आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

अविरल वर्षाका कारण देशभरका छ सडकमा आवागमन रोकियो

शनिबार, १८ असोज २०८२, १८ : ४६
शनिबार, १८ असोज २०८२

सारांश

  • अविरल वर्षाका कारण देशका विभिन्न ६ स्थानका सडकमा पहिरो जाँदा आवतजावत रोकिएको छ।
  • काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् भने कतिपय राजमार्गमा एकतर्फी सवारी चलेका छन्।
  • प्रहरीले पहिरो प्रभावित क्षेत्रमा आवश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षित मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण पहिरो आउँदा देशभरका छ स्थानका सडकमा आवतजावत रोकिएको छ ।

पहिरोका कारण प्रमुख राजमार्गमा सवारीसाधन आवागमन ठप्प भएको छ भने कतिपय ठाउँमा एकतर्फी सवारी चलाइएको छ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने मार्गसमेत प्रभावित भएका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार भक्तपुरको साँगास्थित झोलुङ्गेपुल नजिकै झरेको पहिरोले गर्दा आवतजावत प्रभावित भएको छ भने कान्तिलोकपथ ललितपुरको बागमती गाउँपालिका–३ टाकुचेमा खसेको पहिरोले आवात–जावत बन्द छ । 

यसैगरी फर्पिङ–सस्नेरी अन्तरगत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोलामाथिबाट पहिरो खसेकाले आवागमन बन्द गरिएको छ । बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला र बुलढुङ्गामा खसेको पहिरोका कारण सवारी आवागमन बन्द भएको छ । 

यस्तै, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिएको र धुलिखेल खावामा र ५४ किलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ । 

यसैगरी, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलमा पहिरो जाँदा आवतजावत बन्द भएको प्रवक्ता सुवेदीले बताए । प्रहरी प्रशासनले नागरिकलाई आवश्यक कामबाहेक पहिरो सम्भावित स्थानमा यात्रा नगर्न, सुरक्षित र वैकल्पिक मार्गको प्रयोग गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप