्दोलनबाट सामन्तवादमाथि विजय हासिल गरे पनि वैदेशिक प्रतिक्रियावाद र दलाल पुँजीवादमाथि भने अझै विजय हासिल नभएको प्रस्ट पारेको ती नेताको भनाइ छ।
जिम्मेवारीबाट नभाग्ने प्रचण्ड
नेतृत्वबारे बहस चलिरहेको सन्दर्भमा उनले आफू पदमा टाँसिरहन नचाहेको तर जिम्मेवारीबाट भाग्ने पक्षमा पनि नरहेको दोहोरो कुरा गरे । 'आन्दोलनबाट निष्क्रिय हुने भन्ने मेरो सम्भव पनि छैन, मेरो नेचर पनि होइन। तर पदलोलुपता पनि मेरो स्वभाव होइन,' उनले भने।
उनले आफूले अध्यक्ष पद आफैंले मागेर पाएको नभई परिस्थितिले जिम्मेवारी काँधमा हालिदिएको दाबी गरे। '४६ सालको जनआन्दोलन अगाडि रोक्दा रोक्दै अन्ततः परिस्थिति त्यस्तो आयो कि मैले महामन्त्रीको जिम्मेवारी लिनै पर्यो। त्यसपछि जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा र गणतन्त्रसम्म आइपुग्दा पार्टीले दिएको विश्वास बोकेको हुँ,' उनले स्मरण गरे।
नेतृत्व हस्तान्तरणका बारेमा स्पष्ट संकेत दिँदै प्रचण्डले अगाडि भने, 'नेतृत्व सधैं अध्यक्षकै हातमा रहनुपर्छ भन्ने होइन। कसैलाई टिको लगाएर नेतृत्व निर्माण हुने कुरा होइन। एउटा वैज्ञानिक विधि र प्रक्रियाबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ।'
उनले पार्टीमा उठेका असन्तुष्टि र बाहिर बनेको धारणाबारे पनि बैठकमा राखे । उनले भने, 'कतिपयलाई लाग्छ, प्रचण्डले आफैं पद नछोड्ने वातावरण बनाइराखेको छ कि? म प्रस्ट पार्छु, ममा त्यस्तो सोच छैन। तर परिस्थितिले मागे अनुसार नेतृत्व हस्तान्तरण हुन्छ।'
उनले हालैको जेनजी आन्दोलनले उठाएको प्रश्न गम्भीर रहेको समेत बताए । प्रचण्डले भने, 'जनताले इमान्दार नेताको अपेक्षा गरेका छन्, तर त्यो पुरा नभएकै कारण पार्टीहरुप्रति वितृष्णा बढेको हो। यही मानसिकतालाई अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरुले लोकतन्त्र र राष्ट्रिय स्वाधीनतालाई भताभुङ्ग पार्ने षडयन्त्रका रुपमा उपयोग गरिरहेका छन्।'
उनले पार्टीलाई अझ सुदृढ एकतामा बाँध्दै नयाँ विचार, नयाँ शैली र नयाँ अभियानमार्फत अगाडि बढाउनुपर्नेमा जोड दिए। 'हामीलाई हरेक दृष्टिले सुदृढ पार्टी, सुदृढ आन्दोलन चाहिएको छ। राष्ट्रिय स्वाधीनता अहिले यति ठूलो संकटमा परेको छ, इतिहासमा यसरी कहिल्यै थिएन,' प्रचण्डले भने ।
अस्थायी संरचनाको प्रस्ताव
बैठकलाई सम्बोधन गर्दै उनले पदाधिकारीसहित केन्द्रीय समितिलाई अस्थायी रुपमा स्थगित गरेर आयोजक समितिमा लैजाने प्रस्ताव राखे। 'यसले कम्तिमा पनि माओवादी केन्द्र अरुभन्दा फरक छ भन्ने जनतामाझ सन्देश जानेछ। साथै, नेतृत्व हस्तान्तरणको प्रक्रियागत यात्रा पनि सुनिश्चित हुनेछ,' उनले भने।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण