आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

आइतबार, २८ असार २०८३, ०६ : ११
आइतबार, २८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।
  • यस खेलको विजेताले सेमिफाइनलमा इङ्गल्याण्डको सामना गर्नेछ ।
  • अर्जेन्टिना र स्विट्जरल्यान्ड दुवै टोलीले नकआउट चरणमा कठिन जित हासिल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल अन्तर्गत आज साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ । अमेरिकाको कान्सास सिटी स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान ६ः४५ बजे सुरु हुने यस रोमाञ्चक खेलको विजेताले बुधबार एटलान्टामा हुने सेमिफाइनल खेलमा इङ्गल्याण्डको सामना गर्नेछ ।

यस प्रतियोगितामा दुवै टोलीको यात्रा निकै सङ्घर्षपूर्ण र रोचक रहेको छ । साबिक विजेता अर्जेन्टिनाले समूह चरणमा अस्ट्रिया, जोर्डन र अल्जेरियालाई पराजित गर्दै समूह ‘जे’ को शीर्ष स्थान हासिल गरेको थियो । तर नकआउट चरणमा भने उसले कडा चुनौती सामना गर्नुपऱ्यो । अन्तिम ३२ को खेलमा केप भर्डेमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकालेको अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको स्थिति उल्ट्याउँदै ३–२ को जित दर्ता गरेर क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

अर्कोतर्फ, ७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड पनि अपराजित रहँदै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको थियो । समूह चरणमा क्यानडा र बोस्नियालाई हराएको स्विस टोलीले कतारसँग बराबरी खेलेको थियो । नकआउट चरणको अन्तिम ३२ मा अल्जेरियालाई २–० ले पराजित गरेको स्विट्जरल्यान्डले अन्तिम १६ को खेलमा बलियो कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पाखा लगाउँदै ऐतिहासिक क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

यी दुई टोलीबिचको ऐतिहासिक भिडन्त हेर्दा अर्जेन्टिनाको पल्ला भारी देखिन्छ । हालसम्म भएका ७ भेटमा अर्जेन्टिनाले ५ खेल जितेको छ भने २ खेल बराबरीमा सकिएका छन् । विश्वकपमा भएका दुवै भेट (१९६६ मा २–० र २०१४ मा १–०) मा अर्जेन्टिना नै विजयी भएको थियो । 

आजको खेलका लागि दुवै टोलीको  सुरुआती ११ सार्वजनिक भइसकेको छ । अर्जेन्टिनाले ४–१–३–२ को फर्मेसनमा एमी मार्टिनेजलाई गोलकिपरको रूपमा मैदान उतारेको छ भने रक्षापङ्क्तिमा नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज र निकोलस टाग्लियाफिको रहेका छन् । मध्यपङ्क्तिमा लिआन्द्रो पारेडेस डिफेन्सिभ मिडफिल्डमा रहँदा उनीभन्दा अगाडि रोड्रिगो डे पउल, एन्जो फर्नान्डेज र एलेक्सिस म्याक एलिस्टर रहनेछन् । टोलीको अग्रपङ्क्ति भने कप्तान लियोनेल मेस्सी र जुलियन अल्भारेजले सम्हाल्नेछन् ।

यस्तै, स्विट्जरल्यान्डले ४–२–३–१ को फर्मेसनमा ग्रेगोर कोबेललाई गोलकिपर तोकेको छ। रक्षापङ्क्तिमा रिकार्डो रोड्रिगेज, मानुएल अकान्जी, निको एल्भेदी र डेनिस जाकारिया रहनेछन् भने डिफेन्सिभ मिडफिल्डमा कप्तान ग्रानिट जाका र रेमो फ्रउलर रहनेछन्। आक्रामक मिडफिल्डमा डिब्रिल सो, फेबियन रिडर र डान एन्डोय रहँदा टोलीको मुख्य स्ट्राइकरका रूपमा ब्रिल एम्बोलो मैदान उत्रिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप