कोशी प्रदेश सरकारले पीडितको घर पुनर्निर्माण गरिदिने
सारांश
- कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकप्टर र गाडीमार्फत सामग्री पठाउँदै छ।
- इलामको माङसेबुङमा हेलिकप्टरबाट खाद्यान्न र अन्य सामग्री पठाइएको छ भने आवासविहीनहरूलाई घर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।
- प्रदेश सरकारले मृतकका परिवारलाई राहत उपलब्ध गराउन र खाद्य संस्थानसँग समन्वय गरी राहत वितरणलाई तीव्रता दिएको छ।
विराटनगर । कोशी प्रदेश सरकारले अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि तीव्र गतिमा काम अघि बढाएको जनाएको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत र अन्य स्थानमा गाडीमार्फत तत्काल राहत सामग्री पठाइरहेको जानकारी दिएका हुन् ।
मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले विपद्बाट उत्पन्न जटिल परिस्थितिलाई उच्च सतर्कताका साथ निगरानी गरिरहेको छ र जिल्ला विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वयमा रहेको छ ।
सबैभन्दा बढी प्रभावित इलामको माङसेबुङ गाउँपालिकामा तत्काल राहत पुर्याउन हेलिकप्टरको प्रयोग गरिएको छ । ‘माङसेबुङमा बजारबाट सामान किन्ने अवस्था पनि नरहेकोले त्यहाँ तत्कालका लागि आवश्यक सुत्ने, ओढ्ने, ओछ्याउने र खाद्यान्नका सामग्री हेलिकप्टरबाट पठाइँदैछ,’ मन्त्री भण्डारीले भने । इलाम नगरपालिकामा पनि तत्कालै राहत सामग्री पठाइसकिएको र थप पठाइने उनले बताए ।
सडक सञ्जाल पुगेका पहाडी क्षेत्रहरू जस्तै माई नगरपालिका र अन्य सम्भावित ठाउँमा स्थानीय तहमार्फत व्यवस्थापन गर्न भनिएको छ । भोलिदेखि ती क्षेत्रमा गाडीमार्फत आवश्यक सामग्रीहरू पठाइने भण्डारीले बताए ।
झापा, मोरङ र सुनसरीका बाढी पीडित क्षेत्रमा भने तत्कालका लागि खाद्यान्न र बसोबासको व्यवस्था स्थानीय पालिकाहरूले नै गरिरहेको र थप आवश्यकता परेमा प्रदेश सरकारले तत्काल सामग्री पठाउने गरी तयारी अवस्थामा रहेको मन्त्री भण्डारीले बताए ।
‘हामी पालिकाहरू र जिल्ला विपद् व्यवस्थापन समिति दुवैसँग निरन्तर सम्पर्कमा छौँ,’ उनले भने ।
विपदमा ज्यान गुमाएका मृतकका परिवारलाई तत्कालै राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको उनले बताए । विवरण प्राप्त हुनासाथ दुई दिनसम्ममा राहत रकम पठाइसक्ने तयारी मन्त्रालयले गरेको उनको भनाइ छ ।
यसैगरी बाढी–पहिरोमा घर पूर्ण रूपमा गुमाएर आवासविहीन भएका नागरिकहरूका लागि घर पुनर्निर्माण गरिदिने प्रदेश सरकारले प्रतिबद्धता जनाएको छ । ‘घर कसरी निर्माण गरिदिने भन्नेबारे भोलि बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ’, मन्त्री भण्डारीले भने– ‘आवासविहीनहरूलाई आवास निर्माणका लागि आवश्यक सहयोग गर्न हामी तदारुकताका साथ लागेका छौँ ।’
राहत वितरणका लागि खाद्यान्न अभाव हुन नदिन खाद्य संस्थानसँग समन्वय गरिएको उनले बताए । मन्त्रालयको आफ्नै गाडी जलेर नष्ट भएको अवस्थामा बाहिरबाट भाडामा लिएर भए पनि सामग्री पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
मन्त्री भण्डारीले आइतबार मौसम प्रतिकूल भएकाले उद्धार र राहतमा कठिनाइ भए पनि सोमबार मौसम खुलेसँगै सेनाको हेलिकप्टर भाडामा लिएर धमाधम राहत सामग्री पठाइरहेको बताए ।
उनले प्रदेश सरकारको गोदाममा रहेका सामग्रीहरूलाई आवश्यकताका आधारमा तत्कालै पठाउने र नपुग भए खरिद गरेर भए पनि पीडितसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण