आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीलाई तीव्रता दिन निर्देशन
सारांश
- नेपाल बीमा प्राधिकरणले आन्दोलनमा भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ।
- बीमा कम्पनीहरूले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा दाबी भुक्तानी गर्नुपर्ने र पुनर्बीमा कम्पनीहरूले तरलता प्रवाह गर्नुपर्नेछ।
- छलफलमा बीमा कम्पनीका सीईओहरूले दाबी भुक्तानी गर्न सक्ने र पुनर्बीमाको सहयोग आवश्यक पर्ने बताए।
काठमाडौँ । हालैको आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने विषयमा नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग आज छलफल गरेको छ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले आन्दोलनको क्षतिको दाबी भुक्तानी गर्नुपर्ने दायित्व बीमा कम्पनीहरूको भएको स्पष्ट पार्दै दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिए। उनले दाबी भुक्तानीमा कानुनी तथा व्यावहारिक समस्या आएमा प्राधिकरणले सहजीकरण गर्ने बताए।
कार्यकारी निर्देशक सुवेदीले बीमकहरूलाई तत्काल प्रारम्भिक सर्भे रिपोर्टका आधारमा दाबी भुक्तानी गर्दै जान आग्रह गरे। उनले भने, ‘बीमितले पैसा पाएको अनुभूति गर्नुपर्यो, दाबी भुक्तानी दिएको बारेमा आमरूपमा जानकारी दिनुपर्यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमै एड्भान्स रकम दिनुपर्यो।’
उनले दाबी र भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाइका साथ प्रस्तुत हुने चेतावनी पनि दिए। साथै, उनले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए।
छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनबाट भएको क्षतिको दाबी भुक्तानी दिन सक्ने र यसमा कुनै समस्या नरहेको बताए।
उनीहरूले साना दाबीहरूको भुक्तानी गर्दै आएको जानकारी दिँदै ठुला दाबीको हकमा नगद प्रवाह आवश्यक हुने भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा सर्भेयर खटाइसकेको र प्रतिवेदन आउने क्रम जारी रहेको पनि जानकारी दिए।
नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पनि पुनर्बीमाबापतको दाबी रकम भुक्तानी गर्न कम्पनी सक्षम रहेको र आवश्यक प्रक्रिया पूरा गरी बीमकहरूलाई यथाशीघ्र रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
छलफलमा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू पूजन ढुङ्गेल अधिकारी, ध्रुव तिमिल्सिना, शाम्भराज लामिछाने तथा निर्मल अधिकारीको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण