शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

ओलीलाई ‘अध्यक्ष छाड्नुस्’ भनेर खुलस्त भन्नै सक्दैनन् एमाले नेता

बादलले गरे नैतिक जिम्मेवारीको चर्चा, अन्यको जोड पुनर्गठनमा
सोमबार, १३ असोज २०८२, ११ : ५७
सोमबार, १३ असोज २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ । ओलीकै कारण सिङ्गो एमालेको छवि धुमिल भएको र नेता कार्यकर्ताको भविष्य समेत अन्योल भएको टिप्पणी भइरहँदा पार्टी बैठकमा भने नेताहरूले ओलीलाई ‘नेतृत्व छाड्नुस् र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुस्’ भनेर खुलस्त भन्ने हिम्मत गर्न सकेका छैनन् ।

नेताहरूको यही कमजोरीका कारण अध्यक्ष ओलीले आफ्नो कुनै कमजोरी नभएको बरु अरूहरूले आफूमाथि षड्यन्त्र गरेर २३ र २४ को घटना भएको भन्न पछि परेनन् ।

‘अध्यक्ष सामान्य ढंगले प्रस्तुत हुनुभएको छ । कमजोरी महसुस र आत्मालोचना गर्ने भन्दा पनि बाहिरी शक्ति लागे भन्नेतिरै जोडबल देखिन्छ’, एक नेताले भने, ‘आइतबारको बैठकमा पनि उहाँ लामो छलफल नगरौँ भन्ने पक्षमा हुनुहुन्थ्यो ।’ तर अधिकांश सदस्यहरूले परिस्थिति जटिल छ, छलफल र विश्लेषण अनिवार्य छ भनेपछि बैठक लम्बिएको थियो ।

‘हाम्रो र हामीले नेतृत्व गरेको सरकारका कमजोरीबारे पनि समीक्षा हुनुपर्छ, यसको निर्क्योल हुनुपर्छ, आत्मालोचना गरेर जानुपर्छ । पार्टी पनि पुनर्गठन गरेर नयाँ ढंगले जानुपर्छ’, भनेर धेरै सचिवालय सदस्यहरूको एउटै आवाज सुनेपछि ओली बल्ल लामो छलफलका लागि तयार भएका थिए ।   

आइतबारको बैठकमा अन्य नेता भन्दा उपाध्यक्ष रामबहादुर थापा बादल अलि फरक ढंगले प्रस्तुत भएका थिए ।

थापाले नीति कार्यक्रम र कार्यशैलीको असफलताको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै नैतिक जिम्मेवारी लिने प्रचलन हुँदै आएको धारणा राखेका थिए ।

जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार गुण्डुमा बसेको सचिवालय बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी पुनर्गठनमै जोड दिएका थिए । तर त्यो पुनर्गठन कस्तो हुने, कहिले हुने र कसरी हुने जस्ता विषयमा ठोस छलफल र विमर्श भने नेताहरूबिच भएन । बोल्ने क्रममा नेताहरूले ओली प्रधानमन्त्री भएकै बखत भदौ २३ र २४ को घटनाको जिम्मेवारी लिएर अध्यक्ष ओलीलाई अध्यक्ष पद छाड्नुस् भनेर खुलस्त नभनेपनि उपाध्यक्ष बादलले भने त्यसतर्फ प्रस्टै संकेत गरेका थिए । बादलको धारणा चासोपूर्वक सुनेका ओलीले बैठकमा कुनै जवाफ भने दिन जरुरी ठानेनन् ।

‘पार्टी पुनर्गठन गर्नुपर्छ भन्ने सबैको धारणा आयो, तर तपाईँले अध्यक्ष छाड्नुस् नै भनेर ओलीलाई कसैले पनि खुलस्त भनेनन्’ एक सचिवालय सदस्यले भने, ‘उपाध्यक्ष बादलले नैतिक जिम्मेवारी लिनुपर्छ भन्नुभयो । उहाँले सांकेतिक रूपमा पद छोड्नुस् नै भन्न खोजेको भए पनि अरु नेताहरूको त्यति प्रस्ट स्वर थिएन ।’

स्रोतका अनुसार ओली मन्त्रिपरिषद्का दुई मन्त्री रहेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि पार्टी पुनर्गठन र पार्टीको आगामी कार्यदिशाबारे प्रस्ट हुनुपर्ने धारणा बैठकमा राखेका थिए । उनीहरूसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्टहरूले पनि परिस्थितिको गम्भीर समीक्षा हुनुपर्ने धारणा राखेका थिए । तर महासचिव शंकर पोखरेलले भने विषयलाई सामान्य ढंगले अर्थ्याउने प्रयास गरेका थिए । ‘खास केही भएको छैन । जनता र एमाले कार्यकर्ता हाम्रै पक्षमा छन् भनेजसरी शंकरजी प्रस्तुत हुनुभयो’, एक नेताले भने, ‘मानौँ मुलुकमा केही भएको छैन जस्तो उहाँको आशय झल्किन्थ्यो ।’

अर्का एक सचिवालय सदस्यले ओलीमाथि दबाब बढेपनि उनले त्यो दबाब देखाउन नचाहेको बताए  ।

‘नेतृत्व छाड्न अध्यक्षलाई दबाब परेको छ । उहाँको स्वभाव नै दबाब नदेखाउने र एकैचोटी भताभुङ्ग भएमा अरूलाई दोष दिने हो । त्यसैले अव कसरी जाने भन्ने थप छलफल असोज १९ र २० को सचिवालय बैठकमा हुन्छ’, उनले भने, ‘यति बुझ्नुस् सचिवालय उहाँको लागि अव अनुकूल चाहिँ छैन ।’ ती नेताले दसैँको मुड भएकाले पनि आइतबारको बैठकमा कडिकडाउ नगरिएको बताए ।

उपमहासचिव प्रदीप ज्ञवालीले असोज २७ देखि बस्ने केन्द्रीय कमिटी बैठक र त्यसअघि असोज १९ र २० गते सचिवालयको बस्ने बैठकमा विकसित घटनाक्रमबारे छलफल हुने बताएका छन् । ‘समग्र घटनाको गम्भीर समीक्षा हामीले गरी रहेका छौँ । केन्द्रीय कमिटीमा हामी व्यवस्थित प्रतिवेदन नै प्रस्तुत गर्नेछौँ’, ज्ञवालीले भने, ‘घटनाक्रमहरू कसरी विकसित भए, यसका पछाडि कस्ता कस्ता शक्ति, पक्ष र तत्त्वहरू छन् यो केवल सरकार परिवर्तनमा मात्रै लक्षित होइन, यसका धेरै गहिरा, दूरगामी खाल उद्देश्यहरू छन्, जसले मुलुकको लोकतन्त्र, संविधान, राजनीतिक स्थायित्व मुलुकको स्वाभिमानमाथि नै गम्भीर आँच पुर्‍याउने सम्भावना देखेका छौँ ।’

नेता ज्ञवालीले सम्भवतः असोज अब बस्ने केन्द्रीय कमिटी बैठकले ११औैं महाधिवेशनको मिति तोक्न सक्ने समेत बताए । ‘सम्भवतः हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’ ज्ञवालीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप