हेमन्त बुढाथोकी जसलाई भिलेनको रोल गर्दा बिहे गर्न समस्या भयो
सारांश
- अभिनेता हेमन्त बुढाथोकीको जीवन र करियरको बारेमा जानकारी, जसले ९०% नकारात्मक भूमिका निभाए।
- खलपात्रको भूमिका निभाउँदा विवाहमा समस्या, र समयसँगै दर्शकको सोचमा आएको परिवर्तनको बारेमा चर्चा गरिएको छ।
- उनले झापामा थिएटर खोल्ने सपना पूरा गरेको र नयाँ कलाकारहरूलाई कला सिकेर आउन सुझाव दिए।
काठमाडौँ । भनिन्छ, पर्दामा जति बढी दर्शकले घृणा गर्छन्, उति नै बढी सफल हुन्छ भिलेन । नेपाली फिल्म क्षेत्रमा केही यस्ता ‘भिलेन’ छन्, जसलाई पर्दामा मात्रै होइन वास्तविक जीवनमा देख्दा मानिसहरू डराउँछन् ।
यस्तै अनुभव छ अभिनेता हेमन्त बुढाथोकीको । उनलाई देख्दा दर्शकहरू साँच्चै डराउँछन् । फिल्मको पात्रमा गरेको उनको अभिनयले दर्शकहरू वास्तविक जीवनमा पनि यस्तै हो कि भन्ने सोच्छन् । तर जब उनीसँग नजिक भएर कुरा गर्न थाल्छन्, त्यतिबेला पर्दा र वास्तविक जीवनबिच आकाश पातालको अन्तर भेट्छन् । पर्दा बाहिर उनी एक शालीन, सरल र अभिनयप्रति अगाध प्रेमले भरिएका व्यक्तिको रूपमा देखिन्छन् ।
हेमन्तले आफ्नो करिअरको सुरुवाती चरणमा ९० प्रतिशत फिल्ममा नकारात्मक भूमिकामा निभाए । जसले उनलाई नेपाली क्षेत्रमा ‘भिलेन’को रूपमा स्थापित गरायो । व्यावसायिक जीवनमा सफलता त दियो, तर व्यक्तिगत जीवनमा भने केही अप्ठ्यारा परिस्थितिको पनि उनले सामना गर्नुपर्यो ।
‘पहिले मिडियाको पहुँच कम भएको समयमा दर्शकहरूले पर्दामा देखिने खलनायकलाई वास्तविक जीवनमा पनि त्यस्तै खराब मानिस ठान्थे’, उनी एक घटना स्मरण गर्छन्, ‘एकपटक मन्दिर गएको बेला एकजनाले डराएर च्याप्प समाउँदै भने- तपाईं हेमन्त बुढाथोकी खलनायक होइन ? तपाईंहरू पनि मन्दिर आउनुहुन्छ, पूजा गर्नुहुन्छ ?’
यो प्रश्नले दर्शकमा खलपात्र चरित्रको प्रभाव प्रष्ट हुने उनी सुनाउँछन् । ‘खलनायक भन्नेबित्तिकै वास्तविक जीवनमा पनि नराम्रै हुन्छन् भन्ने सोच दर्शकमा पर्दो रहेछ । बाटोमा भेटिँदा मानिसहरू डराउँथे, टाढैबाट हेर्थे र बोल्न पनि हिचकिचाउँथे’, उनी सुनाउँछन् ।
तर समयसँगै यो धारणामा परिवर्तन आएको छ । अहिले मान्छेहरूले सुटिङ देखेका छन्, अभिनय कसरी हुन्छ भन्ने बुझेका छन् । यो केवल अभिनय मात्रै हो भन्ने चेतना आएको छ ।
‘अहिले दर्शकहरूले राम्रो अभिनय गर्ने मानिस वास्तविकमा राम्रो र नराम्रो अभिनय गर्ने नराम्रो हुनुपर्छ भन्ने सोच परिवर्तन भएकाले ठुलो राहत मिलेको छ,’ उनी भन्छन् ।
भर्खरै स्याङ्जाबाट फिल्म ‘काजी’को सुटिङ सकेर काठमाडौँ फर्किएका हेमन्तका तीन–चारवटा फिल्म रिलिजको संघारमा छन् । तीमध्ये फूलपातीदेखि प्रदर्शनमा आउने ‘बलिदान’ पनि एक हो । फिल्ममा उनलाई ‘राष्ट्रद्रोही’ खालको नकारात्मक भूमिकामा देख्न सकिन्छ । त्यसपछि ‘परिवर्तन’ लगायत अन्य फिल्म पनि आउनेछन् । फिल्ममा आफ्नो माग बढ्दो भएपनि भूमिका भने समय अनुसार परिमार्जन गर्दै लगेको उनी बताउँछन् ।
‘अभिनयको सुरुवातमा धेरै भिलेन भूमिका मिल्यो’, उनी भन्छन्, ‘अहिले भने सकारात्मक र चरित्र अभिनेताको रूपमा पनि सक्रिय छु ।’
_zLgAs6ZNLV.jpg)
भिलेन बन्दा विवाहमा समस्या
पर्दामा भिलेनको छविले उनको व्यक्तिगत जीवनमा पनि धेरै गम्भीर असर पारेको थियो, जसमध्ये एक विवाह पनि हो । २०५८–५९ सालतिर जब उनी खलनायकको रूपमा राम्रैसँग चिनिन थालेका थिए, दुई–तीन ठाउँमा विवाहको कुरा चलेर पनि बिग्रियो ।
‘केटीले मन पराएपनि अभिभावक र दाजुभाइले ‘यो त खलनायक हो, खराबै हुन्छ’ भनेर कुरा बिगारिदिन्थे’, उनी अनुभव सुनाउँछन् । जीवनको यति संवेदनशील विषयमा कलाकारिताको छविकै कारण बाधा पर्नु उनको ठुलो अप्ठ्यारो थियो ।
फिल्ममा खलनायक पात्रको प्रस्तुति र ‘गेटअप’मा पछिल्लो समयमा उल्लेख्य परिवर्तन आएको छ । पहिले डरलाग्दो, अतिरञ्जित गेटअप र लाउड अभिनय हुने गर्थ्यो भने अहिले यथार्थपरक र साधारण प्रस्तुतिमा जोड दिइन्छ । उनी यसलाई ‘नेगेटिभ पात्रको परिमार्जन’ मान्छन् ।
‘पहिले हिन्दी फिल्मको प्रभाव धेरै थियो, जसले अम्रिश पुरी र गुलशन ग्रोवरजस्ता कलाकारको लाउड अभिनयलाई नेपाली फिल्ममा पनि सार्न खोजियो’, उनी भन्छन्, ‘अहिले हिन्दी फिल्ममा समेत परिवर्तन आइसकेको छ । जहाँ खलनायकहरू हिरोभन्दा पनि सानो स्वरमा बोलिरहेका हुन्छन् ।’ अक्षय खन्नाले ‘दिल चाहता है’मा गरेको भूमिकालाई उनी एक उदाहरण मान्छन् ।
खलपात्रको भूमिकामा आएको परिवर्तनले उनलाई खासै चुनौती महसुस भएन । कारण हो, उनको थिएटरको पृष्ठभूमि । सुनील पोखरेल र प्रकाश चामीजस्ता एनएसडी (नेसनल स्कुल अफ ड्रामा)मा सिकेर आएका गुरुहरूसँग काम गर्ने अवसर पाएका उनले यथार्थपरक अभिनय पहिलेदेखि नै गर्थे । ओम पुरी र नसरुद्दीन शाहजस्ता कलाकारबाट उनी प्रभावित थिए ।
‘यथार्थपरक अभिनय नै गर्नुपर्छ भन्ने मेरो सोच पहिले देखिएको थियो, तर त्यतिबेला नेपाली फिल्ममा अर्कै शैली चलेको थियो’, उनी सुनाउँछन्, ‘निर्देशकको मागअनुसार काम गर्नुपर्ने बाध्यता थियो । नत्र काम थिएन ।’ यही अनुकूलन क्षमताका कारण धेरै कलाकार समयअनुसार आफूलाई परिमार्जन गर्न नसक्दा हराएको उनको बुझाइ छ ।
अभिनय गर्नकै लागि झापादेखि काठमाडौँको यात्रा
झापाको दमकमा उनी सानोमा हिउँदमा त्रिपाल लगाएर चलाइने अस्थायी हलहरूमा धेरै फिल्म हेर्थे । फिल्म हेर्दै जाँदा यस क्षेत्रमा उनको झन् चासो बढ्दै गयो । अभिनयकै लागि काठमाडौँ छिरेका उनले २०४५ मा सुनील पोखरेलको ‘आरोहण’ समूहसँग रंगमञ्चको औपचारिक यात्रा अगाडि बढाए ।
नारायण पुरी निर्देशित ‘छलकपट’बाट उनले फिल्ममा डेब्यु गरे । पहिलो फिल्ममै उनलाई नकारात्मक अर्थात् खलपात्रको भूमिका दिइयो । त्यो काम राम्रो भयो र त्यसपछि त उनका हातमा जति फिल्म परे नकारात्मक भूमिकाकै पर्यो ।
फिल्ममा क्षेत्रमा भेटिने धेरै कलाकारको सुरुको सोच हिरो बन्ने नै हुन्छ । तर हेमन्तको इच्छा भने हिरो बन्ने कहिल्यै रहेनछ ।
‘हिरो बन्ने उद्देश्य मेरो कहिल्यै थिएन’, उनी भन्छन्, ‘पहिलेदेखि नै कलाकार नै बन्ने सोच थियो । हिरो भएपनि ठिकै छ, नभए पनि कलाकार नै बन्ने भन्ने थियो ।’ त्यसैले आफूले हिरोको रूपमा कहिल्यै प्रयास नगरेको उनी स्पष्ट पार्छन् ।
_9yFfrZTYuj.jpg)
हिरोको भूमिका नरोज्नुका केही व्यावहारिक कारण छन् । ‘हिरोको काम धेरै गाह्रो हुन्छ । ७–१०–१२ दिनसम्म लगातार एक्लै फाइट खेल्नुपर्छ’, उनी भन्छन्, ‘हामी भिलेनले खेल्दा त हाम्रा सहयोगीहरू २०–२५ जना हुन्छन् । उनीहरूसँग हिरोले फाइट गरेपछि बल्ल मेरो पालो आउँछ र मैले एकचोटि मात्रै खेल्नुपर्छ ।’ हिरोको काम धेरै कठिन र भिलेनको काम ठिक्कको हुने उहाँको बुझाइ छ ।
अर्को कुरा, नकारात्मक पात्र मान्छेको मनमा बढी क्लिक हुन्छ । ‘हिरोको एउटा निश्चित समय हुन्छ, ८–१० वर्ष वा २–४ वर्ष मात्रै । उनीहरूले धेरै तनाव बोक्नुपर्छ, फिल्म रिलिजको चिन्ता र लगातार फ्लप भए काम नपाउने डर हुन्छ । हामीले त साधारण अभिनय गर्ने हो, जुन मलाई पहिलेदेखि नै ठीक लाग्थ्यो, अहिलेसम्म पनि लाग्छ,’ उनी भन्छन् । आफूसँग हिरो खेलेका कतिपय कलाकारहरू अहिले गुमनाम हुँदा आफ्नो निरन्तरता रहनुको रहस्य यही भएको उनी सुनाउँछन् ।
कलाकारिताका दुःख र सुख
हरेक पेसाका आफ्नै दुःख र सुख हुन्छन्, कलाकारिता क्षेत्र पनि यसबाट अछुतो छैन । हेमन्तले पनि अभिनय करिअरमा अनेक दुःख झेलेका छन् ।
कोभिडको समयमा २–३ वर्ष काम नै गर्न पाएनन् । त्यसपछि आमाबुवाको निधन हुँदा अरु २ वर्ष करिअरमा ग्याप भयो । यस क्षेत्रको सबैभन्दा ठुलो दुःख भनेको काम कहिलेसम्म पाइन्छ भन्ने निश्चित नहुनु भएको उनी बताउँछन् ।
‘काम गर्दा शारीरिक जोखिम पनि उत्तिकै हुन्छ । अहिलेका दर्शक चलाख छन्, उनीहरूले डुप्लिकेट प्रयोग गरेको तुरुन्तै थाहा पाउँछन् । त्यसैले धेरैजसो काम आफैँ गर्नुपर्छ’, उनी फिल्म ‘बलिदान’को सुटिङ अनुभव सुनाउँछन्, ‘टाउको ठोक्किएर रगत निस्किएको थियो ।’ तर यी दुःख र जोखिमका बाबजुद कलाकारितामा ठुलो सुख र सन्तुष्टि मिलिरहेको उनी बताउँछन् ।
कलाकारलाई देश र समाजले माया गर्छ । ‘नकारात्मक भूमिका खेले पनि, कतिपय डराए पनि, अधिकांशले कलाकार भनेर सम्मान गर्छन् । जहाँ गए पनि कसै न कसैले चिनेको भेटिन्छ’, उनी अनुभव बाँड्छन्, ‘सरकारी कार्यालयमा, ट्राफिकमा, पुलिसमा कहीँ पनि अवरोध पर्दैन । कलाकार भन्ने बित्तिकै मान्छेले सम्मान दिन्छन् ।’ यो सबैभन्दा सुखद् अनुभूति रहेको उनी बताउँछन् ।
सपना झापामा थिएटर
हेमन्तको कलाकारितामा केही सपना थिए । विविधतापूर्ण भूमिका गर्ने र आफ्नै गृहजिल्ला झापाको दमकमा एउटा थिएटर खोल्ने । दुवै सपना अहिले साकार भएका छन् । फिल्ममा उनी अनेक चरित्रमा अभिनय गरिरहेका छन् भने साथीभाइसँग मिलेर झापामा कदम थिएटरको सुरुवात समेत गरिसकेका छन् । जसका लागि दमक नगरपालिकाले जग्गा उपलब्ध गराएको भने प्रदेश सरकारले भवन बनाइरहेको छ ।
‘त्यहाँ अहिले नाटकहरू भइरहेका छन् । आफ्नो ठाउँमा यस्तो काम गर्न पाउनु ठुलो कुरा हो,’ उनी भन्छन् । यो थिएटर अहिले पूर्वको एउटा कला हब भएको उनी सुनाउँछन् । ‘नाटक मात्र होइन, त्यहाँ त साहित्यिक गोष्ठी, कविता महोत्सव, फिल्मका प्रचारप्रसारका कामहरू पनि हुन्छन्,’ उनी भन्छन् ।
कला क्षेत्रमा राज्यको भूमिकालाई लिएर भने उनी निराश छन् । अग्रज कलाकारहरूको जीवनको अन्तिम समय दयनीय हुनु विडम्बनापूर्ण भएकोमा उनी निकै चिन्तित छन् ।
आउनेलाई सुझाव
छिटो चर्चा र पैसाको लोभमा पछिल्लो समय कलाकारितामा भित्रिनेको भिड छ । उनी नवप्रवेशीलाई क्षमता आर्जन गरेर मा फिल्म क्षेत्रमा आउन सुझाउँछन् । ‘आउन त जो पनि आउन सक्छन्, अहिले सजिलो पनि छ’, उनी भन्छन्, ‘तर कला चाहिँ सिकेर आउनुपर्छ । मलाई सिकाउँछन् भनेर आउनु गलत हुन्छ ।‘
फिल्ममा लगानी गर्न आउनेहरू कलाकारलाई सिकाउनका लागि आउने होइनन् भन्नेमा नवप्रवेशीहरु प्रष्ट हुनुपर्ने उनी बताउँछन् ।
‘नाटकबाट होस् या अन्य कुनै माध्यमबाट । केही क्षमता आर्जन गरेर आयो भने यो क्षेत्र नराम्रो छैन’, उनी भन्छन्, ‘धैर्य, योग्यता र अभिनयप्रतिको अगाध प्रेम नै यस क्षेत्रमा सफल हुने मूल मन्त्र हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
-
म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता बनायो
-
मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण