शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेन–जी आन्दोलन र नेपालको बदलिँदो राजनीतिक परिदृश्य

मङ्गलबार, २१ असोज २०८२, १४ : २०
मङ्गलबार, २१ असोज २०८२

निश्चय पनि क्रान्ति शक्तिशाली ऊर्जा हो, तर अहिलेको सचेत युगमा लोकतन्त्रको विकल्प लोकतन्त्रकै रूपमा मात्र सम्भव छ । सङ्गठित भएर, समान विचार भएका समूहहरू बनेर, जनताको विश्वास जितेर सत्ता हस्तान्तरण गर्ने प्रणाली नै बहुदलीय लोकतन्त्र हो । यस्तै प्रणालीको केही कमजोरीको फाइदा उठाएर केही व्यक्तिले सत्ता दुरुपयोग गर्दा लोकतन्त्र बदनाम हुने घटना हाम्रा आँखा अगाडि देखिन्छ । यसैको प्रतिध्वनि हो, हालैको जेन–जी आन्दोलनमा देखिएको विस्फोटक आवाज । 

यसका केही कमी–कमजोरी हुन सक्छन्, तर मूल माग यथार्थ र जायज छ र प्रत्येक नेपालीको मनमा बुझिने खालको छ । त्यसैले सत्ता दुरुपयोगविरुद्धको आवाजलाई सम्बोधन गर्न अब केवल आरोपितहरूको नेतृत्व परिवर्तनबाट सम्भव छैन, बरु नेतृत्व र प्रणालीको परिवर्तनसम्बन्धी बहसलाई प्राथमिकता दिन आवश्यक छ । 

नेपालको राजनीतिक परिदृश्य आज चुनौतीपूर्ण मोडमा छ । युवा पुस्ता विशेषतः जेन–जी अब राजनीति र नेतृत्वको केन्द्रबिन्दुमा आउन थालेको छ तर हालसम्म उनीहरूको आवाज पर्याप्त रूपमा राजनीतिक दलहरूभित्र प्रतिध्वनित हुन सकेको थिएन । यो विडम्बना मात्र होइन, गम्भीर राजनीतिक प्रश्न हो । किनभने यो पुस्ताले दिएको बलिदान ताजै छ, तर त्यसलाई संविधान र दलहरूले न्याय दिन सक्लान् ?

आज पनि हाम्रो राजनीति पुरानै अनुहारको घेराभित्र सीमित छ । नेपाली कांग्रेसमा शेरबहादुर, एमालेमा केपी ओली, माओवादीमा प्रचण्ड अनि परिवर्तनका नाममा जन्मिएको स्वतन्त्र पार्टीमै पनि रवि लामिछानेको वकालत सुरु भइसकेको देखिन्छ । नाम फरक भए पनि प्रवृत्ति उही छ । नयाँ पुस्ताको तागतलाई प्रतिनिधित्व गराउनुभन्दा पनि पुराना नेताले आफ्नो पकड जोगाउने चिन्ता मात्र गरेका छन् । 

अन्य दलहरूभन्दा नेपाली कांग्रेसभित्रै पुस्तान्तरणको बहस बढी खुलेर उठिरहेको छ । गगन थापा, विश्वप्रकाश शर्माजस्ता महामन्त्रीहरू र पूर्वविद्यार्थी नेता रञ्जित कर्ण लगायतले पार्टीभित्रै नयाँ नेतृत्वको आवश्यकता औँल्याउँदै संघर्ष गरिरहेका छन्, तर उनीहरूको आवाज दबाउने प्रयास भइरहेकाले उनीहरू अझै अल्पमतमै छन् । कांग्रेस मात्र होइन एमाले, माओवादी र नयाँ दलहरूमा पनि पुस्ता परिवर्तन अनिवार्य छ । युवा पुस्ताले संस्थागत राजनीति र निर्णय प्रक्रियामा प्रवेश गरे मात्र दीर्घकालीन सुधार सम्भव छ । 

यही संविधानका नाममा फेरि पुरानै अनुहारहरूले चुनावको नेतृत्व गर्ने हुन् भने नयाँ नेपालको सपना कस्तो हुनेछ ? अनुहार फेरिएर मात्र के हुन्छ जब सोच, शैली र संस्कार पुरानै छ ?

जेन–जी अब राजनीति र नेतृत्वको केन्द्रबिन्दुमा आउन थालेको छ तर हालसम्म उनीहरूको आवाज पर्याप्त रूपमा राजनीतिक दलहरूभित्र प्रतिध्वनित हुन सकेको थिएन । यो विडम्बना मात्र होइन, गम्भीर राजनीतिक प्रश्न हो ।

जेन–जी अरू पुस्ताभन्दा भिन्न छ । उनीहरू डिजिटल दुनियाँमा हुर्किएका छन् । पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तन उनीहरूको जीवनशैलीमा गहिरो रूपमा समाहित छन् । भ्रष्टाचारविरुद्ध उनीहरूले सडकमा आवाज उठाएका छन् । जस्तै ः काठमाडौँमा युवाहरूले पारदर्शिता र जवाफदेहिताको माग गर्दै प्रदर्शनहरू गरे । केवल सडक आन्दोलनले दीर्घकालीन परिवर्तन ल्याउन सक्दैन । यसको स्थायित्व सुनिश्चित गर्न उनीहरूले संस्थागत राजनीतिभित्र सक्रिय भूमिका लिनैपर्छ । 

जेन–जीको दबाबले तत्कालै ३६ घण्टाभित्र सत्ता प्रभावित गर्न सक्यो, सरकार ढालेर मात्र स्थायी परिणाम ल्याउन सकिँदैन । स्पष्ट रोडम्याप र दीर्घकालीन रणनीति नबनेसम्म सत्ता परिवर्तन केवल नाटक हुने जोखिम रहन्छ । यस्तो अवस्थामा नेपाल विदेशी राजनीतिको खेल मैदान बन्नुबाहेक ठोस उपलब्धि हासिल हुनेछैन । वास्तविक परिवर्तन तब मात्र सम्भव छ, जब नीति निर्माण र निर्णय प्रक्रियामै युवाहरुले निर्णायक भूमिका खेल्ने वातावरण तयार हुन्छ । 

यो बाटो सजिलो छैन । पुराना पुस्ताले आफ्नो पकड छाड्नेछैनन् । उनीहरूले ‘अनुभव छैन’ भन्दै नयाँ पुस्तालाई कमजोर देखाउनेछन् । नेतृत्व अनुभवले मात्र होइन, दृष्टिकोणले तय हुन्छ । पुराना पुस्ताले संघर्ष गरेर अनुभव कमाएका होलान्, तर उनीहरूको दृष्टि अतीतमै अड्किएको छ । नयाँ पुस्ताले भविष्यतिर हेर्ने साहस देखाए मात्र देशलाई नयाँ दिशा दिन सक्नेछन् । यही फरकले देशलाई अघि बढाउने शक्ति दिनेछ । 
आज नेपालको संविधान कागजमा सीमित हुने खतरा छँदै छ । अधिकार प्रयोग गर्ने नेतृत्व पुरानै मानसिकतामा बाँधिएका छन् । भ्रष्टाचार, ढिलासुस्ती र वंशवादले प्रणालीलाई भित्रैदेखि खोक्रो बनाइरहेको छ । यस्तो बेलामा जेन–जीको सक्रियता विकल्प होइन, अनिवार्यता हो । 

अब प्रश्न केवल नेतृत्वको होइन, नयाँ क्रान्तिको हो । यो क्रान्ति बन्दुकले होइन, विचारले हुनेछ । यो क्रान्ति सडकमा होइन, संस्थागत संरचनाभित्र हुनेछ । नयाँ पुस्ताले आफ्नो दृष्टि, मूल्य र ऊर्जालाई पार्टी, संसद् र निर्णय प्रक्रियामा पुर्‍याउन सके मात्र नेपालको राजनीति साँच्चै नयाँ यात्रामा प्रवेश गर्नेछ । 

देशलाई वास्तवमै नयाँ बाटोमा लैजान पुराना अनुहारहरूसँग होइन, पुराना प्रवृत्तिसँग लड्नुपर्छ । त्यो प्रवृत्ति तोड्ने साहस केवल नयाँ पुस्तामा छ । युवा शक्ति सक्रिय हुँदा मात्रै लोकतन्त्र जीवित रहन्छ, भ्रष्टाचार र परिवारवादको जालो फुट्छ र प्रणाली दीर्घकालीन सुधारतर्फ अघि बढ्छ । 

युवा शक्ति र नयाँ नेतृत्वलाई संस्थागत संरचनामा प्रवेश गराउन आवश्यक छ । सडक र आन्दोलनले चेतना जगाउँछ, तर निर्णय प्रक्रियामा भाग लिनु नै दीर्घकालीन परिणामको वास्तविक उपाय हो । युवा पुस्ताले आफ्नो आवाज, ऊर्जा र नवप्रवर्तनलाई राजनीति र नीति निर्माणमा प्रयोग गर्न सके मात्र नेपालको भविष्य बदलिन सक्छ । यही साहस, ऊर्जा र दृढताले नेपाललाई स्थिर, पारदर्शी र उत्तरदायी लोकतन्त्रतर्फ लैजान सक्छ । जेन–जीको सक्रियता विकल्प होइन, आवश्यकता हो । यही बाटो नै देशको दीर्घकालीन सुधार र नयाँ राजनीतिक युगको आधार बन्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्दिप पराजुली
सन्दिप पराजुली
लेखकबाट थप