बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
क्षतिग्रस्त बीपी राजमार्ग निरीक्षण

महानवमीको दिन मन्त्री घिसिङ बीपी राजमार्गको निरीक्षणमा

बुधबार, १५ असोज २०८२, १६ : ०२
बुधबार, १५ असोज २०८२

सारांश

  • ऊर्जा मन्त्री घिसिङले बीपी राजमार्गमा सवारी आवागमन र बाढीले सडकमा पुर्‍याएको क्षतिको पुनर्निर्माणबारे निरीक्षण गरे।
  • मन्त्री घिसिङले चाडपर्वमा यात्रुलाई सहजताका लागि ट्राफिक व्यवस्थापन र पुनर्निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए।
  • बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने र दसैँ-तिहारपछि काम तीव्र गतिमा सुरु गर्ने तयारी भइरहेको छ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नवमीको दिन बुधबार बीपी राजमार्गमा सवारीको आवतजावत र बाढीले क्षतिग्रस्त सडक खण्डको पुनर्निर्माणबारे निरीक्षण गरेका छन् । 

चाडपर्वमा यात्रुहरूले बीपी राजमार्गबाट यात्रा गर्दा भोग्नुपरेका समस्या, ट्राफिक व्यवस्थापन, र गत वर्षको बाढीले राजमार्गमा पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणको अवस्था बुझ्न मन्त्री घिसिङ सडक विभागका महानिर्देशक तथा सम्बन्धित आयोजनाका अधिकारीहरूसहित फिल्डमा खटिएका हुन् ।

पूर्वी क्षेत्रलाई संघीय राजधानीसँग जोड्न महत्त्वपूर्ण रहेको १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको थियो । गत वर्षको बाढीले यस राजमार्गको ३०.५ किलोमिटर खण्डमा क्षति पुर्‍याएको थियो । हाल इन्टरमिडियट लेन रहेकोमा अब क्षतिग्रस्त खण्डहरू पुनर्निर्माण गर्दा दुई लेनको बनाइने छ । 

मन्त्री घिसिङले चाडपर्वमा काठमाडौँ आवतजावत गर्ने यात्रुहरूले सास्ती नभोग्नका लागि अस्थायी ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र स्थायी पुनर्निर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्नुभयो । गत वर्ष असोजमा बाढीले क्षति पुर्‍याएको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढेको छ । बाँकी खण्ड जाइकाको अनुदान सहयोगमा निर्माण हुनेछ । 

तत्काल पुनर्निर्माण सुरु हुने

मन्त्री घिसिङले बीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताउनुभएको छ । क्षतिग्रस्त राजमार्गको अवलोकनपश्चात् उनले पूर्वी नेपाल र तराईलाई काठमाडौँसँग जोड्ने छोटो सडकको रूपमा रहेको बीपी राजमार्गलाई छिटोभन्दा छिटो पुनर्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनका अनुसार गत वर्ष असोजमा रोशी खोलाको बाढीले क्षति पुर्‍याएको सडक खण्डको पुनर्निर्माणका लागि अहिले ठेक्का प्रक्रियाका कामहरू भइरहेका छन् । 

मन्त्री घिसिङले भने, 'नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ । दसैँ–तिहारपछि काम तीव्र गतिमा सुरु गर्नेगरी तयारी भइरहेको छ । छिटोभन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ ।' 

दसैँलगत्तै बाहिरी जिल्लाबाट काठमाडौँ फर्कने सवारीको संख्या निकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भन्नका लागि उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताउनुभयो ।
भारी वर्षाको चेतावनी

यस्तै, अबको केही दिनपछि नेपालमा भारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरेका छन् । मन्त्री घिसिङले भने, 'असोजको १७, १८ र १९ गते विभिन्न जिल्लामा भारी वर्षा हुने पूर्वानुमान छ । यसबाट बीपी राजमार्ग, नारायणगढ–मुग्लिन र नारायणगढ–बुटवल सडक खण्डमा जोखिम रहने देखिएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ सवारी चलाउन र यात्रुहरूलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्दछु ।'

kulmankulman-bp (2)kulman-bp (3)kulman-bp (4)kulman-bp (5)kulman-bp (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप