सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मलेसियामाथि सात विदेशी खेलाडीको नागरिकता किर्ते गरेको फिफाको आरोप

मङ्गलबार, २१ असोज २०८२, २० : ०१
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • फिफाले मलेसियामाथि विदेशी खेलाडीको नागरिकताका लागि नक्कली कागजात बनाएको आरोप लगाएको छ।
  • फिफाले मलेसिया फुटबल संघलाई जरिवाना गर्दै खेलाडीहरूलाई निलम्बन गरेको छ।
  • मलेसियाले फिफाको निर्णयविरुद्ध अपिल गर्ने र खेलकुद मन्त्रीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएकी छन्।

क्वाललम्पुर । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियामाथि सात विदेशी मूलका खेलाडीहरूको नागरिकता कागजात किर्ते गरेको आरोप लगाएको छ।

फिफाले सोमबार एक रिपोर्ट जारी गर्दै मलेसियाको फुटबल सङ्घ (एफएम) ले खेलाडीहरूका हजुरबुवा/हजुरआमा मलेसियामा जन्मेको देखाउन जन्मदर्ताको प्रमाणपत्रहरू नक्कली बनाएको र यो ‘सिधा-सिधा जालसाजी’ भएको जनाएको हो।

फिफाको ‘हजुरबुवा नियम’ अनुसार विदेशी मूलका खेलाडीले आफ्ना जैविक बाबुआमा वा हजुरबुवा/हजुरआमा जन्मेको देशबाट खेल्न पाउँछन्।

गत असारमा भियतनामसँग मलेसियाले ४-० ले जितेपछि खेलाडीहरूको योग्यतामा प्रश्न उठेपछि फिफाले छानबिन सुरु गरेको थियो। 

छानबिनमा हजुरबुवा/हजुरआमाको सक्कली जन्मदर्ताले उनीहरू स्पेन, अर्जेन्टिना जस्ता देशमा जन्मेको देखाएपछि फिफाले ती खेलाडीहरूलाई एक वर्षका लागि निलम्बन गर्‍यो  र २,००० स्विस फ्र्याङ्क जरिवाना तोक्यो।

फिफाले एफएएमलाई समेत ३ लाख ५० हजार स्विस फ्र्याङ्क जरिवाना तिर्न आदेश दिएको छ। यद्यपि, एफएएमले कागजातमा भएको त्रुटि ‘प्रशासनिक गल्ती’ मात्र भएको र खेलाडीहरू ‘वैधानिक मलेसियाली नागरिक’ रहेको दाबी गर्दै फिफाको निर्णय विरुद्ध अपिल गर्ने जनाएको छ।

मलेसियाकी खेलकुद मन्त्री हन्ना योहले फिफाको निष्कर्षले देशको छविमा धब्बा लागेको बताउँदै एफएएमको अपिलपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने बताएकी छन्। मलेसियाले निलम्बित खेलाडीबिनै एसियन कप क्वालिफायर अन्तर्गत यसै साता लाओसविरुद्ध खेल्ने तयारी गरिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप