मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

महानवमीसम्म ६ लाख ११ हजार बढीले छाडे काठमाडौँ

बुधबार, १५ असोज २०८२, १६ : ५१
बुधबार, १५ असोज २०८२

सारांश

  • दसैँको घटस्थापनादेखि हालसम्म ६ लाखभन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन्।
  • पछिल्लो २४ घण्टामा ५८ हजारभन्दा बढीले उपत्यका छाडेका छन्, यात्रुको संख्या बढ्दो छ।
  • यात्रुवाहक सवारी साधनमार्फत पूर्व, पश्चिम र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा यात्रा भइरहेको छ।

काठमाडौँ । दसैँको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौँ छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना सुरु भएको दिनदेखि आजसम्म सो सङ्ख्यामा यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ५८ हजार ३९६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यका छाड्ने नागरिकको सङ्ख्या तीव्र रुपमा बढ्दै गएको र पछिल्लो २४ घण्टामा मात्र १३ हजार ३२६ यात्रुवाहक सवारी साधन  उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनले भने, 'अहिले राजधानी छाडेर जानेको सङ्ख्या बढेको छ, काठमाडौँ भित्रिने र बाहिरिने नाकामा सामान्य तरिकाले सवारी साधन चलिरहेका छन् ।' घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारी साधनको सङ्ख्या एक लाख १३ हजार ४१५ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेहरुको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । 

काठमाडौँ उपत्यकामा ७७ हजार ५४५ सवारी साधनबाट तीन लाख १९ हजार १५ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँ बसपार्क, जगती लगायतका नाकामा यात्रुको भीड देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप