आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
व्यक्तित्व

अर्जुन भुसाल, जसले भेटाइदिन्छन् हराएका मान्छे र सामान

आइतबार, १९ असोज २०८२, १७ : ०९
आइतबार, १९ असोज २०८२

सारांश

  • अर्जुन भुसाल हराएका व्यक्तिलाई परिवारसँग भेट गराउने, बेवारिसेको उद्धार गर्ने र हराएका सामान फिर्ता गर्ने कार्य गर्छन्।
  • उनले सामाजिक सञ्जालको प्रयोग गरी हराएका मानिस र सामान खोज्ने कार्य गर्छन्, जसले गर्दा उनको काम प्रभावकारी भएको छ।
  • उनी समाजसेवाको माध्यमबाट मानिसहरूलाई मानवीयता र चेतना जगाउने प्रयास गरिरहेका छन्।

काठमाडौँ । अहिलेको युग सामाजिक सञ्जालको युग पनि हो । व्यक्तिगत सम्पर्कदेखि समाचार र सूचनाको माध्यम पनि बनिरहेको छ सामाजिक सञ्जाल । कतिपय अवस्थामा आफ्नो हराएको सामान मात्रै होइन, बेपत्ता भएका परिवारका सदस्य समेत सामाजिक सञ्जालकै माध्यमबाट भेटिएका छन् । 

अर्जुन भुसाल ती कर्मयोगी हुन्, जसले वर्षौंदेखि हराएका व्यक्तिलाई परिवारसँग भेटाउने, सडकमा अलपत्र परेकालाई संरक्षणमा पुर्‍याइदिने र हराएका सामानहरू खोजेर सम्बन्धित धनीलाई फिर्ता दिने काम गर्दै आएका छन् । कतिपयले उनको यो कामलाई विशुद्ध समाजसेवासँग जोड्छन्, तर उनी यसलाई आफ्नो ‘कर्तव्य’ र ‘दायित्व’ मान्छन् ।

‘मेरो यो कार्य राज्यको सुरक्षा निकायलाई सघाउने एउटा नागरिकको सानो प्रयास मात्र हो’, उनी भन्छन्, ‘यदि कोही मान्छेले मसँग केही आशा लिएर आएको छ भने मैले उहाँका लागि केही गर्नुपर्छ ।’ देशको सुरक्षा निकायप्रति गहिरो सम्मान राख्दै उनी आफ्नो यो कार्यलाई एक सचेत नागरिकको कर्तव्य मान्छन् । 

‘म माध्यम मात्रै हो । आजसम्म जति पनि काम भए, त्यो मैले गरेको भन्दिनँ । हामीले गरेको जति काम छ, त्यो राज्यकै सुरक्षा निकायले गरेको बुझ्नुस्’, उनी भन्छन् । 

समाजसेवाका अनेक आयाम छन्, तर अर्जुनको कर्मको विशिष्टता नै हराएका मानिसको खोजी, बेवारिसेको उद्धार र हराएका सामान फिर्ता गर्ने हो । उनी सडकमा अलपत्र परेका मानिसहरुप्रति गहिरो मानवीय संवेदना समेत राख्छन् ।

‘म अर्जुन, आज सबैलाई भन्ने, मिडियामा देखिने, भोलि मानसिक रूपमा बिरामी भइएला । डिप्रेसनमा पुगौँला । भोलि मेरो परिवारले अलि ख्याल गर्न नसक्ला । कतै म परिवारलाई झुक्काएर सडकमा पुगौँला’, उनी भावुक हुँदै भन्छन्, ‘त्यो समय मैले धेरै समय ननुहाएको हुँला । पूरै शरीर फोहोर देखिएला, गन्हाउला । त्यो बेला यही समाजले मलाई भन्न नहुने विभिन्न शब्दले गाली गर्छ ।’ 

arjun bhusal

उनी अगाडि भन्छन्, ‘त्यतिखेर कोही मान्छेले संरक्षण गरिदिएर नयाँ जीवन दिने हो भने त के थाहा पुरानै ठाउँमा फर्किन सकिन्छ नि ।’ उनी बेवारिसे मानिसप्रति समाजको दृष्टिकोण बदलिनुपर्ने र मानवीयताको खाँचो आवश्यक देख्छन् । 

हराएका सामान भेट्टाएर फिर्ता गर्ने अभियान पनि अर्जुनको अर्को प्रिय कर्म हो । ‘हाम्रो नेपाली समाजमा अझै पनि भेट्टाएको सामान जस्ताको तस्तै फिर्ता गर्नुपर्छ भन्ने सोच छैन’, उनी भन्छन्, ‘हामीले कसैको पासपोर्ट भेट्टायौँ । त्यसमा पाँच हजार रुपैयाँ र अन्य धेरै महत्वपूर्ण कागजातहरू छन् भने पैसाको लोभले अन्य कागजात खोलामा फाल्दिन्छन् ।’ 

यही चेतना जगाउनु उनको अभियान हो । भेट्टाएको सामान फिर्ता गरेर मानवीयताको सन्देश फैलाउनु उनको लक्ष्य हो । 

‘अस्ट्रेलिया वा अमेरिकामा मानिसहरूले फोहोर समेत कहाँ फाल्ने भनेर ध्यान दिन्छन्, तर नेपालमा त्यस्तो संस्कारको अभाव छ,’ उनी भन्छन्, ‘विदेशमा पानीको बोतल समेत सावधानीपूर्वक व्यवस्थापन गर्ने नेपालीहरूले स्वदेश फर्किंदा एयरपोर्टबाट निस्कँदै जथाभावी फोहोर फाल्छन् ।‘

उनको अभियानको प्रभावकारिता बढिरहेको छ । कुनै ठाउँमा केही भेटियो भने ‘अर्जुन भुसाललाई बुझाउनुपर्छ’ भनेर सर्वसाधारणले भन्न थालेका छन् । उनको कार्यालयमै आएर कसैले चार–पाँच लाख, कसैले ११ लाख रुपैयाँ र ल्यापटप समेत भेट्टाएर बुझाइदिनुपर्‍यो भनेको घटना घटना उल्लेख्य छन् ।  

‘अस्ति भर्खरै कलंकीमा एक एनआरएनको पासपोर्ट हराएको थियो । मैले सामाजिक सञ्जालमा राखेको आधा घण्टामै भेटियो,’ उनी सुनाउँछन् । यसले उनको कामको प्रभावकारिता कति व्यापक छ भन्ने स्पष्ट पार्छ ।

किन होमिए यसमा ?

चितवनको माडी नगरपालिका–४, खैरेनीको एक सामान्य व्यवसायी परिवारमा जन्मेका अर्जुन बुबाको सामाजिक कर्मबाट प्रभावित भएर यसमा आकर्षित भएका हुन् । माडीमै विद्यालय शिक्षा पूरा गरी भरतपुरमा कलेज पढ्दै गर्दा उनको जीवनमा एउटा ठुलो दुर्घटना भयो । त्यही दुर्घटनाबाट नयाँ जीवन पाएपछि उनको सोचमा परिवर्तन आयो । त्यो समय ‘एउटा पुनर्जन्म पाएको जीवन हो, केही गरौँ’ भन्ने भावना उब्जियो ।

सानैदेखि सार्वजनिक भाषणमा रुचि राख्ने र लामो समयसम्म बोल्न सक्ने क्षमताका उनले आफ्नो आवाजलाई माध्यम बनाएर समाजसेवा गर्ने सोच बनाए । उनले सुरुमा दुर्व्यसनविरुद्धका अभियान र सरसफाइ क्याम्पेनहरू चलाए । उनको सरसफाइको अवधारणा अन्यको भन्दा अलि फरक थियो । जसमा बाटोको फोहोर टिप्ने मात्र नभएर मानिसको दिमागमा फोहोर फाल्नै हुन्न भन्ने चेतना जगाउने थियो । त्यतिखेरै ११ कक्षामा पढ्दा पनि उनी आठ कक्षाका विद्यार्थीहरूलाई सचेतनामूलक कार्यक्रम दिन्थे ।

468098227_122197942454037554_846004567920502386_n

तर अर्जुनको यात्राले नयाँ मोड त्यतिबेला लियो, जब उनी हराएका मानिसहरूको पीडासँग साक्षात्कार हुन थाले । त्यसपछि उनी हराएका मानिस र हराएका सामान खोज्ने कार्यमा आफूलाई व्यस्त बनाए । 

‘मानिसहरू आफूले जन्माएको सन्तान मिसिङ भयो, न लास देखियो न सास भन्दै आउँछन् । म मन थाम्न सक्दिनँ’, उनी भावुक हुँदै भन्छन्, ‘भर्खर एकजना आमा भेटेको थिएँ । अठ्ठाइस वर्षदेखि छोरा हराएको छ भनेर खोज्न आउनुभएको थियो ।’ घरमा भएको पुरानो फोटो फ्रेम बोकेर ती आमाले छोरा खोजिदिन अनुरोध गरेको उनी सुनाउँछन् । 

धनसम्पत्ति छ, तर सन्तानको अत्तोपत्तो छैन । त्यो धनसम्पत्तिले केही नहुने रहेछ भनेर धेरै आमाहरू आफूलाई भेट्न आउने उनी बताउँछन् । 

अर्जुनले मानिसहरू खोज्ने कर्म पहिला पनि गर्थे, तर त्यसलाई प्राथमिकतामा राखेका थिएनन् । करिब पाँच वर्षअघि चितवनको चनौलीमा भएको एउटा घटनाले उनको जीवनको दिशा बदल्यो । जर्मनी जान लागेका एक व्यक्तिको ट्याक्सीको पछाडिको ढोका खुलेर महत्वपूर्ण कागजातसहितको झोला बाटोमा खसेको रहेछ । त्यसमा पासपोर्ट, टिकट र छोरीको विवाहका लागि राखिएको चार–पाँच तोला सुन पनि थियो । पीडित परिवारले पाँच लाख रुपैयाँ पुरस्कार घोषणा गरे पनि अर्जुनले सामाजिक सञ्जालको माध्यमबाट १८ घण्टामै कागजात फेला पार्न सफल भए ।

‘मैले सामाजिक सञ्जालबाट आह्वान गरें- त्यहीँ भेट्टाउनुभएको हो भने त्यहीँ नजिकै कता बाटोको छेउमा फाल्दिनुस् । हामी तपाईंलाई केही पनि गर्दैनौँ’, उनी ती दिन सम्झिन्छन्, ‘सुन त फिर्ता भएन, तर पासपोर्ट भेटियो ।’ 

त्यो समय ती व्यक्तिकी वृद्धा आमाले रुँदै तपाईंको कारणले मेरो छोरा र बुहारी विदेश जान पाए भनेर दिएको आशीर्वाद उनी कहिल्यै भुल्न सक्दैनन् । त्यो समय उनलाई आफूले ठुलै कर्म गरेजस्तो लाग्यो । गर्भले छाती फुल्यो । ‘त्यस समय मलाई लाग्यो, पासपोर्ट भेटिँदा सुन पनि भेटिनुपर्ने थियो । तर समाज अर्कै भएछ’, उनी भन्छन् ‘अब त समाज बदल्नुपर्छ ।’ 

निःशुल्क सेवा

कतिपयलाई लाग्न सक्छ अर्जुनले यो कामको शुल्क लिन्छन् होला । तर उनी निःशुल्क रूपमा यो काम गर्दै आएका छन् । यसमा उल्टै उनको खर्च हुने गरेको छ । 

आफ्नै खर्च गरी गरी किन उनी यस्तो काम गर्छन् त ? 

‘यस कार्यका लागि कसैसँग अहिलेसम्म एक रुपैयाँ लिएको छैन । मेरो काम देखेर केही कम्पनीले विज्ञापन दिनुभएको छ,’ उनी भन्छन्, ‘त्यसैबाट अफिस, सहयोगी र मेरो दिनचर्या चलिरहेको छ ।‘

उनी अगाडि भन्छन्, ‘बीस वर्ष हराएको छोरा भेटिँदा ती आमाको खुसीको आँसु देखेको छु । त्यो आँसुमा मैले संसार देखेको छु । त्यो खुसीमा म सन्तुष्ट छु । आत्मसन्तुष्टि नै प्रेरणाको मूल स्रोत हो ।‘

समाजसेवाका लागि कतिपयले आश्रम खोल्छन् । कतिले पाटीपौवा, चौतारी र मठमन्दिर बनाउँछन् । दान गरेर रमाउने वर्ग पनि छन् समाजमा । उनले भने सामाजिक सञ्जाललाई आफ्नो कर्मको माध्यम बनाएका छन् । 

‘अहिले सामाजिक सञ्जालबाट आधा घण्टामा पत्ता लाग्ने कुरा अन्य माध्यमबाट एक वर्षसम्म पनि पत्ता लाग्दैन’, उनी भन्छन्, ‘मेरो पेजमा करिब २२ लाख मानिस जोडिएका छन्, जसले गर्दा कुनै पोस्ट एक–डेढ घण्टाभित्रै लाखौँसम्म पुग्छ ।’ 

आफ्नो सामाजिक सञ्जालको दुरुपयोग नगर्ने र राजनीतिक आलोचनाबाट बच्ने सोचका उनी सकारात्मक सन्देश फैलाउन पछि नहट्ने बताउँछन् । ‘केही समयअघि चितवनमा रगत अभाव हुँदा सामाजिक सञ्जालकै सहायताले १३२ पाउन्ड रगत संकलन गर्न सफल भएँ,’ उनी भन्छन् । 

यो अभियानको सबैभन्दा ठुलो खुसीको क्षण २४ वर्षपछि हराएका आफ्नै मामालाई मुम्बईबाट भेट्टाएर ल्याएको क्षण हो ।

‘एउटा माइती भनेर जाने आफ्नो भाइ छैन । तैँले यत्रो सामाजिक काम गर्छु भन्छस्, एउटा मामा खोज्न सकिनस्’, आमाले त्यो समय भनेको कुरा सुनाउँदै उनी भन्छन्, ‘मैले सामाजिक सञ्जालमा हालेँ । केही समयमै मामा भेटिनुभयो ।’ मामालाई भेट्टाएर घरमा ल्याउँदा आमाको अनुहारमा छाएको चमक र खुसी अपार थियो । 

कठिन सुरुवात 

अहिलेको चर्चा र सफलता हेर्दा कतिलाई लाग्न सक्छ उनी सहजै यो अवस्थासम्म आए । तर उनको यात्रा सजिलो भने थिएन । सामान्य परिवारका उनलाई कामका लागि क्यामेरा र अन्य सेटअप जोहो गर्न गाह्रो थियो । 

एउटा सामान्य मोबाइलबाटै काम सुरु गरे । परिवारबाट पनि केही चुनौती थियो, किनभने छोराले आफ्नो व्यवसाय सम्हालोस् भन्ने चाहना थियो । आमाको त राम्रो जागिर खाओस् भन्ने अपेक्षा थियो ।

‘तँलाई चिन्न त संसारले चिन्यो, तर तेरो जीवन कहाँ गएर के हुन्छ खै त ? भोलि दुःख पर्‍यो तँलाई हेर्ने को छ त ? कमाउने साधन के छ ? दुःख पाउने भइस्’, आमाको चिन्ता अर्जुन सुनाउँछन् । आमालाई बुझाउन धेरै समय लागे पनि बुबाले भने उनको काम बुझेका छन् ।

उनका काकाको परिवारका सदस्यहरू अस्ट्रेलिया, अमेरिका, जापानजस्ता देशमा छन् । उनका तीन दाजुभाइ नेपालमै सगोल परिवारमा खुसीपूर्वक बसिरहेका छन् ।

सानोमा डाक्टर बन्ने सपना बोकेका उनी पढाइमा राम्रै थिए । सरकारी विद्यालयबाट प्रारम्भिक शिक्षापछि उनी विज्ञान पढ्न चाहन्थे, तर आर्थिक अवस्था र पहुँचको अभावले त्यो सम्भव भएन । उनको परिवार ४०–५० लाख रुपैयाँ खर्च गरेर डाक्टर पढाउन सक्ने अवस्थामा थिएन । त्यसैले साथीको सल्लाहमा सप्तगण्डकी कलेजमा व्यवस्थापन (म्यानेजमेन्ट) पढ्न थालेपछि उनको जीवनको मार्ग बदलियो ।

करिब १२ वर्षदेखि यस कर्ममा सक्रिय अर्जुनको उमेर ३० वर्ष पुग्न लाग्यो । बिचमा पढाइमा अवरोध आए पनि उनी हाल वीरेन्द्र क्याम्पसमा समाजशास्त्रमा स्नातकोत्तर गर्दैछन् ।

520307545_122234280908037554_6222744136165086912_n

कामको सिलसिलामा देशको आधा फन्को मारेका उनलाई यही कर्मले भारत, जापान, चीन, यूएई र थाइल्यान्ड समेत घुमाएको छ । देश भ्रमणमा विकास र सभ्यता पनि अवलोकन गरेका उनलाई नेपालको मानवीय अवस्थाले भने चिन्तित तुल्याउँछ ।

‘देश त मानवीयताका हिसाबले खोक्रो छ’, उनी अनुभव साट्छन् ‘मानवता छँदै छैन । अहिले परिवारभित्र हिंसा छ । फोटो खिच्दा हाँसिरहेको मेरो भाइ वा मेरी दिदी बेलुका बिस्तारामा सिरानी च्यापेर रुने अवस्था छ । टिकटकमा नाचिरहेकी मेरी बहिनी बेलुका सुत्दा चाहिँ स्लिपिङ ट्याब्लेट खानुपर्ने अवस्था छ ।’ 

वृद्धवृद्धा सडकमा, मानसिक रूपमा बिरामी छोरीहरू सडकमा बलात्कारको सिकार हुने र तिनको पेटमा कसको गर्भ हो भन्ने थाहा नहुनेजस्ता दर्दनाक यथार्थ उनले देखेका छन् । २० हजार रुपैयाँ खर्च गरेर मानसिक रोगी निको हुने अवस्थामा पनि समाजले लुकाउने वा घरमा बाँधेर राख्ने प्रवृत्तिका कारण नेपाली समाज कुरूप भएको उनको बुझाइ छ । यही चेतनाका लागि आफूले अहिले धेरै बेवारिसे मानिसहरूको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको उनी बताउँछन् । 

हालै नेपालमा भएको राजनीतिक उथलपुथल र विध्वंसका घटनाक्रमबारे उनको आफ्नै विश्लेषण छ । आन्दोलनका मागहरू सही भए पनि सिंहदरबार, संसद् भवन र अदालतजस्ता राष्ट्रिय सम्पत्तिमा भएको क्षतिलाई उनी गलत ठान्छन् । 

‘सिंहदरबार जल्यो । राणा, राजा हुँदै अहिले गणतन्त्रको मुलुकसम्म आउँदासम्म त्यही एउटा सिंहदरबार हाम्रो शान र साक्षी थियो’, चिन्ता व्यक्त गर्दै उनी भन्छन्, ‘क्षतिले करदातालाई भार थप्ने हो ।’ नयाँ सरकारले युवाहरूको माग पूरा गर्दै भ्रष्टाचार अन्त्य गरोस् भन्ने उनको अपेक्षा छ ।

‘म २०६२/०६३ को जनआन्दोलनमा १० वर्षको थिएँ’, उनी भन्छन् ‘आज २० वर्षपछि पनि मेरो मुलुक उही छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप