बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशनले पार्टीलाई कमजोर होइन बलियो बनाउँछ : विश्वप्रकाश शर्मा

मङ्गलबार, २१ असोज २०८२, १४ : ०२
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई बलियो बनाउने बताए।
  • उनले विशेष महाधिवेशनबारे सोध्नेलाई हस्ताक्षर गर्न सुझाएको र हस्ताक्षर नगर्नेलाई २४ गतेभित्र गर्न भनेका छन्।
  • शर्माले विशेष महाधिवेशनलाई अप्रेसनको संज्ञा दिँदै यसले पार्टीलाई बलियो बनाउने धारणा राखे।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानमै व्यवस्था गरिएको विशेष महाधिवेशनले पार्टीलाई कमजोर नभएर बलियो बनाउने बताएका छन् ।

मंगलबार भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले भनेका छन्, ‘कसैले टेलिफोनमा विशेष अधिवेशनले त पार्टीलाई कमजोर बनाउँछ भन्छन् नि त ? मैले स्पष्ट भन्ने गरेको छु । विशेष अधिवेशन सम्बन्धी व्यवस्था नेपाली कांग्रेसको विधानविपरीत होइन । जब पार्टीको विधानमा नै यो व्यवस्था छ भने त्यसको प्रयोग गर्दै गर्दा त्यसले कमजोर होइन, अन्ततः पार्टीलाई बलियो बनाउँछ ।’

उनले विशेष महाधिवेशनका लागि आफूले टेलिफोन गरी कसैलाई हस्ताक्षर गर्न नभनेको तर आफूलाई टेलिफोन गरेर सोध्नेलाई हस्ताक्षर गर्न सुझाएको बताएका छन् । ‘आफैले टेलिफोन गरेर कसैलाई विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुस् भनेको छैन । तर, मलाई हस्ताक्षर गरौँ कि नगरौँ भनेर सोध्नेलाई गर्नुस् भनेको छु,’ महामन्त्री शर्माले भनेका छन् ।

विशेष महाधिवेशनलाई उनले अप्रेसनको संज्ञा दिएका छन् । अप्रेसनले तत्काल कमजोर बनाए पनि पछि बलियो बनाउने जसरी पार्टीलाई पनि विशेष महाधिवेशनले बिस्तारै बलियो बनाउने उनको भनाइ छ । ‘मेडिकल साइन्समा मानिसलाई आवश्यक पर्दा अप्रेसन गरिन्छ । अप्रेसनले तत्काल त केही कमजोर बनाउँछ, पछि मान्छे तन्दुरुस्त भएपछि बलियो बन्छ,’ शर्माले भनेका छन् ।  

उनले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठक अगावै विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न पनि सुझाएका छन् । ‘केहीले २६ गते बस्ने केन्द्रीय समिति बैठकपछि हस्ताक्षर गर्ने की भनेर सोध्नुभएको छ । हस्ताक्षर नै गर्ने हो भने किन कुर्नुहुन्छ ?’ त्यसमा थप्दै भनेका शर्माले भनेका छन्, ‘भनिन्छ नि लगनपछिको पोतेको के काम ? जसले हस्ताक्षर सङ्कलन गर्दै हुनुहुन्छ उहाँहरूलाई भनिदिनुस् सरी म हस्ताक्षर गर्दिनँ तर हस्ताक्षर गर्न चाहनुहुन्छ भने २४ गतेभित्र गर्नुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप